ओझेलमा परेको सेप्ली झरना



लीला सुनुवार, ओखलढुंगा
ओखलढुंगा सदरमुकामबाट रिजर्भ जिपमा उत्तर पश्चिमतर्फ लागेपछि विगुटारको सुर्के हुँदै २ घण्टामा राँगादीपको स्कुल डाँडा पुगिन्छ। स्कुल डाँडाबाट १५ मिनेट अगाडि बढेपछि जिपको यात्रा सकिन्छ।

जिपबाट उत्रिएर चुलीडाँडा, कोरनाम हुँदै डेढ घण्टा ओरालो उकालो गरेपछि सेप्ली गाउँ पुगिन्छ। सेप्ली गाउँबाट उकालो आधा घण्टा अप्ठ्यारो र साँघुरो गोरेटो छिचोलेपछि पुगिन्छ, सेप्ली झरना।

मोलुङ गाउँपालिकाको वडा नं. ७ र ८ को बीचमा रहेको सेप्ली झरना पुग्न जति कठिन छ, उति मनमोहक पनि।

सेप्ली झरना बाटो विकट भएकै कारण यतिबेलासम्म प्रचारमा आउन सकेन। स्थानीयले पनि सेप्ली झरनालाई छाँगोका रूपमा बुझिदिए। गाउँपालिकाले चासो दिएर झरना क्षेत्रसम्म जाने गोरेटो निर्माण गरेर पर्यटकीय गन्तव्य बनाउन विभिन्न अभियान थालेपछि भने सबैको ध्यान यसतर्फ तानिएको छ। देशकै अग्ला झरनामध्येको एक मानिएको सेप्ली झरनाको उचाइ यकिन हुन सकेको छैन। यसको उचाइ १ सय ५० मिटरभन्दा अग्लो रहेको अनुमान गरिएको छ।

यो झरनाका विभिन्न मिथक छन्। पूर्णिमाको दिन मात्रै देखिने अनौठो ढुंगा, झाँक्री गुफा, झरना दहमा खस्दा ढ्यांग्राको आवाज फरक–फरक दुई पटक सुनिने, त्यही आवाजलाई झाँक्रीको ढ्यांग्रो बजाएको आवाज भएको विश्वासलगायत छन्। सेप्लीको छाँगोसँगै देखिने भीरमौरी, पहराका बीचबाट एकैसाथ निस्केर सीधैं दहमा खसेको झरना र यसको फरक–फरक बहाव निकै आकर्षक मानिन्छ। झरना आसपासमा रहेका अनौठा आकृतिका देखिने पहरा रक क्लाइम्बिङका लागि निकै आकर्षक छन्।

झरनाको फेदीमा मोलुङ गाउँपालिकाले गरेको कार्यपालिका बैठकले सेप्ली झरनालाई पर्यटकीय गन्तव्य बनाउनका लागि महोत्सव गर्ने निर्णय गरेको छ। सेप्लीलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले सर्वसाधारणसमेत सहभागी गराई झरनामै कार्यपालिका बैठक आयोजना गरिएको गाउँपालिका अध्यक्ष मणिराज राईले बताए। निकट भविष्यमै डीपीआर तयार गरेर झरना क्षेत्रको विकास गरिने उनले सुनाए।

देशकै दोस्रो अग्लो मानिएको जिल्लाको लिखु गाउँपालिकामा रहेको पोकली झरनाभन्दा दोब्बर पानी सेप्ली झरनामा छ। ‘यो झरना देशकै अग्ला झरनामध्येको एक र पानीका हिसाबले ठूलो हुन सक्छ’, गाउँपालिका अध्यक्ष राईले भने– ‘यसको आधिकारिक नाप लिएर प्रचार गर्ने उद्देश्य लिएका छौं।’
गाउँपालिकाले विश्वको सर्वोच्च शिखर सगरमाथा हेर्न सडक र पैदल मार्गबाट आउने पर्यटक आकर्षण गरेर पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न सेप्ली झरना महोत्सव गर्ने तयारी शुरू भएको छ। बैठकलाई सम्बोधन गर्दै संघीय सांसद यज्ञराज सुनुवारले एक वर्षभित्र सेप्ली झरना महोत्सव गर्ने प्रस्ताव गरेका थिए। ‘देशकै नमुना र ठूला झरनामा पर्ने यस झरनालाई विश्वभर परिचित गराउन महोत्सव गर्न आवश्यक छ’ –सांसद सुनुवारले भने।

बैठकबाट सेप्ली झरना महोत्सव गर्ने, झरना क्षेत्रमा पूर्वाधार विकास गर्न विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्नेलगायतका निर्णय गरिएको छ। सेप्ली झरना सदरमुकाम ओखलढुंगाबाट २६ किलोमिटर टाढा छ।

प्रतिक्रिया दिनुहोस्