भकुम्प गएको चार बर्षः सिन्धुपाल्चोकमा बन्यो ६४ हजार



नानीराम नेपाल, सिन्धुपाल्चोक ।
विनाशकारी भूकम्पको ४ वर्ष बितेको छ । भूकम्पमा सर्वाधिक क्षति व्यहोर्दै खण्डहर भएको सिन्धुपाल्चोक ४ वर्षकाबीच तंग्रिएको छ । मानविय क्षति पुर्ताल हुन सक्दैन, तर विपदको यो चार वर्षमा सिन्धुपाल्चोकले रुप नै फरेको छ ।

पीडा र क्षतिलाई भुल्ने हो भने भूकम्पले सिन्धुपाल्चोकका लागि नवनिर्माणको अवसर नै जुराइदियो भन्दा पनि फरक पर्दैन । भूकम्पमा पुराना घर संरचना भत्किएपछि भूकम्पपीडित सिन्धुवासीले पक्की र सुरक्षित घर ठड्याए, सुन्दर र चिटीक्क परेका आवास निर्माण गरे । ‘भूकम्पले गाउँघरलाई सुन्दर बस्तिमा बदल्यो’, साताअघि बलेफी गाउँपालिका ४ स्थित रोक्का टोलमा पुग्दा स्थानीय भूकम्पपीडित शेरबहादुर मगर भन्दैथिए, –‘भूकम्प नआएको भए गाउँबस्तिका रुप फेरीने थिएन ।’ सरकारी अनुदान अपुग भएपनि भूकम्पपीडितले ऋण गरेरै सुरक्षित र सुन्दर किसिमका घर बनाएको उनी सुनाउँछन् ।

विनाशकारी भूकम्पपछिको पछिल्ला चार वर्षमा सुन्दर र सुरक्षित किसिमका नीजि घर मात्र ठडिएनन्, शैक्षिक संस्थाका सुविधासम्पन्न भवन संरचना पनि ठडिए । भूकम्पको क्षति नब्यहोरेका भए सिन्धुपाल्चोकका कुना कन्दरामा पक्कैपनि सुविधासम्पन्न स्कूल भवनहरु ठडिने थिएनन् । न त स्वास्थ्य संस्था र सुरक्षा निकायका अलिसान भवन बन्ने थिए । क्षति भुलेर पुननिर्माणको कोणबाट हेर्दा सिन्धुपाल्चोकका लागि भुकम्प त एउटा अवसर सावित भईदियो । ‘हामीले ठूलो मानविय र भौतिक क्षति व्यहो¥यौं, नवनिर्माणको कोणबाट हेर्दा गाउँबस्ति आज सुरक्षित र सुन्दर बनेका छन्’, जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) का प्रमुख ईन्जिनीयर शेरबहादुर पुजाराले भन्नुभयो, ‘भूकम्पको चार बर्षको अवधिमा सिन्धुपाल्चोकमा सुविधासम्पन्न र भव्य विद्यालय भवन निर्माण भएका छन् ।’

भूकम्पको चार बर्ष बित्यो । तर एक बर्षपछि अर्थात ०७३ बैशाखबाट मात्रै सरकारले पुननिर्माणको अभियान सुरु ग¥यो । तत्कालिन प्रधानमन्त्री केपी शर्मा वलीले सिन्धुपाल्चोकको चौतारामा आएर ०७३ बैशाखमा पुननिर्माणको सुरुवात गर्नुभएको थियो । । पुननिर्माण अभियान सुरु भएको तिन बर्षकाबीच जिल्लामा ६३ हजार ४ सय नीजि आवास निर्माण सम्पन्न भएका छन् । राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाईका अनुसार बुधबारसम्म जिल्लाका ६३ हजार ३ सय घर संरचना निर्माण सम्पन्न भई तेस्रो किस्ताको अनुदान रकम नै निकाशा भइसकेको छ ।

भूकम्पमा घर भत्किएपछि अस्थायी बासमा रहेकामध्ये ६३ हजार ३ सय भुकम्पपीडित परिवार घरवासमा सरेका हुन् । नीजि आवास पुननिर्माण अनुदान सम्झौता भएका ८५ हजार ५ सय २३ लाभग्राहीमध्ये हालसम्म ८५ हजार १ सय ७२ ले पहिलो किस्ताको रकम पाएका छन् । उनीहरुमध्ये ७९ हजार ७ सय ४१ ले दोस्रो किस्ता पाइसकेका छन् । ८२ हजार ५६ भूकम्पपीडित लाभग्राहीले धमाधम आवास निर्माण गरिरहेको जिल्ला आयोजना कार्यान्वयन ईकाइले जानकारी दियो ।

जिल्ला आयोजना कार्यान्वयन इकाई(शिक्षा) का अनुसार भूकम्पमा क्षति भएका ५ सय ४७ बिद्यालय भवनमध्ये हालसम्म २ सय ५६ विद्यालय भवन निर्माण सम्पन्न भइसकेको छ । इकाईका प्रमुख इन्जिनीयर शेरबहादुर पुजाराका अनुसार दातृसंस्था र बिद्यालय व्यवस्थापन समिति मार्फत गरि ४ सय ४१ बिद्यालय भवन निर्माणको काम सुरु गरिएको थियो । जसमध्ये २ सय ७२ बिद्यालय भवन निर्माण सम्पन्न भएको हो ।

अनुदानमै नाफा !
भूकम्पको विपदलाई मौका ठान्दै पीडित बनेर गैर पीडितले पनि सरकारी अनुदान हडप्ने श्रृंखलाबाट सिन्धुपाल्चोक पनि अछुतो रहेन । अनुदान लिएर निजी आवास निर्माण गर्नेमध्ये कतिपयले एकाघरकै तिन जनासम्मले अनुदान लिएको सम्म देखियो । २०६८ को जनगणना अनुसार सिन्धुपाल्चोकको कुल घरधुरी संख्या ६७ हजार हाराहारी मात्रै देखिन्छ । त्यसमध्ये पनि भूकम्पमा ६२ हजार हाराहारी घर मात्र क्षति भएका हुन् ।

भूकम्पपछि जिल्लामा घरधुरी संख्या नै अस्वभाविक रुपमा बढ्यो । ०६८ को जनगणनाको ४ वर्षमै ३० हजार घरधुरी बढ्न नसक्ने जानकारहरु बताउँछन् । एकातिर बिपदपछि छुटीभिन्न भई कागजात तयार गरी अनुदान लिनेको संख्या पनि ठूलै छ, अर्कातिर सरकारी अनुदानको ३ लाख लिएर एक कोठे घर बनाई अनुदानमै नाफा निकाल्नेहरुको पनि कमी छैन । अनुदानको ३ लाख लिएर गाउँमा एक कोठे घर बनाई ताल्चा मारेर कतिपय बसोबासका लागि अन्यत्रै गइरहेका पनि छन् ।‘भूकम्पका एककोठे घर बनाएर ३ लाख खानेहरु पनि धेरै छन्’, आइतबार जलविरे बजारमा भेटिएका एक स्थानीय भन्दैथिए ।

प्रतिक्रिया दिनुहोस्