प्रहरीले ल्यायो अभद्र व्यवहार र हैरानी विरुद्धको एन्टी बुलिङ अभियान



काठमाडौं,

विद्यालय, क्याम्पस लगायतका शैक्षिक वातावरणमा हुन सक्ने सम्भावित अभद्र व्यवहार तथा हैरानी (School Bullying & Ragging) का घटनाहरु रोकथामका लागि नेपाल प्रहरीले “समुदाय-प्रहरी साझेदारी” अवधारणा अन्तर्गत नयाँ शैक्षिक सत्रलाई लक्षित गरी शुक्रबारदेखि शैक्षिक वातावरणमा हुन सक्ने अभद्र व्यवहार र हैरानी विरुद्धको अभियान (Anti-Ragging/Bullying Campaign) शुरु गरेको छ ।

प्रदेश स्तरीय सुरक्षा गोष्ठीको सिलसिलामा २ नम्बर प्रदेश जनकपुरमा रहनुभएका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले भिडियो कन्फेरेन्सको माध्यमबाट काठमाडौंको किष्ट कलेजमा आयोजित कार्यक्रमलाई सम्बोधन गरी राष्ट्रव्यापी रुपमा अभियान शुभारम्भ भएको घोषणा गर्नुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक खनालले समाजमा अपराध रोकथाम र नियन्त्रण गर्न तथा सुरक्षा सचेतना अभिवृद्धि गर्नको लागि समुदाय र प्रहरीको सहकार्य र साझेदारीको विकल्प नरहेको धारणा व्यक्त गर्नुभयो । सुरक्षित वातावरणमा मात्र बालबालिकाको शैक्षिक विकास सम्भव रहेको हुँदा शैक्षिक वातावरणमा हुने कुनै पनि प्रकारका अभद्र व्यवहार तथा हैरानीका सम्भावनालाई रोकथाम गरी बालबालिकाको सिकाई र विकासको आदर्श वातावरण तयार गर्नको लागि यो अभियान राष्ट्रव्यापी रुपमा सञ्चालन गरिएको विचार उहाँले व्यक्त गर्नुभयो ।

स्कुलभित्र र बाहिरको समेत वातावरण सुरक्षित बनाउन प्रहरीले कुनै पनि कसर बाँकी नराख्ने र यसको लागि प्राज्ञिक क्षेत्रसँग सहकार्य गरेर योजनाबद्ध रुपमा अगाडि बढने प्रतिवद्धता समेत उहाँले व्यक्त गर्नुभयो । प्रहरी महानिरीक्षक खनालले आफ्नो सम्बोधन पश्चात सहभागीहरुसँग अन्तरक्रिया समेत गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता/सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले समुदाय-प्रहरी साझेदारीको अवधारणा र विकासको औचित्यबारे प्रकाश पार्नुभएको थियो । पछिल्लो समयमा देखिएका अपराधको प्रवृत्तिको बारेमा चर्चा गर्दै उहाँले बढदै गइरहेको सामाजिक विचलन, विकृति र विसंगति सुरक्षा व्यवस्थापनको चुनौतिको रुपमा देखा परेको विचार व्यक्त गर्नुभयो ।

महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक बसन्त कुमार लामाले समुदाय र प्रहरीबीच भैरहेको साझेदारीका सकारात्मक पक्षहरुबारे चर्चा गर्दै प्रहरी-विद्यालय सम्पर्क कार्यक्रम र “Anti-Ragging/Bullying Campaign”  लाई सघन रुपमा कार्यान्वयन गर्ने र त्यसको लागि समुदायको सहयोगको अपरिहार्यताको बारेमा समेत प्रकाश पार्नुभएको थियो ।

विद्यालयहरुका प्रतिनिधिको रुपमा किष्ट कलेजका प्रिन्सिपल डम्मर सिंह ऐरले प्रहरीले सञ्चालन गर्न लागेको यस राष्ट्रिय अभियानको शुभारम्भ आफ्नो कलेजबाट भएको तथा यस्तो विशिष्ट कार्यक्रममा आफ्नो व्यस्तताका बाबजुद प्रहरी महानिरीक्षकज्यूले भिडियो कन्फेरेन्सको माध्यमबाट सम्बोधन गर्नुभएकोमा हार्दिक आभार प्रकट गर्नुभयो । यस अभियान र समग्रमा समुदाय-प्रहरी साझेदारी कार्यक्रमको कार्यान्वयनमा नेपाल प्रहरीसँग मिलेर निरन्तर योगदानको लागि तयार रहेको प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभयो ।

प्रहरी महानिरीक्षकको सचिवालयबाट प्रहरी बरिष्ठ उपरीक्षक उमेश प्रसाद जोशी समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा महानगरीय प्रहरी वृत्त, कमलपोखरीका प्रमुख रविन्द्रनाथ पौडेलले सहभागीहरुलाई स्वागत गर्दै कार्यक्रमको सम्बन्धमा प्राप्त उपलब्धिहरू र भावि कार्यक्रमहरुको बारेमा प्रस्तुतिकरण गर्नुभएको थियो ।

शैक्षिक वातावरणमा हुनसक्ने अभद्र व्यवहार र हैरानी विरुद्धको अभियान “Anti-Ragging/Bullying Campaign” कार्यान्वयनको लागि नेपाल प्रहरीले शैक्षिक सत्रको प्रारम्भमै बैशाख-ज्येष्ठ महिनाभर हरेक विद्यालयहरुमा पुगी समुदाय र विद्यालयहरु समेतको साझेदारीमा देहायका कार्यक्रमहरु सञ्चालन गर्नेछ:

  • विद्यालय/कलेज प्रशासन र प्रहरी-विद्यालय सम्पर्क समितिका सदस्य (छात्र, छात्रा) तथा कक्षागत मनिटरहरुको सक्रियता र साझेदारीमा जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गर्ने ।
  • सबै विद्यालय/कलेज (मेडिकल, ईञ्जिनियरिङ्ग अध्ययन संस्थाहरुमा समेत) का सूचनापाटीहरुमा प्रहरी प्रधान कार्यालयबाट निर्माण गरिएको जनचेतनामुलक पोष्टर टाँस्ने ।
  • विहानीको प्रार्थना सभामा स्वयं प्रहरीको उपस्थितिमा विद्यार्थीहरुबाट जनचेतनामुलक जानकारी बाचन गर्ने ।
  • अन्तरक्रियात्मक प्रवचनहरु सञ्चालन गर्ने ।
  • शिक्षक र अभिभावकहरुमा समेत पर्चा, पम्प्लेट वा समुदाय-प्रहरी साझेदारीको अवधारणाले निर्दिष्ट गरेका अन्य माध्यमहरुबाट सचेतना अभिवृद्धि गर्ने ।
  • छात्राहरु लक्षित हिंसा तथा साइबर अपराधको बारेमा समेत सचेतना अभिवृद्धि गर्ने ।

अन्तरक्रिया कार्यक्रममा विभिन्न विद्यालयका व्यवस्थापक तथा प्रधानाध्यापकहरु, समुदाय-प्रहरी साझेदारीका विभिन्न समितिहरुमा आवद्ध संस्थाहरुका प्रतिनिधिहरु तथा नागरिक समाजका सदस्यहरु, प्रहरी अधिकृतहरु, अभिभावकहरु तथा विद्यार्थीहरु समेतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्