एमेच्योर कार्कीलाई व्यवसायिक उपाधि



काठमाडौं, (नेस)
एमेच्योर खेलाडी टंकबहादुर कार्कीले सुर्य नेपाल एनपीजीए टूर च्याम्पियनसिपमा बिहीबार उपाधि जितेका छन् ।

गोकर्ण गल्फ क्लबमा भएको सुर्य नेपाल गल्फ टूर २०१८–१९ अन्तर्गत आठौं प्रतियोगितामा कार्कीले कूल ४ अन्डर २ सय ८४ स्कोर जोड्दै उपाधि जितेका हुन् । उनले व्यवसायिक खेलाडी सन्जय लामामाथि ३ स्ट्रोकको अग्रता बनाएका थिए । लामाले अन्तिम दिन ४ अन्डर ६८ को सानदार स्कोर बनाए पनि उपाधिको लागि पर्याप्त भएन । जबकी विजेता कार्कीले १ अन्डर ७१ को स्कोर जोडेका थिए ।

कार्कीले १ लाख २० हजार को पहिलो पुरस्कार प्राप्त गर्न भने पाएनन् । व्यावसायिक गल्फ प्रतियोगितामा एमेच्योर खेलाडीलाई पुरस्कार रकम नदिने प्रावधान रहेको छ । यो पुरस्कार रकम दोस्रो भएका लामाले हात पारे । त्यस्तै प्रतियोगितामा भुवन नगरकोटी र दिनेश प्रजापतिले दोस्रो स्थानमा साझेदारी गरेका थिए । एमेच्योरतर्फ लामा नै पहिलो भए भने सुवास तामाङ उपविजेता घोषित भएका थिए ।

नेपाली गल्फको इतिहासमा एमेच्योर खेलाडीले व्यवसायिक उपाधि जितेको यो पाँचौं अवसर बनेको छ । यसअघि शिवराम श्रेष्ठले सन् २००५ मा नेपाल वेस्टर्न ओपन, रुपक आचार्यले सन् २०१० मा सुर्य नेपाल सेन्ट्रल ओपन र सन् २०१८ मा सुक्रबहादुर राईले सुर्य नेपाल इस्टर्न ओपन जितेका थिए ।

प्रतिक्रिया दिनुहोस्