नेकपालाई शुभकामना



सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी नेकपाले देशका ७७ वटै जिल्लामा अध्यक्ष र सचिव नियुक्त गरेको छ । पूर्वएमाले र माओवादी केन्द्रबीच भएको एकताको झन्डै २ वर्षपछि पार्टीले कम्तीमा जिल्ला तहसम्म आफ्नो संरचना बनाउन सफलता प्राप्त गरेको हो । जिल्ला कमिटीहरुमा पूर्वएमाले र माओवादीबीच भागवण्डा मिलाइएको छ । पूर्वएमालेलाई अध्यक्षको जिम्मेवारी दिइएको जिल्लामा पूर्वमाओवादी केन्द्रले सचिव पाएको छ भने पूर्वमाओवादी केन्द्रले अध्यक्ष पाउँदा एमालेको भागमा सचिव परेको छ । पार्टीको जिल्ला संरचना निर्माणसँगै पोलिटब्यूरो गठन र अन्य जनवर्गीय संगठनहरुको एकता टुंग्याइने नेकपाले बताएको छ ।

कम्युनिस्ट विचार माने पनि फरक पृष्ठभूमिबाट आएका पार्टीहरुबीचको एकता आफैंमा जटिल विषय थियो । दुई वर्षअघि हतारमा एकता गर्दा दुई पार्टीबीचका वैचारिक पक्षहरु मिल्न सकेका थिएनन् । खासगरी माओवादी केन्द्रले सञ्चालन गरेको सशस्त्र युद्धको औचित्यप्रति एमालेले प्रश्नचिन्ह उठाउँदै आएको थियो । सशस्त्र द्वन्द्व र त्यसपछि पनि देखिएका दुई पार्टीबीचको अन्तरद्वन्द्व एकता हुनासाथ निमिट्यान्न हुने स्थिति पनि थिएन । दुबै पार्टीका नेताहरुले एकअर्काप्रति शंंकाले हेर्ने प्रवृत्ति घोषित एकताले टुंग्याउन सकेको थिएन । पार्टीका दुई अध्यक्षहरु केपी शर्मा ओली र पुष्पकमल दाहालको जोडबलले धन्न पार्टीमा विद्रोहको अवस्था सृजना हुन पाएन । सतहमा देखिएका सबै कुराहरुलाई पार लगाउँदै कम्तीमा नेकपाले तल्लो तहसम्म एकीकरणको प्रयासको थालनी भने गर्न सक्यो ।

कम्युनिस्ट पार्टीको इतिहासमा अहिलेको यो उपलब्धि आफैंमा महत्वपूर्ण रहेको पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वीकारेको विषय हो । हो, नेपालका ऐतिहासिक परिवर्तनहरुमा वामपन्थी शक्तिको विशेष योगदान रहेको छ । त्यसो त, वामपन्थी शक्तिको भरमा मात्र नेपालका ठूला परिवर्तन सम्भव भएको होइन । नेपालको पुरानो लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस र वामपन्थी शक्तिहरुको सहकार्यमा नै नेपालले राजनीतिक उपलब्धि हासिल गरेको हो । २०४६ सालदेखि हालसम्मका सबैजसो परिपवर्तनमा अहिले प्रतिपक्षमा रहेको नेपाली कांग्रेसको भूमिका पनि उत्तिकै महत्वपूर्ण रहेको बिर्सन मिल्दैन ।

मुख्य कुरा, लोकतन्त्रमा दलहरुले राज्य हाँक्ने हो । जनताको मतमा विश्वास गर्ने पार्टीहरु कहिले जनताबाट अनुमोदित हुन्छन् र सत्तामा पुग्छन् भने जनताबाट त्यक्त हुँदा प्रतिपक्षमा पुग्ने वा अस्तित्वको लागि संघर्ष गर्नुपर्ने हुन्छ । सरकारले गर्ने राम्रा वा नराम्रा कामले नै अबको नेकपाको यात्रा तय गर्छ । देशले यति बेला आर्थिक सम्मृद्धि चाहेको छ । आर्थिक सम्मृद्धिको यात्रा गफले हैन, व्यवहारले निर्देशित हुन्छ । आफूले केही गर्न नसक्ने र दोष अर्काको टाउकोमा थुपरेर वा अमुक शत्रु देखाउँदै राजनीति गर्न थालियो भनेचाहिँ संगठनभित्रभित्रै मक्किन्छ भन्ने नेकपाले बुझ्नै पर्छ । अग्रगतिका लागि नेकपालाई शुभकामना ।
– सुशील पौडेल, काठमाडौं ।

श्रीलंकाको पीडामा मलहम लागोस्
लामो गृहयुद्धको चपेटामा परी एक दशकअघिदेखि तंग्रिँदै गरेको सार्क मुलुकको एउटा महत्वपूर्ण देश श्रीलंकाको राजधानी कोलम्बोलगायतका क्षेत्रमा गत आइतबार शृंखलाबद्ध बम विस्फोटका कारण सिंगो श्रीलंका यतिबेला शोकमा डुबेको छ । इसाई धर्मावलम्बीले ‘इस्टर सन्डे’ पर्व मनाइरहेका बेला भएको सांघातिक आक्रमणमा परी २९० जनाले ज्यान गुमाएको र ५०० भन्दा बढी व्यक्ति घाइते भएको बीबीसीले जनाएको छ । आक्रमणमा ३५ जना विदेशी नागरिकको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।

कोलम्बोको सुविधासम्पन्न तारे होटल, गिर्जाघरलगायतका स्थानमा शृंखलाबद्ध बम विस्फोटका कारण सुरक्षा चुनौती पनि बढाएको छ । यो मानवताविरोधी क्रूर अपराध हो । उक्त आतंकवादी घटनालाई लिएर सिंगो विश्वजगत्ले निन्दा एवम् भत्र्सना गरेको छ । यस किसिमका आपराधिक कार्यको जुनसुकै शब्दमा जसरी भत्र्सना गरे पनि त्यो कम नै हुन्छ । शोकको यस क्षणमा संयम अपनाउन नेताहरुले सर्वसाधारणमा आह्वान गरिरहेका छन् । पर्यटकीय आकर्षणको केन्द्र रहेको कोलम्बो सहरका सांग्रिला, किङ्सबरी, सिनमनजस्ता सुविधासम्पन्न होटलहरु र शहरहरुका गिर्जाघरमा भएको घटनामा हालसम्म कुनै आतंकवादी संगठनले जिम्मेवारी लिएको छैन । तर, श्रीलंकामा भएको यस्तो आततायी आक्रमण संगठित आपराधिक समूहले गराएकोमा कुनै शंका छैन । यस दुःखद घटनाले विश्वभरका जुनसुकै सरकारका लागि पनि पूर्ण सतर्कता अपनाउनुपर्ने सन्देश दिएको छ ।

श्रीलंकामा २५ वर्षसम्म तमिल पृथकतावादी समूहले शुरू गरेको गृहयुद्धले विकासको गति पक्रन सकेको थिएन । शान्त र सुन्दर टापुको उपमा पाएको श्रीलंका आन्तरिक द्वन्द्वले थिलथिलो भएको थियो । दश वर्षअघि तमिल पृथकतावादी लिट्टे समूहलाई परास्त गरेपश्चात् श्रीलंका शान्ति र समृद्धिको मार्गमा लम्किएको थियो । श्रीलंकाको जस्तै दशबर्से गृहयुद्धको चपेटामा परेको मुलुक नेपालले पनि सो आततायी घटनाबाट अवश्य पाठ सिक्नै पर्छ । बौद्धधर्मको कारण पनि श्रीलंकासँग नेपालको निकट सम्बन्ध रहिआएको छ । बुद्ध जन्मिएको देशका हामी सम्पूर्ण नेपाली श्रीलंकाको शोकमा स्तब्ध छौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पूर्ण देशवासीको तर्फबाट आफ्ना समकक्षी रनिल विक्रमासिंघेलाई पठाएको शोक सन्देशमा श्रीलंकामा भएको बम विस्फोटप्रति गहिरो दुःख व्यक्त गर्दै ‘मानवताविरोधी काम’ भनेका छन् ।

उनले निर्दोष सर्वसाधारणको मृत्युप्रति दुःखी भएको जनाएका छन् । प्रधानमन्त्री विक्रमासिंघेले टेलिभिजन सम्बोधनमा सो आक्रमणबारे प्राप्त पूर्वसूचनाका आधारमा सुरक्षा निकायले आफूलगायत अन्य मन्त्रीहरुलाई समेत जानकारी नदिइएको भन्दै सुरक्षा निकायमाथि कारबाहीको माग गरेका छन् । प्रधानमन्त्रीको उक्त भनाइले पनि सुरक्षा सतर्कताप्रति श्रीलंकाको सुरक्षा निकाय संवेदनशील नरहेको प्रस्ट हुन्छ ।

केही दशकअघि श्रीलंकामा तमिल र सिंघालीबीचको जातीय द्वन्द्वले भयावह रुप लिएको थियो, जसका कारण आर्थिक समृद्धिमा पछाडि थकेलिन पुग्यो । श्रीलंकाजस्तो बन्ने लक्ष्य लिएको सिंगापुरले विश्वलाई नै चकित पार्ने गरी विकासमा फड्को मा¥यो । अहिले नेपालजस्ता विकासशील मुलुकले सिंगापुरको सपना बोकेर आर्थिक समृद्धिको बाटोमा हिँडिरहेका छन् । आन्तरिक द्वन्द्व कति घातक रहेछ भन्ने दृष्टान्त श्रीलंकालाई हेरे पुग्छ ।

पृथकतावादी समूह लिट्टेबाट आजित भएका पक्षलाई केही त्राण दिए पनि युद्ध अपराधमा कारबाही हुनुपर्ने आवाज आजपर्यन्त उठिरहेकै छ । विगतमा द्वन्द्वका क्रममा भएका जनधनको क्षति र मानवअधिकारका विषयमा सत्य निरुपण भई नसक्दै अल्पसंख्यक समुदायमाथि भएको यो आक्रमणको रहस्य खुल्न सकेको छैन । यसले श्रीलंकामा द्वन्द्व समाधान भएको भनिए पनि द्वन्द्वका अवशेषहरु बाँकी नै रहेको देखाएको छ । यस विषयमा राजनीतिक नेतृत्वले शान्तिपूर्ण समाधानको विकल्प खोज्नुपर्छ । आतंकको कुनै जात, धर्म र सीमा हुँदैन । यो आततायी घटनाबाट श्रीलंकामात्र होइन, हाम्रो देशको सरकारले पनि पाठ सिकेर सुरक्षा प्रबन्धमा कुनै कसर बाँकी राख्नुहुँदैन ।
– बसुन्धरा गौतम, पर्वत ।

प्रतिक्रिया दिनुहोस्