भूकम्प आइसकेपछि दाताहरुसंग सहयोगको याचना गर्ने होइनः मेयर चिरीबाबु महर्जन



ललितपुर, ‘भूकम्पले कसैको ज्यान लिदैन, कमजोर संरचना भत्किंदा ज्यान जाने हो’ भन्ने नारा सहित ललितपुर महानगरपालिकाले चौथो भूकम्प स्मृति दिवस मनाएको छ । गोरखा भूकम्प २०७२ को सम्झनामा विहिबार महानगरपालिकाले स्मृतिसभा आयोजना गरेको हो । ललितपुर महानगरको वडा नं. ८ गुइटोलमा रहेको गुइत दोमार विपद व्यवस्थापन केन्द्रमा आयोजित कार्यक्रममा नेपाल र जापानको विपद व्यवस्थापन सम्बन्धि अनुभवहरुको आदानप्रदान समेत गरिएको हो।

चौथो भूकम्प स्मृतिसभालाई सम्बोधन गर्दै ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले भने,‘प्रत्येक पुस्ताले एउटा ठूलो भूकम्पको जोखिम व्यहोर्नु परेको छ, तसर्थ यसको जोखिम न्यूनिकरणका लागि समयमै सजकता र सावधानी अपनाउन हाम्रो संरचना राम्रो बनाउँ भन्ने ललितपुर महानगरको सुझाव छ।’ मेयर महर्जनले विपद व्यवस्थापन सम्बन्धि जापानी अनुभव र जापानले अवलम्बन गरेका राम्रा पक्षहरुलाई अनुशरण गर्दै ललितपुर महानगरपालिकाले विपद व्यवस्थापनका लागि आवश्यक कार्यहरु गर्ने वताए।

ललितपुर महानगरका मेयर महर्जनले भने, ‘भूकम्प आइसकेपछि दाताहरुसंग सहयोगको याचना गर्ने होइन, अहिलेदेखि नै त्यसका लागि अक्षय कोषको व्यवस्था गरेर आपत पर्दा त्यहीबाट उपयोग गर्ने नीति अवलम्बन गर्नु पर्छ ।’ ललितपुर महानगरपालिकाले प्रत्येक वडामा विपद व्यवस्थापनका लागि अक्षय कोष खडा गर्नका लागि सुरुवात गरेको पनि मेयर महर्जनले वताए।

मेयर महर्जनले पुल्चोकस्थित दमकल भएको स्थानमा ललितपुर महानगरको विपद् व्यवस्थापन महाशाखा स्थापन गर्ने वताए। उनले भने, ‘अहिले दमकल भएको ठाउँमा ललितपुर महानगरको विपद व्यवस्थापन महाशाखा स्थापना गर्ने छौं, त्यहाँ स्थापना नभएसम्मका लागि यो गुइत दोमार विपद व्यस्थापन केन्द्रमा नै ललितपुर महानगरको विपद व्यवस्थापन महाशाखा रहनेछ।’ त्यस्तै ललितपुर महानगरका प्रत्येक वडाहरुमा विपद व्यवस्थापन शाखा रहने पनि मेयर महर्जनले वताए।

निमित्त प्रमुख जिल्ला अधिकारी खिमराज भुषालले नेपाल हरेक कुराबाट जोखिममा रहेको वताए। निमित्त प्रजिअ भुषालले भने,‘नेपाल हरेक कुराबाट जोखिममा छ, तसर्थ सचेतना र जागरणका कार्यक्रमहरु अगाडि वढाएर जोखिमको क्षति न्यूनिकरणमा लाग्नुपर्छ।’ निमित्त प्रजिअ भुषालले सार्वजनिक जग्गाहरुको अतिक्रम बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै विपद व्यवस्थापनका लागि पनि यसको संरक्षणमा लाग्नुपर्ने वताए।

त्यसैगरी ज्यापू समाजका अध्यक्ष एवं पूर्वसभासद चन्द्र महर्जनले विपद व्यवस्थापनका लागि भण्डारण गरी राखिएका सामाग्रीहरु त्यस समयमा सहज रुपमा प्रयोग गर्न सक्ने वातावरण वनाउनुपर्ने वताए।

ललितपुर महानगरपालिकाका शहरी विकास सल्लाहकार प्रफुल्लमान सिंह प्रधानले १९९० सालको भूकम्पपछि कमजोर संरचनाहरु बन्न थालेका कारण समस्या आएको वताए। उनले भने, ‘१९९० सालको भूकम्पपछि कमजोर संरचनाहरु बन्न थाले त्यसकारण भूकम्पले धेरै क्षति गरायो, अव मजबुत संरचना बनाउने तीर ध्यान दिनुपर्छ।’

प्रधानले २०७२ सालको भूकम्पपछि परम्परागत शैलीमा संरचना निर्माण हुन छोडेकोमा चिन्ता व्यक्त गरे । उनले भने, ‘२०७२ सालको भूकम्पपछि परम्परागत शैलीमा संरचना निर्माण हुन छोडे सरकारको तीन लाखले मान्छेलाई लोभी बनायो, परम्परागत शैलीमै पनि भूकम्प प्रतिरोधी घरहरु निर्माण गर्न सकिन्छ।’

नेपाल रेडक्रस सोसाइटी ललितपुरका अध्यक्ष बाबुराजा महर्जनले योजना बनाएर विपद जोखिम न्यूनिकरणमा लाग्नुपर्ने वताए। उनले विपद जोखिम न्यूनिकरणका लािग नेपाल रेडक्रस सोसाइटी नै नेपाल सरकारको उत्कृट समन्वयकारी संस्था भएको दावी गरे ।

कार्यक्रममा जापानका हिगाशी मात्सुशिमा शहरका डेयुटी मेयर शु ओयामा र जाइका नेपालका वरिष्ठ प्रतिनिधि डा. कोजो नगामीले विपद व्यवस्थापन सम्बन्धि जापानी अनुभवहरु प्रस्तुत गरेका थिए।

प्रतिक्रिया दिनुहोस्