कलम छोडेर स्वर्गको साइत



होचो कद, पातलो शरीर र साधारण पहिरन पुष्करलाल श्रेष्ठका बाहिरी विशेषता हुन् । आदेशात्मक नभएर अनुरोधात्मक शैलीको बोली अनि साधारण लाग्ने उहाँको व्यक्तित्वप्रति त्यतिखेर म आकर्षित हुन सकिनछु, जतिखेर म कामनामा प्रवेश गरेको थिएँ । कुरा वि.सं. २०५४ को हो । मैले साधना मासिक पत्रिकामा उपसम्पादकको रुपमा जागिर शुरु गरेको एकहप्ता भइसकेको थियो । प्रधान सम्पादकको नाम थाहा भए पनि उहाँलाई चिनेको भने थिइनँ । एकदिन समाचारपत्रका तत्कालीन सम्पादक कपिल काफ्लेले उहाँ प्रधान सम्पादक हुनुहुन्छ भनेर चिनाउनुभयो । आखिर सधैँजसो भेट भइरहने व्यक्तित्वलाई मैले चिन्न सकेको रहेनछु । म त्यतिखेर लाजले पानी–पानी भएको थिएँ ।

रोहिणी घिमिरे

मैले नचिन्नु स्वाभाविक नै थियो तर राज्यले पछिल्लो समयसम्म पनि उहाँलाई चिन्न चाहेन । राज्य सञ्चालकहरुको नजरमा पुष्करलाल पत्रकारिता क्षेत्रको हस्ती नै हुनुहुन्छ, तर पनि पार्टीगतरुपमा तटस्थ रहनाले उनीहरुले उहाँलाई चिनेर पनि नचिनेको जस्तो गरिरहे । सधैँ संघर्ष गर्दा पनि अन्य मिडियासँग प्रतिस्पर्धामा आउन कठिन हुनुको कारणसमेत यही हो जस्तो लाग्छ । पछिल्लो समय उहाँ भन्नुहुन्थ्यो– ‘मैले राज्यलाई जति घचघच्याए पनि राज्य सुन्दैन, अब कलम समाएर कतिन्जेल बस्ने ?’ आखिर उहाँले जस्तो भनेको त्यस्तै भयो । आफ्नो पुस्तकरुपी ‘कलम’ र लेखनीरुपी ‘कलम’ दुवै छोडेर अल्पायुमै उहाँले स्वर्गको साइत गर्नुभयो ।

पत्रकारिताका पथप्रदर्शक
एकदिन प्रधान सम्पादक पुष्करलालसहित साधनाको टिमको मिटिङ भइरहेको थियो । साधनाका तत्कालीन सम्पादक लक्ष्मण अधिकारीले प्रस्ताव राख्नुभयो– वेश्यावृत्ति र गर्भपतनको बारेमा छुट्टाछुट्टै रिपोर्टिङ गरी स्टोरी तयार गर्नुप¥यो । वेश्यावृत्ति र गर्भपतनको रिपोर्टिङ गर्न ग्राहक बनेरै जानुपर्ने भयो । ग्राहक बनेर वेश्यासँग जानुभन्दा गर्भ तुहाउन ग्राहक बनेर जानु उपयुक्त ठानेर म त्यता जाने भएँ । त्यति बेला गर्भ तुहाउनु अवैध थियो भने यस्ता कार्यलाई महापाप ठानिन्थ्यो । कहिल्यै नढाँट्ने मैले ग्राहक बनेर कसरी ढाँट्ने होला ? फेरि ढाँटेको कुरा काटे मिल्दैन भन्छन् ।

मलाई त्यति बेला प्रधान सम्पादक पुष्कर सरले भनेको कुरा कहिल्यै बिर्सन्न । उहाँले भन्नुभएको थियो– ‘यदि धेरैजनाको उद्धार र हित हुन्छ भने ढाँट्दा केही फरक पर्दैन ।’ उहाँले त्यस रिपोर्टिङमा जाँदा आफू प्रस्तुत हुने तरिकासमेत सिकाउनुभएको थियो । उहाँको निर्देशनअनुसार नक्कली ग्रलफ्रेन्डको केस दर्शाएर एक नर्सबाट उनकै हस्ताक्षरमा गर्भपतनका लागि खर्चसहितको विवरण ल्याउन सफल भएको थिएँ । यो त एउटा उदाहरण मात्र हो । पुष्कर सरले मजस्ता धेरैलाई पत्रकारिता सिकाउनुभयो । धेरै पत्रकारका लागि उहाँ पथप्रदर्शक नै हुनुभयो । साँच्चै भन्ने हो भने, अहिले प्रायः प्रिन्ट मिडियामा कामना न्यूज पब्लिेकेसन्सबाट जाने पत्रकारहरु धेरै भेटिन्छन् । यसलाई उहाँको देन भन्नुपर्छ ।

जस्तो अर्को उस्तै बन्ने स्वभाव
पुष्कर सरको सबैभन्दा ठूलो विशेषता भनेको जोसँग पनि मिल्न सक्ने गुण हो । उहाँ बूढासँग कुरा गर्दा बूढै जस्तो, युवासँग युवा नै जस्तो, बच्चासँग बच्चै जस्तो बनिदिनुहुन्थ्यो । रिसले चुर भएर आएको मान्छे पनि उहाँसँग कुरा गरेपछि शान्त भएर फर्कन्थ्यो । एकदिन साधनामा प्रकाशित स्टोरीमा आफ्नो नाम जोडिन आएको विषयलाई लिएर दुईजना मान्छे सोल्टीमोडस्थित कामनाको कार्यालयमा छिरे । त्यस बेला सम्बन्धित व्यक्तिलाई सन्देश नदिई बाहिरको मान्छेलाई प्रवेश थिएन । तर कसो–कसो उनीहरु शैलेन्द्र थापाजी हुनुहुन्छ भन्दै साधना विभागमा पुगे । शैलेन्द्रजीले ‘किन हो, म यहीँ छु’ मात्र के भन्नुभएको थियो, एकजनाले टेबुलमा मुड्की बजारिहाल्यो भने अर्कोले शैलेन्द्रजीलाई तैंले के लेखेको भन्दै झम्टिन लाग्यो ।

पछिल्लो समय उहाँ भन्नुहुन्थ्यो– ‘मैले राज्यलाई जति घचघच्याए पनि राज्य सुन्दैन, अब कलम समाएर कतिन्जेल बस्ने ?’ आखिर उहाँले जस्तो भनेको त्यस्तै भयो । आफ्नो पुस्तकरुपी ‘कलम’ र लेखनीरुपी ‘कलम’ दुवै छोडेर अल्पायुमै उहाँले स्वर्गको साइत गर्नुभयो ।

म असामञ्जस्यमा परें । तर पनि पत्रकारितामा डराउनुहुँदैन भनेर बडो सतर्कताका साथ तिनीहरुले थाहै नपाउने गरी फोनमार्फत अन्य विभागमा खताराको सन्देश प्रवाह गरें । कामना, महानगर, नेपाल समाचारपत्रका सम्पादकहरुको प्रवेश भयो । उहाँहरुले परिस्थिति केही साम्य त बनाउनुभयो तर विवाद सुल्झेन । आखिर प्रधान सम्पादक श्रेष्ठ आएर ती आक्रोशित व्यक्तिहरुको कुरामा सही थाप्दै होमा हो मिलाई सम्झाएपछि बल्ल खण्डन छापिदिने सर्तमा उनीहरु फर्केका थिए । अनुहार, हाउभाउ, उमेर, परिवेशलाई हेरेर कुरा गर्ने क्षमता उहाँमा थियो । साम, दाम, दण्ड, भेदका नीतिहरुबारे उहाँलाई पूर्ण ज्ञान थियो । त्यसैले पनि उहाँले गरेको पत्रकारिता सफल भएको हो । पुष्करलाल आफैं भन्ने गर्नुहुन्थ्यो– ‘म बडी ल्याङ्ग्वेज जान्दछु, त्यसैले आफू पनि उसको हाउभाउअनुसार प्रस्तुत हुन्छु ।’ यो उहाँको स्वभाव हामी सबैले ग्रहण गर्नुपर्ने देखिन्छ ।

अर्डर होइन, रिक्वेस्ट
प्रधान सम्पादक भएर पनि पुष्करलालले कहिल्यै आदेश (अर्डर) गरेको मैले थाहा पाइनँ । उहाँ जहिले जसलाई पनि अनुरोध (रिक्वेस्ट) गर्नुहुन्थ्यो । साधनाको जिम्मेवारी पूर्णरुपमा बहन गर्नुपर्ने त थियो नै, नेपाल समाचारपत्रको विचार पृष्ठको सम्पादन कार्यसमेत प्रधान सम्पादकले मेरो जिम्मामा दिनुभएको थियो ।

सो पृष्ठमा आफ्नो लेख प्रकाशन गर्न पनि उहाँ मलाई अनुरोध गर्नुहुन्थ्यो । उहाँले आफ्नो लेख इमेल पठाउँदा प्रायः लेख्नुहुन्थ्यो– ‘यो लेख भोलिका लागि राख्न मिल्ला कि ! सुझाव पाऊँ ।’ उहाँका सयौं लेख प्रकाशित भएका छन् । तर ती लेख छाप्न उहाँले कहिल्यै अर्डर गर्नुभएन । कामनाका सम्पादक मित्र विदुर गिरीले पनि यो कुरा मसँग धेरै अघिदेखि गर्दै आउनुभएको हो । हामीसँग मात्र होइन, अरुसँग पनि उहाँको व्यवहार यस्तै थियो ।

 ‘तपाईं कहाँ हुनुहुन्छ, हस्पिटलमा आउन मिल्छ ?’ उहाँको मलीन स्वरले म आत्तिए । ट्याक्सी लिएर म तुरुन्तै नर्भिक अस्पतालको आईसीयु कक्षबाहिर पुगें । उहाँले मलाई भित्र लग्नुभयो । मैले अचेत अवस्थाका पुष्करलालको नाडी, छाती, टाउको र खुट्टा छामे । मनले माया मारे पनि तुरुन्तै केही नहुने आश्वासन दिन बाध्य भएँ ।

यद्यपि हातले लेखेर कुनै कुराको जानकारी गराउनुपर्ने रहेछ भने पनि उहाँ ‘अनुरोध छ’ भनेर लेख्नुहुन्थ्यो । प्रधान सम्पादकको हैसियतले उहाँले हामी साधना, कामनाका सम्पादकलाई अनुरोध नभएर आदेश नै दिँदा हुने हो । उहाँका यस्ता कुराले हामी पो लज्जित हुन्थ्यौं ।

मूड फ्रेस गराउन हँसाउने कला
व्यक्तिगत भेटघाट अनि मिटिङमा समेत नम्रतापूर्वक बोल्ने र बेला–बेलामा हँसाएर मन प्रफुल्लित गराउने उहाँको विशेष शैली नै थियो । यथार्थतालाई व्यङ्ग्यका रुपमा प्रस्तुत गरेर हँसाउने खूबी पनि उहाँमा थियो ।

एकपटक उहाँसँगै कतै जानुपर्ने भयो । मलाई उहाँले आफ्नो गाडीको अगाडिको सिटमा बस्न भन्नुभयो । उहाँ भने पछाडि बस्नुभयो । चालकले गाडी स्टार्ट गरे । कालो शिशा, गाडीभित्र बाहिरबाट देखिने कुरा पनि भएन, गाडी चढिसकेपछि पनि मैले पछाडि फर्केर हेरिनँ । आफू अगाडि नबसी किन मलाई बसाउनुभयो भनेर म सोचमग्न भएँ । त्यति नै बेला पछाडिबाट पुष्कर सरको आवाज आयो– ‘रोहिणीजी ! एकपटक पछाडि फर्किएर नमस्कार गरिदिनुस् न, नत्र भरे म भात पनि खान पाउँदिन ।’

यसो पछाडि फर्केर हेर्छु त भाउजू (उहाँकै धर्मपत्नी) पो हुनुहुँदो रहेछ । नमस्कार त गरें तर त्यस बेला हामी तीनैजनाको हाँसोले बढी प्राथमिकता पायो । चालक पनि नहाँसी रहन सकेनन् । अहिले पनि भाउजूलाई देख्दा १०–१२ वर्षअघिको यही सम्झना आइहाल्छ । यस्तो हाँसो त कति हो कति, मान्छेअनुसारको कुरा गरेर हँसाउन सक्ने उहाँमा खूबी थियो । अब त यसरी कसले हँसाउला भन्ने लाग्छ ।

सफलताका लागि नवीन सोच
पुष्करलालमा नवीन सोच प्रस्फुटन भइरहन्थ्यो । धन खर्च गरी समकक्षीसँग प्रतिस्पर्धा गरेर भन्दा नयाँ कुरा अघि सारेर प्रगति गर्न सकिन्छ भन्ने उहाँमा पूर्ण विश्वास थियो । त्यसैले उहाँले २०४१ सालदेखि फिल्मी म्यागाजिन कामना मासिक निकालेर नयाँ कामको थालनी गर्नुभयो । जबकि त्यस बेला नेपालमा अहिलेको जस्तो पर्याप्त मात्रामा फिल्म हल नै थिएन, वार्षिक एक–दुईवटाबाहेक यहाँ फिल्म पनि निर्माण हुँदैनथ्यो । अहिलेको जस्तो धेरै कलाकारहरु पनि थिएनन् । त्यस्तो अवस्थामा पनि उहाँको नवीन सोचले अपार सफलता पायो ।

यसको अद्भूत सफलतापछि नयाँ कुराले जनमानसलाई आकर्षण गर्न सकिन्छ भन्नेमा उहाँ झन् विश्वस्त हुनुभयो । त्यसैले २०४८ सालमा फेमिली म्यागाजिन साधना मासिक प्रकाशनको शुरुवात भयो । यसमा खोजी पत्रकारिताले बढी प्रश्रय पायो । खोजी पत्रकारिताको शुरुवात नै साधना मासिकबाट भयो भन्दा हुन्छ ।

नयाँ सोचबाट थालनी गरिएको कामना र साधनाले मार्केट कब्जा गरेपछि पुष्करलाललाई अर्को नयाँ सोच पलायो । सन्ध्याकालीन महानगर निकालेर उहाँले जनमानसलाई झनै आकर्षित गराउनुभयो । पत्रिका निकालेर मात्र हुँदैन, यसमा केही नयाँ कुरा पस्कन सक्नुपर्छ भन्नेमा पुष्करलाल दृढ हुनुहुन्थ्यो । यसमा लेआउट, डिजाइन र समाचारको शीर्षकले पनि भूमिका खेल्ने हुँदा यसमा पनि निकै ध्यान पु¥याइन्थ्यो ।

यसै गरी २०५२ सालमा शुरु भएको समाचारपत्र दैनिकले पनि खुट्टै घुमायो । मनमोहन अधिकारीको देहावसान, राजदरबार हत्याकाण्डजस्ता समाचार अन्य प्रिन्ट मिडियामा भन्दा पहिला छापेर नेपाल समाचारपत्रलाई उचाइमा पु¥याउने काम पुष्करलालको नवीन सोचले नै सम्पन्न भएको थियो । कुनै बेला नेपाल समाचारपत्रदेखि अन्य प्रिन्ट मिडिया झस्कने अवस्था पनि आइसकेको थियो । राजनीतिक तटस्थता रहेको मिडिया यति उचाइमा पुग्नु पुष्करलालकै बौद्धिक क्षमताको उपज हो ।

अल्पायुमै स्वर्गको साइत
वैशाख ३ गते अफिसको काम सकेर म न्युरोड आइपुगेको थिएँ । मोबाइल फोनको घन्टी बज्यो । प्रधान सम्पादक श्रेष्ठकै छोरा दिरेकलालको फोन रहेछ । ‘तपाईं कहाँ हुनुहुन्छ, हस्पिटलमा आउन मिल्छ ?’ उहाँको मलीन स्वरले म आत्तिए । ट्याक्सी लिएर म तुरुन्तै नर्भिक अस्पतालको आईसीयु कक्षबाहिर पुगें । उहाँले मलाई भित्र लग्नुभयो । मैले अचेत अवस्थाका पुष्करलालको नाडी, छाती, टाउको र खुट्टा छामे । मनले माया मारे पनि तुरुन्तै केही नहुने आश्वासन दिन बाध्य भएँ ।

बाहिर निस्किँदा वरिष्ठ व्यक्तित्व वसन्त चौधरीसहित कामनाका अन्य साथीहरुको उपस्थिति भइसकेको रहेछ । एकछिन्मै भाउजू (पुष्करलालकी धर्मपत्नी) पनि आइपुग्नुभयो । अब पुष्करलाललाई बचाउन नसकिने डाक्टरको भनाइ अप्रत्यक्षरुपमा आइसकेको रहेछ । दिरेक श्रेष्ठले मन दह्रो पारेर कुन दिन कस्तो छ भन्नुभयो । मैले गला अवरुद्ध पार्दै भनें– ‘६ गते पूर्णिमाका दिन धेरै कुराले राम्रो भएकाले सो दिनसम्म बचाउन सकिन्छ त ?’ भोलिसम्म हेरौं भनेर हामी आ–आफ्ना घर गयौं । भोलिपल्ट बिहानै दिरेक श्रेष्ठले फोन गर्नुभयो– ड्याडीलाई पर्सिसम्म बचाउन नसकिने भयो, के गरौं ? मैले आज १२ बजेभन्दा अगाडि नै उहाँलाई बिदा गर्न सकिए राम्रो भनें ।

हरेक उपायले पनि उहाँलाई बचाउन सकिएन । प्रधान सम्पादक मात्र नभएर हामी सबैको अभिभावक पुष्करलाल श्रेष्ठ वैशाख ४ गते बिहान ११ः४९ बजे अल्पायुमै स्वर्ग प्रस्थान गर्नुभयो । टाढाको यात्रा वा कुनै कामको शुरुवात गर्नु छ भने साइत हेर्ने हाम्रो परम्परा नै हो । त्यस्तै पुष्करलाल पनि सूर्य उत्तरायण भएको समय चैत्र–शुक्ल त्रयोदशी तिथि बुधबार शुभ बेलाको राम्रै साइतमा आफ्नो पुस्तकरुपी कलम र लेखनीरुपी कलम छोडेर स्वर्ग जानुभयो । प्रकृतिलाई कसले पो जित्न सक्छ र ? यो शाश्वत सत्य हो । अब हामीले उहाँको स्वर्गारोहणलाई स्वीकार्नुको विकल्प छैन । उहाँको आत्माले शान्ति पाओस् ।

 

प्रतिक्रिया दिनुहोस्