सांसद मल्लद्वारा दलित दुलाहालाई दही अक्षता



राम धामी, डडेल्धुरा ।
सुदूरपश्चिम प्रदेश सभा सदस्य साँसद कर्णबहादुर मल्लले दहीअक्षतासहितको टिका लगाएर दलित दुलाहाको जन्ती प्रस्थान गराएका छन ।
सुदूरपश्चिमेली समाजमा उपल्लो जातीका ब्यक्तिले दलितलाई सकभर टिका नगलाउने र लाउनै परे पनि सुख्खा अबिर मात्रै लगाउने परम्परा तोडेर जातीय विभेदयुक्त सामाजिक संस्कारको अन्त्यगर्ने सन्देश प्रवाह गर्न साँसद मल्लले दही अक्षतासहितको टिका लगाएर दलित युवाको बिहे प्रस्थान गराएका हुन ।

शुक्रबार अमरगढी नगरपालिका–२ का दलित युवक सुरेश शार्कीको बिहेमा सहभागी भएका साँसद मल्लले परम्परा र संस्कारका नाममा जातीय विभेद समाजमा व्याप्त रहेकाले विभेदकारी संस्कारहरुको अन्त्य गरिनु आबश्यक रहेको बताए ।

सांसद मल्लले दहीअक्षता लगाएर दुलाहालाई आशिर्वाद दिएपछि नेपाल दलित संघ अमरगढी नगरसमितिका सभापतिसमेत रहेका शार्कीको बिहे शुक्रबारनै बैतडी प्रस्थान गरेको छ । नेपाली काँग्रेस डडेल्धुराका सभापतिसमेत रहेका साँसद मल्लले सामाजिक रुपमा व्याप्त जातीय विभेदको अन्त्यका लागि नेपाली काँग्रेस डडेल्धुराले आईतबार देखि गाँउ जागरण अभियानको थालनी गर्ने बताए ।

साँसद मल्लले दुलाहा शार्कीकै घरमा खाना खाएका थिए । गाँउ जागरण अभियानका क्रममा सामाजिक जागरणका लागि जातीय, लैगिंक विभेदबिरुद्ध व्यवहार परिवर्तन अभियान थालिने उनले जानकारी दिए । उनले ग्रामीण क्षेत्रमा व्याप्त बिभिन्न अन्धविश्वास बिरुद्ध नेपाली काँग्रेसका नेता कार्यकर्ताहरु मार्फत व्यवहार परिवर्तन अभियान थालिने बताए ।

प्रतिक्रिया दिनुहोस्