विचारमा दृढ, व्यवहारमा लचिलो



बद्री तिवारी

पत्रकारले मतदानमा भाग लिन हुन्छ तर प्रत्यक्षरूपमा राजनीतिमा संलग्न हुन भने हुँदैन। पत्रकार भएबापत यो उनीहरूले चुकाउनुपर्ने मूल्य हो।

व्यावसायिक पत्रकारहरूले पालना गर्नुपर्ने अन्तर्राष्ट्रियरूपमै प्रचलित यस आचारसंहितालाई आदर्श मान्दै आजीवन पत्रकारिता गर्दै आउनुभएका वरिष्ठ पत्रकार पुष्करलाल श्रेष्ठ अहिले भौतिकरूपमा हाम्रा सामु हुनुहुन्न, तर उहाँले अँगाल्नुभएको नीति तथा नेपाली पत्रकारिता जगत्मा छोडेर जानुभएका कृतिकै कारण सबै पक्षबाट यतिखेर उहाँको सराहना भइरहेको छ। निश्चय नै पत्रकारहरूले आ–आफ्ना राजनीतिक आस्था तथा विचारधाराका आधारमा आफूलाई भरोसा लाग्ने दल तथा नेताहरूलाई मतदानमार्फत् चुन्न सक्दछन्।

यो उनीहरूको अधिकार हो तर राजनीतिक वा अन्य कुनै पनि स्वार्थ पूर्तिका लागि पत्रकारितालाई प्रयोग गर्नु पेसागत आचारसंहिताको उल्लंघन मात्र होइन, दुरूपयोग नै हो। हो यिनै मान्यतालाई आत्मसात गर्दै व्यावसायिक पत्रकारिता गर्ने दृढनिश्चयी पुष्करलाल श्रेष्ठ वास्तवमै नेपाली पत्रकारहरूका लागि प्रेरक व्यक्तित्व नै हुनुहुन्छ।

२०४१ मंसिर १५ गतेदेखि कामना सिने मासिकबाट पत्रकारिता यात्रा शुरू गर्नुभएका श्रेष्ठले सक्रिय जीवनबाट सदाका लागि बिदा लिनुभएको पनि आज १३ दिन भइसकेछ। तै पनि उहाँ हाम्रा सामु हुनुहुन्न भन्ने कुराको विश्वास लागिरहेको छैन। भनिन्छ, मृत्यु शाश्वत सत्य हो र यो सृष्टिको एउटा प्रक्रिया पनि हो। तर उहाँको निधन बाँच्नेहरूका लागि असामयिक र दुखद् त बन्यो नै, जीर्ण स्वास्थ्यका कारण उहाँ स्वयम्का लागि आफ्नै जीवन अत्यन्त कष्टपूर्ण बन्न पुग्यो।

स्वजन तथा मित्रहरूको निरन्तर प्रार्थना र चिकित्सकलगायत स्वास्थ्यकर्मीहरूको अनवरत प्रयास पनि सार्थक बन्न सकेन।त्यसैले प्रकृत्तिको नियम नै मानेर यस दुखद् क्षणलाई स्वीकार्न हामी बाध्य भएका छौं। शरीर हाम्रा सामु नभए पनि उहाँले नेपाली पत्रकारिता जगत्मा पु¥याउनुभएका योगदानहरू सधैं सबैले सम्झने गरी इतिहासका पानामा अभिलिखित÷सुरक्षित हुनेछन्। यस अर्थमा उहाँ बाँचिरहनुहुनेछ।

अब अलिकति यस प्रकाशन गृहसँग जोडिएका तर नितान्त निजी लाग्ने केही अनुभव राख्ने झिनो जमर्को गरेको छु। उहाँसँग दुई दशक लामो पत्रकारिता सहयात्रा अत्यन्त सुमधुर र≈यो। जीवनको ऊर्जाशील समय सूचना संकलन, समाचार लेखन र सम्पादनमा बिना कुनै हिच्किचाहट व्यतीत गर्ने वातावरण कामना प्रकाशनमा जुट्यो, त्यसको कारक तŒव नै पुष्कर सर हुनुहुन्थ्यो। उहाँ अत्यन्त सरल, सकारात्मक तथा मिजासिलो व्यवहार र आफ्नोपन देखाउन सक्ने खुबीका धनी हुनुहुन्थ्यो।

त्यसो त उहाँले गर्ने व्यवहार वास्तवमै व्यावसायिक नेतृत्व क्षमता भएका व्यक्तिकै जस्तो हुन्थ्यो। हुन पनि संसारमा कुनै पनि संस्था तथा व्यवसायमा अन्य स्रोत र साधनभन्दा मानव संशाधन नै यति धेरै चुनौतीपूर्ण मानिन्छ, जसलाई मानवोचित व्यवहार नगर्ने हो भने त्यो बिच्किहाल्छ भन्ने कुराको पूरा ज्ञान थियो पुष्कर सरसँग।

त्यसैअनुरूप कसलाई के खाँचो छ, कुन व्यक्ति कुन आवश्यकताको पछि लागेको छ, उसलाई कार्यप्रति उत्प्रेरित गर्न कस्तो सुविधा तथा तालिम र पदोन्नतिजस्ता उपायले सम्बोधन गरी सन्तुष्ट पार्न भरमग्दुर कोशिस गर्नुहुन्थ्यो। त्यही भएर बेलाबेलामा भन्नुहुन्थ्यो– ‘पत्रिका चलाउनु भनेको सरकार चलाउनु जत्तिकै गाह्रो हुन्छ।’ यो उहाँको भोगाइ हो भन्ने हिसाबले मैले बुझें।

संस्थामा कार्यरत पत्रकार र अन्य विभागका कर्मचारीहरूको बुझाइ र दृष्टिकोणको सूक्ष्म अध्ययन गर्ने र सोहीअनुरूपको व्यवहार प्रदर्शन गर्ने एउटा परिपक्व व्यवस्थापकीय नेतृत्व सम्हाल्नुभएको थियो उहाँले। मिडियामा लगानी गर्नेहरू पत्रकारिताको पनि ज्ञान भएका व्यक्ति बिरलै हुन्छन्, तर उहाँ त्यस अपवादबाट मुक्त हुनुहुन्थ्यो।

आवश्यकतानुसार आफैं समाचार लेखन तथा सम्पादन पनि गर्ने क्षमता भएकै कारण जो कोहीले उहाँलाई भ्रममा पार्न सक्दैनथ्यो। सम्पादनसँग सम्बन्धित पत्रकारहरूको कमी कमजोरी औंल्याउनु, कार्यसम्पादनका सिलसिलामा आवश्यक निर्देशन दिन र विशेष रिपोर्टिङ गराउनका लागि आफैं गृहकार्य गरेर सम्बन्धित व्यक्तिलाई टिपोट नै दिने गर्नुहुन्थ्यो। अनि त्यो व्यक्ति आफ्नो जिम्मेवारीबाट पन्छिने त कुरै आउँदैनथ्यो। यस हिसाबले उहाँको काम गराउने शैली धेरै हदसम्म प्रभावकारी थियो।

विश्वका विभिन्न मुलुकको भ्रमणका क्रममा आफूले हासिल गरेका ज्ञान र जीवनोपयोगी सूचनाहरू समावेश गरी रोचक ढंगले तयार पारिएका लेखहरू आफ्ना साथी र पाठकहरूसँग पत्रपत्रिका/अनलाइन माध्यममार्फत सेयर गर्नुहुन्थ्यो। सधैंजसो पत्रपत्रिकामार्फत पाठकहरूसामु केही न केही नयाँ सामग्री प्रस्तुत गर्नुपर्छ भन्ने चिन्तन गरिरहनुहुन्थ्यो उहाँ।

अरूले गरेका असल कामको राम्रो मूल्यांकन गरी प्रशंसा गर्नुको सट्टा सामान्य तथा हल्कारूपमा टीका टिप्पणी गरेर हतोत्साहित पार्ने र जसले जे गरे पनि जश नदिने स्वभाव भएका व्यक्तिहरूबाट भने उहाँ टाढै रहने प्रयास गर्नुहुन्थ्यो।

त्यस्तै व्यक्तिहरूलाई लक्षित गर्दै स्वतन्त्र, निष्पक्ष र व्यावसायिक पत्रकारिता गर्नु भनेको एउटा चुनौतीपूर्ण काम भएको बताउँदै आफ्नो प्रकाशन गृहका पत्रकारहरूलाई जनताको सुसूचित हुने संवैधानिक अधिकारमा ठेस लाग्ने गरी कहिल्यै कोहीसँग सम्झौता नगर्ने दृढता व्यक्त गर्नुहुन्थ्यो। स्पष्ट सोचका धनी भएकैले ‘होचो कद अग्लो व्यक्तित्व’ का रूपमा चिनिनुहुन्थ्यो।

उहाँसँग धेरै निकट रहेर काम गर्दाको समय बितेको पत्तै हुँदैनथ्यो। नेपाल समाचारपत्रमा सम्पादक बनेपछि मलाई त्यो अवसर जुटेको थियो। खास गरी सम्पादकीय, विशेष सम्पादकीय, समाचार टिप्पणीजस्ता सामग्री तयार पार्ने सिलसिलामा हामीबीच प्रायः छलफल हुन्थ्यो। कहिलेकाहीं त कस्तो अचम्म हुन्थ्यो भने हामी दुवैले लेखनका लागि सोचेको विषय तथा प्रसंग एउटै पर्ने गर्दथ्यो। त्यस्तो अवस्थामा विषयवस्तुबारे झन् स्पष्ट बन्ने अवस्था निर्माण हुन्थ्यो। यस्तै कार्यका क्रममा उहाँबाट धेरै कुरा सिक्ने अवसर मिल्यो, जुन जीवनपर्यन्त अविष्मरणीय बनेको छ।

मान्छेका रहर पनि गजबका हुन्छन्, त्यस्तै रहरले शिक्षण पेसामा आबद्ध हामीलाई आफ्नो करिअर नै परिवर्तन गरायो। पत्रकारिता गर्ने सोच पलाएपछि मेरा निकटतम मित्र कपिल काफ्ले र म नेपाल प्रेस इन्स्टिच्युटद्वारा सञ्चालित दश महिने पत्रकारिता तालिममा सहभागी भयौं। तालिमको अन्त्यमा अन्तरंग तालिम ९इन्टर्नसिप० गर्न गोविन्द वियोगीद्वारा प्रकाशित तथा सम्पादित मातृभूमि साप्ताहिकमा खटिएँ भने मित्र कपिलजी कामना प्रकाशन समूह जानुभयो, उहाँले कामनामै सम्पादक बनेर पत्रकारितालाई निरन्तरता दिनुभयो।

प्रशिक्षार्थी पत्रकारका रूपमा केही समय समाचार संकलन तथा लेखनमा बिताइयो, मातृभूमिमा किरण ९वैद्य० दाइ र ज्योतिजीले निकै नै सहयोग गर्नुभयो। कहिलेकाहीं समाचार छापिन्थ्यो।

त्यो बेला छापामा नाम आउनु आकर्षणकै रूपमा लिइन्थ्यो। मित्र कपिलजीले कामनामा निरन्तरता दिनुभएपछि स्वाभाविकरूपमा मेरो सम्पर्क पनि बढ्न थाल्यो। कामना प्रकाशनले संस्थागत विस्तार तथा प्रकाशनहरू पनि क्रमशः बढाउँदै जाने निर्णयका साथ जनशक्ति थप्ने निर्णय गरेछ। सोहीअनुरूप विज्ञापन प्रकाशित भयो। लिखित परीक्षामा उत्तीर्ण भएपछि संस्थाका सञ्चालकद्वय पुष्कर सर र भूषणमान जोशीले अन्तर्वार्ता लिनुभयो। म छानिएको जानकारी पाएँ र २०४८ कात्तिक १ गतेदेखि कामना प्रकाशनमा आबद्ध रहें।

मेरो प्रवेशकालमा सो संस्थाले कवामना सिने मासिक र साधना अनुसन्धनात्मक डाइजेस्ट प्रकाशित गर्दथ्यो। एक वर्षभित्रै महानगर सन्ध्याकालीन दैनिक शुरू भयो भने २०५२ मा आजको समाचारपत्र ९नेपाल समाचारपत्र० राष्ट्रिय दैनिक प्रकाशित भयो।

महानगरका संस्थापक सम्पादक कपिल काफ्लेको नेतृत्वमा समाचारपत्र प्रकाशित गर्ने संस्थाको निर्णयपछि पुष्कर सरले महानगरको कार्यकारी सम्पादकमा मलाई नियुक्त गर्ने निर्णय संस्थाले लिएको जानकारी गराउनुभएपछि खुसी नहुने कुरै भएन। काम गर्दै जाँदा २०६० सालमा पुनः नेपाल समाचारपत्रको सम्पादकका रूपमा काम गर्ने जिम्मेवारी मेरो काँधमा थपियो।

यसरी पुष्कर सरले एकपछि अर्को गर्दै पूर्ण विश्वासका साथ चुनौतीपूर्ण जिम्मेवारी सुम्पेर परिपक्व बन्ने अवसर प्रदान गर्नुभयो। त्यसका लागि म सधैं उहाँप्रति आभारी बनेको छु। २०६८ असोज ३० गतेसम्म दुई दशकको अवधिमा उहाँ र मबीच कुनै पनि खालका मनमुटावको अवस्था नआउनु र सधैं विश्वासमा रहने वातावरण बन्नु चानचुने कुरा होइन। यस हिसाबले हामीले एउटा पथप्रदर्शक, अभिभावक र कुशल मिडिया व्यवस्थापक गुमाएका छौं, जसको अभाव वर्षौं खट्किन सक्दछ।

मलाई एउटा सम्झना छ, २०६१ माघ १९ गते तत्कालीन राजा ज्ञानेन्द्रले शाही घोषणामार्फत प्रधानमन्त्री शेरबहादुर देउवालाई अक्षम भन्दै राजकीय सत्ताको सम्पूर्ण कार्यकारी अधिकार आफ्नो हातमा लिएपछि प्रेस स्वतन्त्रता कुण्ठित बन्यो। सेनाका मेजरहरू लगातार २÷३ दिनसम्म नेपाल समाचारपत्रलगायत प्रमुख पत्रपत्रिका, रेडियो र टेलिभिजनहरूमा निगरानी गर्न खटाइए। के–कस्ता विषयवस्तु प्रकाशन गर्न लागिएको छ, त्यो सबै उनीहरूलाई जाहेर गर्नुपर्ने र राजाको कदमलाई अलिकति पनि आलोचना गरिएको रहेछ भने पनि त्यसलाई सच्याएर प्रकाशन गर्नुपर्ने जस्तो असहजपूर्ण अवस्था उत्पन्न भएको थियो।

त्यस्तो अवस्थामा पनि प्रजातान्त्रिक आन्दोलनलाई अप्ठेरो नपार्ने गरी समय परिस्थितिलाई सन्तुलन गर्नुपर्ने भूमिका निर्वाह गर्नुभएको थियो पुष्कर सरले। पत्रिकाले केही सरकारी विज्ञापन छापेकै भरमा अनावश्यकरूपमा ‘राजावादी’ को आरोप खेप्नुपर्ने बाध्यता आइलाग्यो।

विस्तारै त्यो कसैको पूर्वनियोजित आरोप हट्दै गयो। एकदिनको कुरा हो, एकजना ठूलै तहका राजावादीको लेख प्रकाशनका लागि आएको रहेछ, पुष्कर सरले विचार पृष्ठमा दिन सकिने छ कि भनेर मलाई हेर्नका लागि दिनुभयो। ती लेखकको दृष्टिकोण उनका हिसाबले ठीकै पनि थियो होला तर राजावादीको आरोप लागेको बेला पुष्कर सरलाई त्यो लेख तत्काल छाप्न नहुनेबारे आफ्नो भनाई राखें, उहाँले तत्कालै स्वीकारोक्ति दिनुभयो।

यसरी हेर्दा उहाँ विचारमा दृढ र व्यवहारमा लचिलो भएको महसुस गर्न पाएँ। यो त एउटा उदाहरण मात्र हो यस्ता घटनाहरू बीस वर्षका दौरानमा धेरै पटक भए होलान् तर संस्थालाई अहित नगर्ने गरी यसको व्यावसायिक छविलाई जोगाउने अभ्यासमा उहाँ अनवरत खटिनुभएको अनुभव प्रत्यक्षरूपमा गर्न पाएँ।
र, अन्त्यमा उहाँको आत्मालाई शान्ति मिलोस्।
अलबिदा पुष्कर सर

प्रतिक्रिया दिनुहोस्