अनुदानको सोलार शिक्षक र व्यापारीलाई, विपन्न परिवारले छुन समेत पाएनन्



हिक्मत नेपाली, दैलेख ।

दुर्गम गाउँका दलित, गरिब तथा विपन्न परिवारका लागि अनुदानमा आएको सोलार यहाँका शिक्षक, व्यापारी र विद्यतु सेवा पुगेकै घरपरिवारहरुलाई वितरण गरिएको छ । दैलेखको डुङ्गेश्वर गाउँपालिकाले अनुदानको सोलार (घरेलु सौर्य विद्यतु प्रणाली) शिक्षक, व्यापारी र विद्युत सेवा पुगेका घरपरिवारहरुलाई वितरण गरेको हो ।

गाउँपालिकाले वडा नं. २ लाँकुरीको सिरसैनीका २५ जनालाई सोलार वितरण गरिसकेको भरपाईमा उल्लेख छ । गाउँपालिकाले अनुदानमा दिएको सोलार पाउनेमा सरकारी विद्यालयमा पढाउने शिक्षक देखि व्यापारी तथा विद्युत सेवा उपभोग गरिरहेका घरपरिवारहरु परेका छन् । डुङ्गेश्वर गाउँपालिका वडा नंं. २ का डम्बर बहादुर ओलीले अनुदानमा सोलार पाएका छन् ।

उनका छोरा नेपाली सेनामा कार्यरत छन् । गाउँपालिकाले शिक्षक तथा नेपाली काँग्रेसका वडा सभापति समेत रहेका नेत्र बहादुर वली र उनका श्रीमती मायादेवी वलीलाई समेत अनुदानमा निशुल्क सोलार उपलब्ध गराएको छ । सोहि ठाउँकी उमा गुरुङ्गले पनि अनुदानमा सोलार पाएकी छिन् । उनि नेपाली काँग्रेसका कोषाध्याक्ष हुन् भने श्रीमान नेपाली सेनाका जागिरे छन् ।

अनुदानमा वितरण गरिएको सोलार पाउनेहरुको विवरणमा याम बहादुर विष्ट, टोप बहादुर वली, दिपक कुमार वली, टंक बहादुर वलीको नाम समेत छ । विष्टको विद्युत सेवा पुगेको देउली बजारमा घर छ भने श्रीमती सरकारी शिक्षक हुन् । यहाँको देउली बजारमा ३ वटा पसल संचालन गर्दै आएका टोप बहादुर वलीले अनुदानमा सोलार पाएका छन् भने सरकारी शिक्षक दिपक कुमार वलीले समेत अनुदानमा सोलार पाएका छन् ।

यस्तै देउली बजारका व्यापारी टंक बहादुर वलीलाई समेत गाउँपालिकाले अनुदानमा निशुल्क सोलार उपलब्ध गराएका छ । डुङ्गेश्वर गाउँपालिका र नारायण बहुउदेश्यीय सहकारी दैलेखको साझेदारीमा दलित तथा विपन्न गरिब परिवारलाई ६० प्रतिशत अनुदानमा गाउँपालिकाले ४० प्रतिशत ब्यहोरेर निशुल्क सोलार वितरण गरिएको थियो ।

विद्युत पुगेकै ठाउँमा अनुदानको सोलार

डुङ्गेश्वर गाउँपालिका र नारायण बहुउदेश्यीय सहकारी दैलेख विच भएको द्धिपक्षिय सम्झौतामा बैकल्पीक उर्जा प्रर्वद्धन केन्द्र उर्जा क्षेत्र सहयोग कार्यक्रम अन्तरगर्त रहि विद्युत नपुगेको स्थानका दलित, गरिब तथा विपन्न परिवारलाई प्राथमिकतामा राखेर ५० देखि ५५ वाटको सोलार उपलब्ध गराउने उल्लेख गरिएको छ । तर गाउँपालिका र सहकारी संस्था बीच भएको सम्झौतालाई मिचेर विद्युत पुगेको ठाउँका नागरिकहरुलाई अनुदानमा निशुल्क सोलार बाँडिएको छ ।

सम्झौतामा हालसम्म पनि विजुली बत्ती वा सोलार जडान नभएको घरधुरीलाई विशेष ग्राहयता दिनुपर्ने उल्लेख छ । निशुल्क सोलार पाएकै स्थानमा एक बर्ष अघि डुङ्गेश्वर गाउँपालिका वडा नं. २ ले पेल्टी सेट संचालनमा ल्याएको थियो ।

आर्थीक बर्ष २०७४/०७५ मा वडा कार्यालयबाट २ लाख २५ हजारको पेल्टीसेट वितरण गरिएको डुङ्गेश्वर गाउँपालिका–२ का वडाध्यक्ष राजु कुमार खत्रीले बताउनुभयो । ‘अहिले गाउँपालिकाको कार्यालयबाट वडा कार्यालयसंग कुनै पनि समन्वय नगरी अनुदानको निशुल्क सोलार (घरेलु सौर्य विद्यतु प्रणाली) बाँडिएका घरपरिवारलाई गत बर्ष हामीले पेल्टीसेट वितरण गरेका हौ,’ वडाध्यक्ष खत्रीले भन्नुभयो ‘अनुदानमा सोलार दिएको स्थानामा लद्यु जलविद्युत आयोजना समेत संचालनमा छ ।’अनुदानको निशुल्क सोलार पाएका सात घरपरिवारले पेल्टीसेटको विद्युत उपभोग गरिरहेको वडाध्यक्ष खत्रीको भनाई छ ।

‘अनुदानको निशुल्क वितरण गरिएको सोलार पाउनेहरुको भर्पाइमा सिरसैनीमा स्थायी बसोबास गर्ने उल्लेख गरिएको छ तर विद्युत सेवा पुगेको देउली बजार, सेर्माकोट, लाँकुरी र तिर्कुलेका नागरिकहरुले सोलार पाएका छन्,’ उहाँले भन्नुभयो ‘दलित, गरिब तथा विपन्न परिवारलाई अनुदानमा निशुल्क सोलार बाँडिएको भनिएपनि ६ घरपरिवार दलित परेका छन्, अरु सबै सरकारी जागिरे, राजनीतिक दलका नेता, व्यापारीहरु छन् ।’

वडा कार्यालयसंग कुनै पनि समन्वय र सहकार्य नगरी सोलार वितरण गरेको भन्दै वडाध्यक्ष खत्रीले आपत्ती जनाए । गाउँपालिका र नारायण बहुउदेश्यीय सहकारी दैलेखको मिलेमत्तोमा यस्तो भएको उहाँको आरोप छ । उहाँले सोलारको नाममा राजनीति नगर्न आग्रह समेत गर्नुभयो । यसबारे बैकल्पीक उर्जा प्रर्वद्धन केन्द्र उर्जा क्षेत्र सहयोग कार्यक्रमले निष्पक्ष छानवीन गर्नुपर्ने वडाध्यक्ष खत्रीको भनाई छ ।

यता डुङ्गेश्वर गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर मल्लले गाउँपालिका भरिका ५० घरपरिवारलाई अनुदानमा निशुल्क सोलार वितरण गर्ने कार्यक्रम अनुसार वडा नं. २ मा २५ वटा सोलार (घरेलु सौर्य विद्यतु प्रणाली) वितरण गरिएको बताउनुभयो ।

‘गाउँपालिकाको समपुरक कोषबाट अर्थमन्त्रालयको कार्यविधि अनुसार हाम्रो क्षेत्राधित्रकार भित्र रहेर काम गरेका हौ,’ अध्यक्ष मल्लले भने ‘ज–जसले अनुदानमा निशुल्क सोलार पाएपनि ती सबै गाउँपालिकाकै नागरिक हुन् ।’

प्रतिक्रिया दिनुहोस्