होटल तथा रेष्टुराँलाई फेरि स्टिकर



हेटौंडा, (नेस) ।
मकवानपुरमा रहेका सबैखाले होटल तथा रेष्टुराँलाई होटलको विभिन्न पाटोलाई हेरेर फेरि स्टिकर टाँसिने भएको छ ।

हेटौंडामा होटल व्यबसायीलाई भेला गराएर खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौंडाले खाद्यस्वच्छता र होटल स्तरीकरण विषयमा गरेको छलफलमा यस्तो जानकारी दिएको हो । जिल्लाका होटलमा वर्षेनि यस्तो कार्य गरिने भए पनि अनुगमन प्रभावकारी नहुँदा ग्राहकले पाउने सुविधा र गुणस्तरबारे आशंका हुँदै आएको छ ।

खाद्यस्वच्छताका आधारमा होटल रेष्टुराँ स्तरीकरण गर्ने निर्देशिका, २०७४ अनुरुप काम गर्ने होटललाई समूह गठन गरेर स्टिकर दिइने वरिष्ठ खाद्य अनुसन्धान अधिकृत आकाश काफ्लेले बताउनुभयो । उहाँले विभिन्न ५० वटा सूचकमा रहेर स्टिकर वितरण गरिने बताउनुभयो ।

उहाँले चार प्रकारको स्टिकर प्रयोग हुँदा अतिउत्तमलाई हरियो तीन तारा (९० अंकमाथि आउने), ८०—८९ अंक आएमा उत्तममा हरियो दुई तारा, ६५—७९ अंक आउनेलाई मध्यम हरियो एक तारा र ५०—६० अंक आउनेलाई सन्तोषजनक स्टिकर दिइने बताउनुभयो ।

कार्यक्रममा खाद्य स्वच्छताबारे खाद्य निरीक्षक खगेन्द्रप्रसाद खतिवडा, निर्देशिकाबारे खाद्य अनुसन्धान अधिकृत काफ्ले तथा उपभोक्ता र उपभोक्ता अधिकारबारे उपभोक्ता हित संरक्षण मञ्च केन्द्रीय सदस्य तुलसी रिजालले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

होटल एसोसिएसन मकवानपुर अध्यक्ष शंकरलाल श्रेष्ठको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा उपभोक्ता हित संरक्षण मञ्च हेटौंडा अध्यक्ष बासु खतिवडा, हेटौंडा उपमहानगर सामाजिक विकास अधिकृत भीमप्रसाद तिमल्सिना, मकवानपुर उद्योग वाणिज्य संघ वरिष्ठ उपाध्यक्ष माधब न्यौपानेलगायतको उपस्थिति थियो ।

खाद्यप्रविधि तथा गुण नियन्त्रण कार्यालय प्रमुख सोमकान्त रिजालको सभाध्यक्षतामा कार्यक्रम भएको थियो ।

प्रतिक्रिया दिनुहोस्