संगीतकार मदनको अमेरिकामा निधन



संगीतकार मदन दीपबिमको निधन भएको छ।
झस्केर दुख्छ यो मुटु मेरो, सुरिलो रुख सल्लै हो, के भुल भयो प्रिया, तिम्रै यादमा कल्पी कल्पी, कोही जिन्दगी यो कर्कलाको पानीजस्तै हो जस्ता दर्जनौं लोकप्रिय गीतका संगीत सर्जक दीपबिमको अमेरिकाको सनफ्रान्सिस्कोमा निधन भएको हो। उनको सोमबार बिहान १ बजेर ५३ मिनेटमा सानम्याटियो अस्पतालमा उपचारका क्रममा निधन भएको बताइएको छ। प्राप्त जानकारीअनुसार उनको हृदयघातबाट निधन भएको हो। एक महिनाअघि क्यालिफोर्नियाको एक मन्दिरमा भजन गाएर घर फर्किने क्रममा मदन बेहोस भएका थिए।

गीत रचनासमेत गर्दै आएका मदनले १५ सयभन्दा बढी गीतमा संगीत सिर्जना गरेका छन् भने दर्जनौं गीत लोकप्रिय छन्। उनले आफ्नो जमानाका थुप्रै गायक गायिका तथा गीतका लागि संगीत सिर्जना गरेका थिए। उनकी छोरी ममता दीपबिम पनि गायिका हुन्। ममताले मदनकै संगीतमा गाएको सुरिलो रुख सल्लै हो लोकप्रिय छ। बुबा संगीतमा लागेर पारिवारिक अवस्था नसुध्रिएको भन्दै गायिका ममता पेसा नै परिवर्तन गरी अमेरिकातिर लागेकी थिइन्। पछिल्लो समय संगीतकार तथा गीतकार मदनदीप पनि परिवारका साथ अमेरिकामा नै रह“दै आएका थिए। ७० वर्षीय संगीतकार मदनको परिवारमा श्रीमती शिवा बस्नेत र छोरी ममता दीपबिम छन्।

प्रतिक्रिया दिनुहोस्