सुप विश्वविद्यालयमा तालाबन्दीको असरः सिनेट बैठक र तलब निकासा ठप्प



मनोज भट्ट, महेन्द्रनगर ।
लगातारको दुई सातादेखि सुदूर पश्चिमाञ्चल विश्वविद्यालयको केन्द्रीय कार्यालयमा लागेको तालाबन्दीले कायम–मुकायम उपकूलपतिले बसाउने ‘सिनेट’ बैठक प्रभावित भएको छ ।

गत २३ चैत्रमा कायम–मुकायम उपकूलपतिको नियुक्ति पाएका विज्ञान तथा प्रविधि संकायका डीन पुर्णबहादुर चन्दले तालाबन्दीका कारण काम गर्ने वातावरणमा असहजता भएको बताए ।

नेपाल विद्यार्थी संघले २७ चैत्रमा तालाबन्दी गरेपछि कायम–मुकायम उपकूलपति र रजिस्ट्रारले कार्य सम्पादन गर्ने वातावरण पाएका छैनन् । विश्वविद्यालयमा पछिल्लो ६ महिना यता उपकूलपति भूषण श्रेष्ठ र रजिस्ट्रार द्विजराज भट्टले आर्थिक, नैतीक र प्रशासनिक अनियमितता गरेको आरोपमा दुई छानबिन समिति गठन गरेर छानबिनको प्रकृयामा रहेका छन् । उनिहरुलाई कूलपतिले ‘सिनेट’ बाट सफाई अर्थात कारबाही नहुन्जेल सम्मका लागि तीन महिना अघि पदबाट हटाएको थियो ।

‘सिनेट’ बैठक बसाउनकन लागि सम्बन्धित उच्च पदस्थ व्यक्तिको आवश्यकता पर्ने भएकोले कूलपति अर्थात प्रधानमन्त्री कार्यालयले पुर्णबहादुर चन्द र गोविन्द बिष्टलाई क्रमसः कायम–मुकायम उपकूलपति र रजिस्ट्रार पदमा नियुक्त गरेको हो ।

विश्वविद्यालयका १४ ओटा आंगिक क्याम्पसका ३३४ शिक्षक तथा कर्मचारीलाई १० महिनादेखिको तलब खुवाउँनु कायम–मुकायम उपकूलपति चन्द र रजिस्ट्रार बिष्टको पहिलो दायित्व हुनजान्छ ।

आंगिक क्याम्पस र केन्द्रीय क्याम्पसका शिक्षक तथा कर्मचारीका लागि विश्वविद्यालय अनुदान आयोगबाट तलब बाफतको रकम निकासा समेत भइसकेको छ । तर केन्द्रीय कार्यालयमा लगाइएको तालाबन्दीले गर्दा आंगिक र केन्द्रीय क्याम्पसका शिक्षक कर्मचारीलाई तलब खुवाउनमा ढिलाई हुँदै गएको उपकूलपति चन्दले बताए ।

केन्द्रीय कार्यालयमा लगाइएको तालाले खाता परिवर्तन गर्नमा समेत असहज भएको चन्दले बताए । ‘मैले नेविसंघका विद्यार्थीहरु संग पनि कुरा गरे, तर यो आदेश पार्टीबाट नै भएकोले पार्टीकै नेताहरुलाई नै भट्नु पर्ने बताए । मैले पार्टी नेत्तृत्वलाई भेटेको पनि छु, उनिहरुले पनि विद्यार्थीहरु संग नै बसेर वार्ता गर्नुपर्ने बताए पछि, म अझै पनि वार्ताकै चरणमा छु ।’

विश्वविद्यालयमा हुँने गरेका विद्यार्थी संघ–संगठनका साना, ठुला माग र तालाबन्दीमा प्रत्यक्ष र अप्रत्यक्ष रुपमा सम्बन्धित पार्टीको दबाव हुँने गरेको पाइन्छ ।

विद्यार्थी संघ–संगठनहरुले विद्यार्थीको निस्वार्थ हितकै लागि कहित्यै पनि आन्दोलन र तालाबन्दीका कार्यक्रम नगरेको सुप विश्वविद्यालयका एकजना जानकार बताउँछन् । पार्टीको दबाव र व्यक्तिगत स्वार्थका लागि धेरैपटकका आन्दोलन, तालाबन्दी र विभिन्न रिले अनसनहरु गरिएको विश्वविद्यालयमा लामो समयदेखि अध्यापन गराउँदै आएका एक जना प्राध्यापकले बताए ।

‘सिनेट’ कहिले बस्छ ?

सुदूर पश्चिमाञ्चल विश्वविद्यालमा उपकूलपति र रजिस्ट्रार जिम्मेवारी बिहिन भएपछि कायम–मुकायम उपकूलपतिले ‘सिनेट’ सञ्चालन गर्नु पर्ने हुन्छ । उक्त सिनेटमा छानबिन समितिले तयार पारेको प्रतिवेदनमाथी कूलपति, सहकूलपति, कुलपति लगायत सदस्य सचिव‘रजिस्ट्रार’को टोलीले छलफल गरेर जिम्मेवारी खोसिएका उपकूलपति श्रेष्ठ र रजिस्ट्रार भट्टलाई सफाई र बर्खास्त गर्न सक्ने छ ।

तालाबन्दीले गर्दा सिनेट बसाउन समेत समस्या भएको छ । जिम्मेवारी बिहिन गरिएका उपकूलपति श्रेष्ठको यहि भदैमा कार्यकाल सकिदै भने रजिस्ट्रार भट्टको अझै एक वर्ष बाँकि रहेको छ । जेठ महिनाको पहिलो साता भित्र नै सिनेट बैठक बस्ने वातावरण बनाउँनमा लागि परेको कायम–मुकायम उपकूलपति चन्दले बताए ।

प्रतिक्रिया दिनुहोस्