गण्डकी प्रदेशलाई नवौं राष्ट्रिय खेलकुदको जिम्मा



कविरस शर्मा, बांके ।
गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजनाको जिम्मा पाएको छ ।

योसंगै २०७७ फागुन २० देखि २७ गते सम्म हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशले आयोजना गर्ने भएको छ । गण्डकी प्रदेशले विभिन्न स्थानमा भव्यताका साथ सम्पन्न गर्नेगरी उक्त जिम्मा लिएको राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिएका छन् ।

राखेपले बुधबार बोर्ड बैठक बसेर नवौं राष्ट्रिय खेलकुद आयोजना गर्ने आयोजक प्रदेशको टुंगो लगाएको हो । सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पूर्वाञ्चलमा हुँदा नै गण्डकी प्रदेशले आयोजना गर्ने दाबी गरेको थियो । तर प्रदेश ५ ले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्ने र नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशलाई दिने सहमति भएको थियो ।

आठौं राष्ट्रिय खेलकुद भने प्रदेश नम्बर ५ मा आज समापन हुँदैछ । पुरुष फुटबल अन्तर्गत नेपाल प्रहरी र नेपाल आर्मीबीच हुने फाइनल खेल लगत्तै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन कार्यक्रम सुरु गरिनेछ । आज हुने सोही समापन कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिम्मेवारी गण्डकी प्रदेशलाई सुम्पिने तय भएको राष्ट्रिय खेलकुद परिषद्ले जानकारी दिएको हो । राष्ट्रिय खेलकुद हरेक २ वर्षको अन्तरालमा हुने गरेको छ ।

बुधवार उपराष्ट्रपति नन्दबहादुर पुनले आठौंको समापन गरेसँगै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको झण्डा गन्डकी प्रदेश खेलकुद विकास समितिका अध्यक्ष सम्पन्न श्रेष्ठ र राष्ट्रिय खेलकूद परिषदका केन्द्रिय सदस्य राजेश गुरुङ्गलाई हस्तान्तरण गरिनेछ ।

आठौं राष्ट्रिय खेलकुद आज सम्पन्न हुँदै

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको समापन आज सांझ हुदैछ । गत बैसाख ५ गते औपचारिक रुपमा उद्घघाटन भएको प्रतियोगिताका सबै खेल आज सम्पन्न हुदैछ । बेलुका ५ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले प्रतियोगिताको समापन गर्ने कार्यक्रम रहेको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ । यसअघि प्रधानमन्त्री केपी शर्मा ओलीले समापन गर्ने बताइए पनि कार्यव्यस्तताका कारण सहभागी हुन नसक्ने भएपछि उपराष्ट्रपतिलाई समापनमा बोलाइएको छ ।

नेपालगन्ज रंगशालामा उपराष्ट्रपति पुनले समापन गरेसँगै आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता सकिने छ । यस्तै नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको जिम्मेवारी हस्तान्तरण गर्ने कार्यक्रम पनि रहेको छ ।

प्रतिक्रिया दिनुहोस्