भूकम्पले ढलेका २२ हजार घर बन्नै बाँकी



हेटौंडा ।
मकवानपुरमा २०७२ वैशाख १२ गतेको भुकम्पका कारण ढलेका घरमध्ये ११ हजार ६ सय ८५ वटा घरमात्र पुनर्निर्माण भएका छन् । जिल्लामा पहिचान भएका पूर्णक्षतिमा परेका लाभग्राही ३४ हजार २ सय ८९ परिवार छन् । तर, अधिकांश परिवारले घर पुनर्निर्माण गरिसकेका छैनन् ।

भुकम्पले घर ढलेका कारण धेरै परिवार अझै भत्किएको घरटहरामा बस्दै आएका छन् । तर, विभिन्न कारण घर पुनर्निर्माणको काम सक्न बाँकी छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत् जिल्ला आयोजना कार्यान्वयन एकाईं मकवानपुरको आयोजनामा चौथो गोरखा भुकम्प स्मृति कार्यक्रममा यसबारे जानकारी गराइएको हो ।

२२ हजार ६ सय ४ परिवारले घर पुनर्निर्माण गर्न बाँकी छ । ढलेका घरमध्ये २७ हजार ६ सय ५ परिवारले मात्र घर पुनर्निर्माण सम्झौता गरेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत् जिल्ला आयोजना कार्यान्वयन एकाईं मकवानपुरका इञ्जिनियर ललितकुमार चौधरीले बताउनुभयो ।

२६ हजार ९ सय ३५ परिवारलाई पहिलो किस्ता
भुकम्पका कारण ढलेका घरपरिवारमध्ये २६ हजार ९ सय ३५ परिवारले मात्र पहिलो किस्ता लिएका छन् । ६ सय ७० परिवारले पहिलो किस्तासमेत प्राप्त गर्न बाँकी रहेको उहाँले बताउनुभयो ।
दोस्रो किस्ताका लागि प्रमाणित गरिएका लाभग्राही २० हजार १ सय २६ परिवार छन् । तेस्रो किस्ताका लागि प्रमाणीकरण भएका लाभग्राही १५ हजार १ सय २८ परिवार र तेस्रो किस्तासमेत प्राप्त गर्ने परिवार १४ हजार २ सय ९४ छन् ।

१२ हजार ८ सय घर प्रवलीकरण
मकवानपुरमा भुकम्पले थोरै भत्किएका र प्रवलीकरण गर्नुपर्ने घर १२ हजार ८ सय ६८ छन् । तीमध्ये प्रवलीकरण सम्झौता भने ६ हजार २ सय ६२ परिवारले गरेका छन् । प्रवलीकरणपछि पहिलो किस्ता लिने ६ हजार ८३ जना छन् । पूर्णरुपमा क्षतिमा नपरेका घरको प्रवलीकरण गरिँदै आएको इञ्जिनियर चौधरीले बताउनुभयो ।

मापदण्डविपरीत घर प्रमाणीकरण
मकवानपुरमा भुकम्पपछि मापदण्डविपरीत तरिकाले घर पुनर्निर्माण भएका छन् । गाउँटोलमा पुनर्निर्माण प्राधिकरणका प्राविधिक पुगे वा नपुगे पनि भुकम्पपीडितले आफूखुसी घर निर्माण गरेका छन् । तर, मापदण्डविपरीत बनेका २ हजार ५ सय २० घर पनि प्रमाणीकरण गरिएका हुन् ।

कोही भुकम्पपीडित परिवारकहाँ प्राविधिक नगएपछि लाभग्राही आफैंले घर निर्माण गरेपछि समस्या भएको छ । यस्ता ८३ वटा घरहरु प्रमाणीकरण हुन बाँकी छन् । मकवानपुरमा जोखिम क्षेत्रमा परेका भुकम्पपीडित भने ६ सय २७ परिवार छन् ।

पुनर्निर्माणमा ८ अर्ब ९ करोड
मकवानपुरमा पुनर्निर्माणको क्षेत्रमा ८ अर्ब ९ करोड ६८ लाख ८० हजार रुपियाँ खर्च भएको छ । सबभन्दा बढी निजी आवास निर्माण क्षेत्रमा रकम खर्च गरिएको हो । निजी आवासका लागि अनुदान बितरणबाट ५ अर्ब ७० करोड ५० हजार रुपियाँ खर्च भएको छ ।

ठूलो रकम खर्च भए पनि भुकम्पले ढलेका घर निर्माणमा भने त्यति प्रगति भएको छैन । भुकम्पपीडित परिवार, जिल्ला आयोजना कार्यान्वयन एकाईं लगायत कारण घर पुनर्निर्माण दु्रतगतिमा अगाडि बढ्न सकेको छैन ।

पुनर्निर्माणअन्तर्गत् विद्यालय निर्माण क्षेत्रमा २ अर्ब २९ करोड ८४ लाख ८० हजार रुपियाँ खर्च भएको छ । घरेलु तथा साना उद्योग कार्यालय निर्माणमा २ करोड २१ लाख खर्च भएको जिल्ला आयोजना कार्यान्वयन एकाईं मकवानपुरका इञ्जिनियर चौधरीले बताउनुभयो । पुनर्निर्माणअन्तर्गत् सडक निर्माण क्षेत्रमा ६ करोड ६५ लाख ५० हजार खर्च भएको छ ।

प्रतिक्रिया दिनुहोस्