अनुदानमा कृषकलाई ट्रयाक्टर



मोतीराम तिमल्सिना, काभ्रे ।
पाँचखाल नगरपालिका वडा नम्वर ९ पलाञ्चोक साविक साठिघर भगवती गाविसका सबै वडाहरुमा कृषकहरुलाई ट्रयाक्टर वितरण गरिएको छ । नगर प्रमुख महेश खरेलले कृषकहरुका समुहलाई ट्रयाक्टर वितरण गर्नु भएको थियो ।

‘कृषहरुको समुह निर्माण गरी साविक गाविसमा रहेका वडाहरुमा प्रति वडा तीनवटा समुह निर्माण गरी २७ वट समुहलाई २७ वटा ट्रयाक्टर वितरण गरेका हौं’–वडा अध्यक्ष किरण श्रेष्ठले भन्नुभयो–‘वडागत बजेटबाट ५० प्रतिशत अनुदानमा कृषकलाई ट्रयाक्टर वितरण गरिएको हो ।’

वडा कार्यालयमा विनियोजन गरेको बजेटमा ४ लाख कृषहरुका लागि विनियोजन गरिएको थियो । ४ लाख रकम अपुग भए पछि मन्दिर निर्माणमा विनियोजन गरेको एक लाख रुपैयाको योजना कटाउँदै कृषकहरुको मागलाई सम्बोधन गरेको वडा अध्यक्ष श्रेष्ठले बताउनु भयो । खुल्ला रुपमा आवेदन दर्ता गरे पछि माग भन्दा धेरै ट्रयाक्टर खरिद गर्नु पर्ने भयो तर पनि पहिलो चरणमा प्रति वडा तीन वटा समुह गठन गरी प्रति समुह एउटा ट्रयाक्टर वितरण गर्दा तत्कालको समस्या समाधान हुने भएकाले त्यसो गरिएको अध्यक्ष श्रेष्ठले बताउनु भयो । एउटा समुहमा ५ जना कृषक आवद्ध छन् । आफुले प्रयोग गरिसकेपछि छिमेकमा पनि सहयोग गर्ने शर्तमा ५० प्रतिशत अनुदानमा ट्रयाक्टर वितरण गरिएको हो ।

बजार मुल्य अनुसार ७.५ हर्स पावर ९० केजीको मिनि टिलरलाई ५५ हजार रुपैया पर्छ । वडा कार्यालयले खरिद गरेको ट्रयाक्टरको मुल्य ३७ हजारमा ढुवानी सहित जोडिएको छ । प्रति कृषक अनुदानको मुल्य कटाउँदा झण्डै ३ हजार ५ सय रुपैया मात्रै पर्न गएको छ । लागत र समयको समेत बचत हुने भएकाले कृषकहरुको माग अन्य प्रविधि भन्दा ट्रयाक्टरमा आर्कषण बढेको छ ।

कार्यक्रममा बोल्दै नगर प्रमुख महेश खरेलले नगरपालिकामा रहेका १३ वटै वडामा ५ सय भन्दा धेरै ट्रयाक्टर भौगोलिक, जनसंख्या र मागका आधारमा वितरण गरिनेछ । कृषि शहर पाँचखाल नगर भन्ने नारालाई सफल बनाउन कृषिमा आधुनिकिरण सँगै यान्त्रिकरण भित्र्याउन प्रविधि हस्तान्तरण गरिएको नगर प्रमुख खरेलले बताउनु भयो ।

‘कृषकहरुके आय स्तर बढाउन प्रविधिले सहयोग गर्छ’–प्रमुख खरेलले भन्नुभयो–‘आईपिएम पाठशाला संचालन गरी अगुवा कृषकहरुलाई तालिम, आधुनिक प्रविधिको उपयोग गरेर उत्पादन बृद्धी गर्न सकिने छ ।’ पाँचखालको तरकारीमा तोकिए भन्दा कम विषादी प्रयोग भईरहेको बताउँदै नगर प्रमुख खरेलले वडा वडामा आईपिएक कृषक पाठशाला संचालन गरिने बताउनु भयो । आईपिएमको प्रयोगले उत्पादन बृद्धी र लागत कम भएको कृषकहरुले बताएका छन् ।

धार्मिक र कृषि पर्यटन क्षेत्रका रुपमा वडा नम्वर ९ पलाञ्चोकलाई विकास गर्न कृषकहरुलाई फलफुलको खेति गर्न विरुवा वितरण गर्ने, समुह मार्फत टोल टोलमा आय स्तरका कार्यक्रम संचालन गर्ने अभियान रहेको वडा अध्यक्ष किरण श्रेष्ठले बताउनु भयो । कार्यक्रममा नगरपालिकाका कृषि शाखा प्रमुख इश्वरी अधिकारीले कृषिलाई आधुनिकीकरणमा जोड दिनु पर्ने बताउनु भयो ।

शौचालय हस्तान्तरण

पाँचखाल नगरपालिका खुल्ला दिसा मुक्त घोषणा गरे सँगै अरनिको राजमार्गमा दैनिक चल्ने सवारी साधनका यात्रुहरुको सहजताका लागि अरनिको राजमार्गको हनुमानगढीमा सार्वजनिक शौचालय निर्माण गरिएको छ । शौचालय निर्माणका लागि इन्द्रावती सामुदायिक सेवा केन्द्र। माल्टेजर इन्टरनेशनल र पाँचखाल नगरपालिकाले सहयोग गरेका छन् ।

सडक छेउछाउ खुल्ला दिसा पिसाव गरे सँगै त्यसलाई रोक्न सार्वजनिक शौचालयको आवश्यकता परेको नगर प्रमुख महेश खरेलले बताए । सामुदायिक बनको जमिनमा बनकै स्वामित्व रहने गरी निर्माण गरिएको शौचालयको रेखदेखका लागि हेरालु राख्ने वडा अध्यक्ष रामशरण दुलालले बताउनु भयो ।

सामुदायिक बन उपभोक्ता समुहका अध्यक्ष शिवहरी पराजुलीले सामुदायिक बनको आम्दानी हुने उदेश्यले शौचालय निर्माण गरिएको बताउनु भयो । नगर प्रमुख महेश खरेलले शौचालयसँगै उक्त स्थानमा स्नान र आर्गानिक उत्पादन केन्द्र निर्माण गर्ने योजना रहेको बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्