मुलुकको शासनसत्ता र युवा जनशक्ति



डिल्लीराम मिश्र
युवा–जनशक्ति कुनै पनि राष्ट्रको भविष्यका कर्णधार र चम्किला प्रतिभा हुन् । देश, समाज र राष्ट्रले उनीहरुबाट बढी भन्दा बढी आशा र अपेक्षा गरेको र राखेको हुन्छ । देश र समाजको उन्नति र विकासमा युवा–जनशक्तिको भूमिका गुणात्मक र गहन दायित्वबोधयुक्त रहेको हुन्छ । विश्वमा युवाजनशक्ति बढी परिचालन भएका मुलुकहरुलाई हे¥यौ भने पनि ती देशहरुले चमत्कारी शैलीमा विकास र प्रगति गरेका छन् । छिमेकी मित्रदेश चीनले विश्वमै बढी भन्दा बढी युवा–जनशक्ति परिचालन गरेको छ । त्यसैले पनि युवा–जनशक्ति देशको उर्जासमेत भएकोले युवावर्ग बढी अनुशासित, मर्यादित, परिश्रमी, लगनशील, सिर्जनशील र अध्ययनशील रहनु आजको आवश्यकता हो । अन्तत युवावर्गको काँधमा नै देशको भविष्य र समाजको अस्तित्व जीवन्त रहेको हुन्छ ।

कुनै पनि शासनव्यवस्था आफैमा साध्य हैन साधनमात्र हो, तर पनि २१ औं शताब्दीमा विश्वमै संसदीय लोकतन्त्रको विकल्प छैन भनिएको छ । विविध कारणहरुका बाबजुद पनि नेपालमा बहुदलीय प्रजातन्त्रको सहज मार्गमा देशको सुन्दर भविष्य आशातीत रहेको तथ्यलाई भने अझै पनि विर्सन सकिन्न । तर शासनसत्ताको नेतृत्व गर्नेहरुको नियत र चरित्र ठीक नहुँदासम्म शासन प्रणाली जतिसुकै राम्रो भए पनि त्यसबाट जनताले सामूहिकरुपमा उत्तम प्रतिफलको आशा गर्नु नेपालमा अब बेकारै जस्तो भइसकेको छ । देशमा विगत वर्षहरुमा त्यही नै भयो, जुन नहुनुपर्ने थियो । त्यसैले बहुदलीय प्रजातन्त्र भएका देशमा सक्षम–सचेत युवा जनशक्तिको भूमिका र दायित्व जिम्मेवारपूर्ण रहन्छ । देशका तमाम युवावर्गको जोश, जाँगर, प्रतिभा र क्षमतालाई राज्यशक्तिले राम्रोसंग परिचालन गर्न जान्नु र सक्नुपर्छ । आजको मुलुकको जनशक्ति नै युवा–जनशक्ति हो । देशमा बढी रोजगारका अवसरहरु उपलव्ध गराउनु र प्रतिभापलायनलाई समयमै रोक्नु राज्यको दायित्वभित्र पर्छ । युवावर्गहरुले पनि राष्ट्रबाट मैले के पाएँ भन्दा पनि मैले राष्ट्रलाई के दिनसके भन्ने सोचतर्फ बढी आत्मकेन्द्रित चिन्तन गरेको हुनुपर्छ, तर सक्षमप्रतिभा पलायनलाई समयमै रोक्न सकिएन भने देशले अझ अयोगति भोग्नु पर्ने निश्चित छ ।

विश्वको महाशक्ति राष्ट्र संयुक्त राज्य अमेरिकाले आफ्नो सक्षम युवा–जनशक्ति देश बाहिर पठाएर होइन देशमै सम्पन्न बनाएर चमत्कारी शैलीमा भौतिक विकास र प्रगति गरेको हो । अमेरिकाले आफ्नो देशको विकासका लागि बाहिरका योग्य प्रतिभाहरुलाई सम्मानजनक स्थान दिएको छ । अमेरिकामा अधिकांश प्रतिभापलायनको एउटा सकरात्मक कारण यो पनि हो । देशमा उत्पन्न असहज परिस्थितिका कारण एक दशक लामो माओवादी आतङ्क युद्ध पीडाले गर्दा आज हजारौ हजार युवा–जनशक्ति विदेश पलायन भएको कारुणिक अवस्था पनि विद्यमान छ । यस्तो अवस्थामा देशका युवा–जनशक्तिलाई कसरी सिर्जनशील, रचनात्मक र उत्पादनमुखी बनाउन सकिन्छ भन्ने सोचमा राज्यले समयमै ध्यानकेन्द्रीत गर्नुपर्ने हुन्छ । हाम्रा पूर्वजहरुमा कस्तो प्रकारको जोश, जाँगर, विवेक र होस थियो, तर आजका नेपाली युवाहरुलाई निराशा र विकृतिले बढी गाँजेको छ । त्यसैले युवाहरु बढी अध्ययनशील, मेहनती, जागरुक र यथार्थवादी हुनुपर्दछ । चीनले देशको ग्रामीण विकासमा अत्यधिक युवा जनशक्ति परिचालन गरेको तथ्य आफैमा प्रेरणादायी भूमिकामा छ ।

विश्वमै संसदीय प्रजातन्त्रको जननी भनेर चिनिने विकसित मुलुक बेलायतमा पनि युवा जनशक्तिको प्रयोग र परिचालन हदैसम्म भएको छ । बेलायतमा अहिलेसम्मको अधिकांश इतिहासको सेरोफेरोमा ५२–५३ वर्ष भन्दा कम उमेरका युवाहरुद्वारा देशको शासन नेतृत्व सम्हालेका छन् । बेलायतमा एक दशकअघि सम्पन्न आमनिर्वाचनमा कन्जरभेटिव पार्टीका त्रिचालीस वर्षीय नेता डेभिड क्यामरुन देशको प्रधानमन्त्री भएका थिए । बेलायतको दुई सय वर्षको इतिहासमा उनी सबैभन्दा कम उमेरका प्रधानमन्त्री हुन् । उनको दुई पटकको कार्यकालको प्रधानमन्त्रीत्वमा भएको विकास बेलायतमा अनुकरणीय मानिन्छ ।

शासनसत्ताको नेतृत्व गर्नेहरुको नियत र चरित्र ठीक नहुँदासम्म शासन प्रणाली जतिसुकै राम्रो भए पनि त्यसबाट जनताले सामूहिकरुपमा उत्तम प्रतिफलको आशा गर्नु नेपालमा अब बेकारै जस्तो भइसकेको छ । देशमा विगत वर्षहरुमा त्यही नै भयो, जुन नहुनुपर्ने थियो । त्यसैले बहुदलीय प्रजातन्त्र भएका देशमा सक्षम–सचेत युवा जनशक्तिको भूमिका र दायित्व जिम्मेवारपूर्ण रहन्छ ।

राजनीतिक विश्लेषकहरुका अध्ययनमा नेपालमा चार कोटिका युवाहरु रहेका छन् । यीमध्ये कोही उमेर पुगेपछि मौका पाउनसाथ विदेशिने तरखरमा छन् । कोही विदेश जान नपाएर छटपटिदै छन् । कोही विदेश पुगिसकेकाले सार्वजनिक रुपमा देशभक्तिको कुरा छाट्छन, तर व्यक्तिगत समय नेपाल र नेपालीको मिनमेख निकाल्नमा खर्चिन्छन तथा वचेका भने निराश फैलाउदै अब यो देशमा केही हुनेवाला छैन भन्दै हिड्छन् । आज देशका युवावर्गहरुको गति र मति मात्र हैन मुलुकको शासन सत्ता संचालन गर्नेहरुको पनि यस्तै हविगत भएको छ ।

विश्व इतिहासकै घटनाक्रम र निर्माणको पक्षमा एउटा दरिलो आधार के हो भने, कुनै पनि क्रान्ति, जनक्रान्ति र प्रतिक्रान्तिको सङ्घर्षद्वारा विजय प्राप्त गरेका सबल शक्तिहरुले देशको राज्य सञ्चालनको नेतृत्व लिएका हुन्छन् । तिनै शक्तिहरुले देशमा राज्य संरचनाको दिगो आधारशीला निर्माण गरेका हुन्छन् । यस सवल पक्षमा धेरै पर नगए पनि नेपालका दुई छिमेकी मुलुक चीन र भारततर्फ एकपटक फर्केर हेरौं– एकै दशकको हाराहारीमा स्वतन्त्र भएका भारत, चीन र नेपालमध्ये भारत र चीन यावत् विकासको दृष्टिमा आज कहाँ पुगे ? चीनले गरेको भौतिक र आर्थिक विकासले विश्वलाई नै चुनौती दिएको छ भने अङ्ग्रेजहरुले निर्माण गरेको दरिलो जगमा भारतले पनि चमत्कारी शैलीमा विकास गरेको छ ।

यहाँ उठान गर्न खोजिएको सवाल के मात्र हो भने, भारत स्वतन्त्र भएपछि मुलुकको सबल नेतृत्व भारतीय नेता महात्मा गान्धी, जवाहरलाल नेहरु र लालहादुर शास्त्रीजस्ता विराट व्यक्तित्वले लिएका थिए । विचार र चिन्तनका प्रतिमूर्ति महात्मा गान्धीले सत्ता समालेनन् तर पं. नेहरु र शास्त्रीले झन्डै २० वर्षसम्म भारतमा राज्य सञ्चालन गरेर दिगोरुपमा प्रजातान्त्रिक संस्कार, संस्कृति, मूल्य–मान्यता र कानूनी राज्यको अवधारणा लगायत विकासका थप पूर्वाधारको राम्रो स्थिति बसाले । त्यसै गरी चिनियाँ जनसाँस्कृतिक क्रान्तिद्वारा चीनले स्वतन्त्रता प्राप्त गरेपछि महान् चिनियाँ नेताहरु माओत्सेतुङ, देङ्शियाओ पिङ र चाउएनलाइ जस्ता युगपुरुषहरुको नेतृत्वमा चीनले सफलता प्राप्त ग¥यो । आज चीनले गरेको आर्थिक विकासको बृद्धिदर विश्वमै सबैभन्दा बढी छ । यसो हुनुमा पनि चीनमा युवा जनशक्तिको सही परिचालन नै हो । त्यहाँ पनि नेतृत्वकै सफलताकै कुरा आउँछ ।

२००७ सालमा जनक्रान्तिद्वारा संसदीय प्रजातान्त्रिक युगमा प्रवेश गरेको नेपालले वि.सं. २०४६ को जनआन्दोलनद्वारा पुनः बहुदलीय शासन व्यवस्था प्राप्त ग¥यो । जनआन्दोलन पश्चात् २०४८ सालमा सम्पन्न पहिलो संसदीय आमनिर्वाचनमा नेपाली जनताको व्यापक समर्थनमा नेपाली काङ्ग्रेसले बहुमत प्राप्त ग¥यो, तर देशकै अशुभ व्यक्ति गिरिजाप्रसाद कोइरालाकै कारण बहुमत प्राप्त दलभित्रकै आन्तरिक कलहका कारण जननिर्वाचित सरकार विघटन हुन पुग्यो । देश, समाज र राष्ट्रको हित विपरित जननिर्वाचित संसद विघटनका कारण २०५१ सालपछिको राजनीतिक विकृतिले गर्दा आज निर्दोष नेपाली जनताले अझै पनि यो दुर्दिन भोगिरहनु परेको छ ।

कुनै पनि शासनव्यवस्थाले जनतालाई तीन कुराको प्रत्याभूति गरेको हुन्छ– पहिलो शान्तिसुरक्षा, दोस्रो आर्थिक विकास र तेस्रो सामाजिक न्यायजस्ता आधारभूत मानवीय पक्षमा सरकारले ध्यान केन्द्रित गरेको हुनुपर्छ, तर विगतका वर्षहरुमा जनताका समस्या समाधान गर्नेतर्फ कसैको पनि ध्यान गएन । जनआन्दोलन २ पछि पनि नेताहरुको नियत, चरित्र र संस्कारमा खासै सुधार हुन सकेन । देशले कहाँ गएर कस्तो निकास लिने हो त्यो पनि अझै अन्यौलकै स्थितिमा छ भने युवावर्ग त झनै कुहिरोको कागनै बनेको छ । नेताहरुको गलत चिन्तनका कारणले युवा–जनशक्ति झनै अराजक बन्दै गएको छ । देशनिर्माणको सुदुर र निकट भविष्यमा पनि युवावर्गको भूमिका अझ बढी प्रभावकारी रहन्छ ।

आज देशमा नीतिहीन नेतृत्व र गतिहीन गन्तव्यका कारण नेपालको संविधान २०७२ को कार्यान्वयन समेत समस्याको रुपमा रहेको छ ।
वस्तुत, राजनीति कुनै पनि देशको मुलनीति हो, तर नेपालमा यो नीति यति धेरै बदनाम भैसकेको छ, जसबाट नेपाली जनताले सुन्दर भविष्यको कल्पनासम्म गर्न छोडिसकेका छन् । राजनीतिले सम्मानजनक रुपमा सबै पक्षलाई माथि उठाउन सक्नु पर्छ, तर यहाँ नेतृत्व वर्गले देश र जनतामाथि घोडा चढेर निर्चोने काम मात्र गरिरहको छ । आज देशमा सङ्घीय लोकतन्त्र स्थापना भएको पनि एकदशक नाघिसकको छ तर नेपाली जनताको जीवनस्तर र देशको प्रगतिमा केही पनि सुधार हुन सकेको छैन । अहिले देशमा भ्रष्टाचार यति मौलाएको छ, जुन नेपालको इतिासमै कहिल्यै भएको थिएन, आज अरवौं अर्बको सङख्यामा भ्रष्टाचार हुने गरेको छ ।

के.पी. शर्मा ओलीको नेतृत्वमा रहेको गठवन्धन सरकार भ्रष्टाचारमा चुर्लुम्म डुवेको छ । त्यसलाई नियन्त्रण गर्ने बाटोमा सरकार हिडेको छैन । एउटा चाखलाग्दो तथ्य के भने, सन् १९६१ तिर दक्षिण कोरिया र नेपालको प्रतिव्यक्ति आय बराबर थियो, तर आज कोरियाको यावत विकासका साथै प्रतिव्यक्ति आय झण्डै ३० हजार अमेरिकी डलर पुगेको छ, प्रश्न उठछ यतिखेर नेपाल कहाँ छ ? आज ४० हजारभन्दा बढी नेपाली युवाहरु कोरियामा गएर त्यहाँको विकासको निमित्त रगत पसिमा भिजाएका छन्, कस्तो विडम्वना हो यो ? सरकारको सत्ता उन्मात र कोरा विनायोजनाको चर्को भाषणबाट आज जनता आक्रान्त बनेका छन् । एकल बहुमतको सरकार वा संयुक्त सरकार बने पनि निजी स्वार्थ पूरा गर्नमा नै राष्ट्रको सम्पूर्ण समय र स्रोत परिचालन भएको तथ्य सबै नेपाली जनतासामु घामजस्तै छर्लङ्ग भैसकेको छ । त्यसैले अब युवा जनशक्तिले विदेश–मोह छोडेर स्वदेशका लागि केही गर्न तात्नुपर्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्