शहरीकरणसँगै फोहोर व्यवस्थापनको समस्या



मुलुकको ग्रामीण क्षेत्र पनि शहरीकरणतर्फ उन्मुख हुँदै छ । छरिएका बस्तीलाई एकीकृत र व्यवस्थित गर्ने सरकारको नीति मात्र हैन स्थानीय तहमै विकास निर्माणका कार्य बढ्न थालेपछि ग्रामीण भेग पनि शहरीकरणतर्फ उन्मुख भएको छ । उद्योग, कलकारखाना, स्वास्थ्य, शिक्षाका ठूला संरचनाहरु स्थानीय तहमै निर्माण हुँदै छन् ।

बाटो, बिजुली, पानी, सञ्चारलगायत अत्यावश्यक सुविधासँगै स्थानीय तहको केन्द्र रहेका स्थानहरुमा छोटो समयमा नै बाक्लो बस्ती बस्न थालिसकेको छ । शहरीकरणतर्फ उन्मुख रहेका स्थानहरुमा स्थानीय व्यापार व्यवसाय पनि बढ्न थालेको छ । बढ्दो शहरीकरणसँगै फोहोर व्यवस्थापनको समस्या पनि विकराल बन्दै गएको छ ।

फोहोर व्यवस्थापनको समस्याले वर्षौंदेखि हैरान भएको काठमाडौं महानगरपालिकाको रोग अन्य स्थानीय तहहरुमा पनि सर्दै छ । शहरीकरण बढेसँगै काठमाडौं उपत्यकामा रहेका स्थानीय तहबाहेक अन्य स्थानीय तहहरुको समेत फोहोर व्यवस्थापन टाउको दुखाइको विषय बनिसकेको छ । फोहोर व्यवस्थापनको प्रश्न उठाउँदै उपत्यकाबाहिरका स्थानी यतहको अगाडि फोहोर थुपारेका फोटोहरु अखबारहरुमा आउन थालेका छन् । बढ्दो शहरीकरणसँगै शुरुवातबाटै फोहोर व्यवस्थापनको लागि दीर्घकालीन उपाय नखोजे भविष्यमा ठूलो समस्या आउन सक्छ । फोहोर व्यवस्थापनको समस्याले वातावरणमा मात्र हैन, मानव स्वास्थ्यमा समेत गम्भीर असर पार्ने देखिन्छ ।

फोहोर व्यवस्थापनका लागि स्थानीय तहले पर्याप्त बजेट र जनशक्ति परिचालन गर्नुपर्ने कुरा पहिल्यै आइसके पनि यसमा ध्यान दिएको पाइँदैन । फोहोर व्यवस्थापनको कुरा भनेको सडकमा देखिएको फोहोरको पोको नगरपालिका वा गाउँपालिकाले उठाउने मात्र हैन । आफ्नो घर, कार्यालय तथा उद्योग, कलकारखाना, अस्पताल, विद्यालय, विश्वविद्यालयबाट निस्कने फोहोरलाई कसरी व्यवस्थित तरिकाले ल्यान्डफिल साइटसम्म पु¥याउने भन्ने योजना चाहिन्छ ।

र, यसरी फोहोर व्यवस्थपन गर्ने ठाउँ अस्थायी होइन, वर्षौंसम्म प्रयोग गर्न मिल्ने गरी स्थायी बनाउनुपर्छ । फोहोर व्यवस्थापनको लागि स्थानीय तहले पर्याप्त बजेट र जनशक्तिको व्यवस्थापन गर्नुपर्छ । ऐनले पनि फोहोरमैला व्यवस्थापनमा स्थानीय तह जिम्मेवार हुनुपर्ने भनेकोले स्थानीय सरकारले फोहोर व्यवस्थापनमा विशेष ध्यान नदिए भविष्यमा यसबाट ठूलो समस्या आउन सक्छ ।

प्रतिक्रिया दिनुहोस्