‘पुष्करलालको सपना पूरा गर्छौं’



नेपालमा व्यावसायिक पत्रकारिताको सुरुआत गर्नुहुने कामना न्यूज पब्लिकेसन्स् प्रालिका संस्थापक अध्यक्ष एवं प्रधानसम्पादक पुष्करलाल श्रेष्ठको निधनले नेपाली पत्रकारिता क्षेत्रलाई नै अपूरणीय क्षति पुगेको छ ।

देशलाई विकसित बनाउने अठोटसहित आजीवन पत्रकारितामा होमिनुभएका श्रेष्ठ अब हाम्र्रो सामु हुनुहुन्न । समाजमा रहेको विकृति र विसंगतिप्रति तिखो रुपमा कलममार्फत नागरिकलाई झकझक्याउँदै आउनुभएका उहाँले जीवनको अन्तिम क्षणसम्म पनि कलमलाई नै आफ्नो साथी बनाउनुभयो । व्यक्तिगत स्वार्थ छोडेर समाज परिवर्तनका लागि पत्रकारिता क्षेत्रमा अहोरात्र लाग्नुभएका श्रेष्ठले जीवनको कठिन मोडहरुमा पनि आफूलाई दृढतापूर्वक पत्रकारितालाई निरन्तरता दिनुभयो । जोखिम पत्रकारिताको जग बसाउनुभएका उहाँले पत्रकारिताको सैद्धान्तिक पक्षलाई दृढतापूर्व उभिनुभयो ।

मृत्यु शाश्वत सत्य हो, मृत्यु कसैलाई पनि सह्य हुँदैन । साठी वर्षको अल्पायुमै भएको उहाँको निधनले हामी सबैलाई मर्माहत बनाएको छ । पत्रकारिता क्षेत्रलाई अगाडि बढाउन उहाँको योगदान र अनुभव आवश्यकता भइरहेको बेला उहाँको निधन भयो । व्यावसायिक पत्रकारिताको जग बसाल्नुका साथै पत्रकारिता क्षेत्रमा लाग्न अभिप्रेरित गराउनुहुने पत्रकार श्रेष्ठ अब हामी माझ हुनुहुन्न । उहाँको निधनले कामना न्यूज पब्लिकेसनसँगै पत्रकारिता क्षेत्रले पनि एक असल कर्मठ अभिभावक गुमाएको छ ।

पत्रकारिता क्षेत्रमा श्रेष्ठले पु¥याउनुभएको योगदान निकै महत्वपूर्ण छ । नागरिकको पक्षमा कलम चलाउन अभिप्रेरित गर्ने श्रेष्ठले पत्रकारितामार्फत समाज परिवर्तनमा खेल्नुभएको भूमिका प्रशंसनीय छ । पत्रकारिताको मूल मर्मबाट अलिकति पनि विचलिन नभई निर्भिक ढंगले कलम चलाउनुभएका श्रेष्ठ पत्रकारिता क्षेत्रका लागि प्रेरणा पुञ्ज हुनुहुुन्छ । आज राष्ट्रले पत्रकारिता क्षेत्रको एक योग्य, अनुभवी, व्यावसायिक र सक्रिय पत्रकारलाई गुमाएको छ । पत्रकारिता क्षेत्रले परिपक्क र असल अभिभावक गुमाएको छ । गलत कामको विरुद्ध उहाँले सदैव निरन्तर रुपमा पत्रकारितामार्फत खबरदारी गरिरहनुभयो । कसैका अगाडि लोभलालचमा पर्नुभएन । अभाव दबाब र प्रभावमा नपरी उहाँको यो अभियानलाई निरन्तरता दिनुपर्छ ।

यस प्रकाशन प्रालिले आफ्नो अभिभावक, मार्गदर्शक एवम् प्रेरणाका स्रोत गुमाउँदा असाध्यै पीडा बोध भएको छ । तर शोकलाई शक्तिमा बदल्दै उहाँले देखाउनुभएको बाटोमा प्रतिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दछौं । श्रेष्ठले सधैं न्याय, समानता र सकारात्मक सोचका निम्ति लड्न सिकाउने बाटो हामीलाई देखाउनुभएको छ र त्यही बाटो प्रेरणाको रुपमा छोडेर जानुभएको छ । उहाँले छोडेर जानुभएको अपूरा काम गर्नु हामीले आफ्नो मुख्य दायित्व तथा कर्तव्य ठानेका छौं ।

संघर्ष नै जीवन हो भन्ने मान्यतालाई आत्मसात् गरी अगाडि बढेर आफूलाई सफल बनाउनुभएका श्रेष्ठले चुनौतीको सामना गरेर स्थापित गर्नुभएको कामना, साधन, महानगर र नेपाल समाचापत्र व्यावसायिक पत्रकारिता गर्नेहरुका लागि कोशेढुंगा हुन् । उहाँले युगौंसम्म बाँच्ने अमूल्य निधिका रुपमा कामना साधना, नेपाल समाचारपत्र तथा महानगर छोडेर जानुभएको छ ।

यसलाई बचाइराख्नुका साथै उहाँले देख्नुभएको सपनालाई सार्थक बनाउनु कामना न्यूज पब्लिकेसन्स् प्रालिको काँधमा ठूलो दायित्व र जिम्मेवारी आएको छ । उहाँले नेपाली पत्रकारिता क्षेत्रमा पु¥याउनुभएको योगदानको नेपाली पत्रकारिता जगत्ले सदा सम्मान गर्दै अगाडि बढिरहनेमा हामी विश्वस्त छौं । पुष्करलाल श्रेष्ठप्रति हार्दिक श्रद्धाञ्जली ।

प्रतिक्रिया दिनुहोस्