चार वर्षमा ३० प्रतिशत मात्र घर बने   



चितवन,  भूकम्प गएको चार वर्ष पुग्दैगर्दा घरविहीन भएका ३० प्रतिशतको मात्र नयाँ घर बनेका छन् । विसं २०७२ वैशाख १२ गते गएको भूकम्पका कारण जिल्लाका सात हजार ३३५ घर पूर्णरूपमा क्षति भएका थिए । तीमध्ये दुई हजार २१५ घर मात्रै बन्न भ्याएका छन् ।

भूकम्पबाट क्षति भएका घर निर्माण गर्दै आएको राष्ट्रिय पुनःनिर्माण प्राधिकरणको जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयका अनुसार घर निर्माणले गति लिनसकेको छैन ।

कार्यालयका इञ्जिनीयर सुजन नेपालका अनुसार जिल्लामा रहेका लाभग्राहीमध्ये पहिलो किस्ता सम्झौता गर्नेमा पाँच हजार ८१० घरधुरी रहेका छन् । उनीहरुले पहिलो किस्तावापतको रु ५० हजार लगिसकेका छन् । यस्तै पहिलो किस्ता लानेमध्ये तीन हजार ८४२ घरधुरीले दोस्रो किस्तावापतको रु एक लाख ५० हजार लगेका छन् । तेस्रो किस्तावापत लाभग्राहीलाई सरकारले निर्माणको काम सम्पन्न प्रमाणित भइसकेपछि रु एक लाख दिने प्रावधान बनाएको छ ।

जिल्लामा विसं २०७४ साउनमा कार्यालय स्थापना भएको भए पनि प्राविधिकहरु पुसबाट मात्रै कार्यक्षेत्रमा आएका कारण कामलाई चुस्त बनाउन नसकिएको नेपालले बताउनुभयो । प्राविधिक कार्यक्षेत्रमा जानुअगाडि नै प्राधिकरणको मापदण्डविपरीत घर बनाउनु, वन क्षेत्रमा रहेका लाभग्राही र ऐलानी जग्गामा रहेका घरधुरीको विषयमा सरकारले निर्णय गर्न ढिलाइ गर्नुले कामलाई प्रभावकारी रुपमा अघि बढाउन नसकेको उहाँले जानकारी दिनुभयो ।

विसं.२०७२ मा आएको बिनाशकारी भूकम्पका कारण जिल्लामा ५९३ घरधुरी आङ्शिकरूपमा क्षति भएका थिए । तीमध्ये ४३१ ले मात्र पहिलो किस्ता सम्झौता गरेको भए पनि दोस्रो किस्ताका लागि कोही नआएको उहाँले जानकारी दिनुभयो ।

पुनःनिर्माण प्राधिकरणले गुनासो सुनुवाइका लागि आवेदन माग गरेको समयमा जिल्लाबाट छ हजार १८ उजुरी परेका थिए । परेका उजुरीमाथि गाँउमा गएर अनुगमन गर्ने काम भइरहेको छ । कार्यालयले जिल्लामा प्रभावकारी रूपमा काम गर्ने तीन वडालाई सम्मानका लागि प्राधिकरणमा सिफारिशसमेत गरेको छ । सम्मानका लागि छानिएका वडा सबै इच्छाकामना गाउँपालिकाका रहेका छन् । गाउँपालिकाको वडा नं १, ३ र ४ सम्मानका लागि छनोट भएको नेपालले बताउनुभयो ।
रासस

प्रतिक्रिया दिनुहोस्