आर्मि र पुलिस स्वर्णका लागि भिड्ने



कुमार श्रेष्ठ, बाँके
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत पुरुष फुटबलमा त्रिभुवन आर्मी क्लव र नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेका छन् । ५ नम्बर प्रदेशलाई ट्राइबेकरमा ३–१ गोलले पराजित गर्दै आर्मी फाइनलमा पुगेको हो भने प्रहरीले एपीएफलाई २–१ गोलले पराजित ग¥यो ।

स्ट्राइकरसहित ६ जना नेपाली राष्ट्रिय फुटबल टीमका खेलाडी रहेको आर्मीलाई ५ नम्बर प्रदेशसँग जीत निकाल सहज भने भएन । प्रदेश ५ का दिपेन्द्रसिंह ठकुरीको आत्मघाती गोलबाट आर्मीले अग्रता लिएको थियो । २०औं मिनेटमा आर्मीका भरत खवासलाई रोक्ने क्रममा ठकुरीले आत्मघाती गोल गरेका थिए । आर्मीले ३१औं मिनेटमा दीपकुमार लामाको गोलबाट अग्रता फराकिलो बनाएको थियो ।

दुई गोलले अगाडि भएपछि ‘डिफेन्स’ खेलेको आर्मीलाई ५ नम्बर प्रदेशले दबाबमा राखेको थियो । आर्मीले आक्रमक खेल्न छोड्ने बित्तिकै प्रदेश ५ का खेलाडीले एकोहोरो दबाब बढाएका थिए । त्यसक्रममा दोस्रो हाफको ३३ मिनेटमा प्रदेश ५ ले पेनाल्टी पायो । त्यसलाई विनोद केसीले सदुपयोग गरे । ३५ मिनेटमा फेरि प्रदेश ५ का विवेक पुनलाई डीएरियाभित्र आर्मीका खेलाडीले फाउल ग¥यो । दोस्रो पटक पाएको पेनाल्टीलाई पनि विनोदले गोलमा परिणत गरे । निर्धारित समयमा खेल बराबरी भयो ।

खेलको निर्णय ट्राइबेकरबाट लिइयो । ट्राइबेकरमा प्रदेश ५ का खेलाडीमा अनुभवको कमी देखियो । आर्मीका पाँचमध्ये तीन जनाले गोल गरे । नवयुग श्रेष्ठ, सन्तोष तामाङ र विवेक बस्नेतले गोल गरेका थिए । दीपक गुरुङ र जितेन्द्र कार्कीले गोल गर्न सकेनन् ।

प्रदेशबाट कृष्ण रानाभाटले मात्रै गोल गरे । दिपेन्द्रसिंह ठकुरी, चेतन थारु र विवेक पुनले गोल गर्न सकेनन् । प्रदेश ५ का गोलकिपर प्रितम खड्काले आर्मीका दीपकले हानेको बल बचाएपछि प्रदेश ५ लाई अग्रता लिने मौका थियो । त्यसलाई दिपेन्द्रले खेर फाले । त्यसपछि कप्तान चेतनले नै गोल गर्न नसकेपछि आर्मीले अग्रता बनायो र खेल जित्यो ।

आर्मीबाट नेपाली राष्ट्रिय टीमका स्ट्राइकर नवयुग श्रेष्ठ, भरत खवास, किपर विकेस कुथु, सन्तोष तामाङ, टंक बस्नेत, सुमन अर्याल, यु–२३ का सेसान्क लिम्बु र विकास खवासमात्रै होइन, राष्ट्रिय जर्सी लगाइसकेका टेकबहादुर बुढाथोकी र जितेन्द्र कार्की मैदानमा उत्रिएका थिए । लगातार खेल र गर्मीले गर्दा आर्मीका नवयुव, विमल पाण्डे, युद्ध शाही, सुशील श्रीवास्तव र टंकबहादुर बुढाथोकी बिरामी छन् । दोस्रो हाफमा खेल लड्बडाएपछि र ५ नम्बर प्रदेशले दबाब दाबेपछि आर्मीका प्रशिक्षक नविन न्यौपानेले नवयुगलाई मैदानमा उतारेका थिए ।

आर्मीका प्रशिक्षक न्यौपानेले पहिलो हाफमा धेरै राम्रो खेलेपनि दोस्रो हाफमा ‘इजी’ खेल्दा खेल खाएको बताए । ‘हामीले गोल गर्ने चान्स धेरै पाएको हो । त्यसलाई सदुपयोग गर्न नसक्दा खेलको निर्णय ट्राइबेकरबाट लिनु प¥यो, प्रशिक्षक न्यौपानेले भने, लगातार खेल र गर्मीका कारण धेरै खेलाडीहरु बिरामी भएकाले स्वभाविक खेल हुन सकेको छैन ।’

समूह खमा रहेको आर्मी उपविजेता हुँदै सेमिफाइनलमा पुगेको थियो । टोलीले लिगचरणमा सुदूरपश्चिम प्रदेशसँग बराबरी खेलेको थियो भने पुलिससँग १–० गोलले पराजित भएको थियो ।

लिगचरणमा एउटा पनि खेल नहारी समूह कको विजेता हुँदै सेमिफाइनलमा पुगेको ५ नम्बर प्रदेश जितको नजिक पुगेर पनि निराश भएको छ । प्रशिक्षक सानु तामाङले खेलाडीमा अनुभवको कमीले गर्दा लिड गर्ने अवसर पाउँदा पनि ट्राइबेकरमा गोल गर्न नसक्दा पराजित भएको बताए । ‘निर्धारित समयमा आर्मीलाई बराबरीमा रोकेर हाम्रो खेलाडीले धेरै राम्रो खेले । यसबाट म सन्तुष्ट छु, प्रशिक्षक तामाङले भने, जीतको नजिक पुगेर पनि हार्दा दुःख लागेको छ ।’

नेपालगञ्ज रंगशालालाई आधुनिक बनाइएपछि भएको पहिलो फुटबल खेलमा धेरै खेलाडी चिप्लिएका थिए । नेपालमै पहिलो पटक लगाइएको बर्मुडा घाँसमा खेलाडीहरु चिप्लिएका थिए । ‘यस्तो राम्रो मैदानमा फुटबल खेलेको अनुभव नै थिएन । पहिलो पटक खेल्दा खेलाडीहरु धेरै चिप्लिए, प्रदेश ५ का प्रशिक्षक तामाङले भने ।

अर्को खेलमा पुलिसले नेपाल एपीएफ क्लबलाई २–१ गोलले पराजित गरेको छ । पुलिसका रवि पासवानले नवौं मिनेटमा गोल गरेर टीमलाई अग्रता दिलाएका थिए । ३३औं मिनेटमा तेज तामाङले अर्को गोल थपे । ७१औं मिनेटमा एपीएफका आशिष लामाले एक गोल फर्काए । अग्रता लिएपछि प्रहरीले डिफेन्स खेल्दा एपीएफले राम्रो खेल्ने मौका पाएको थियो ।
पुलिसका प्रशिक्षक अनन्तराज थापाले पहिला नै दुई गोल गरेपछि सहज तरिकाले खेलेको बताए । ‘अझै गोल हुनु पथ्र्यो । पहिला नै दुई गोलको अग्रता भएपछि डिफेन्सिफ खेल्यौ । किपरको गल्ती गर्दा एक गोल खायौ, ।

सुस्मिताद्वारा स्नेहाको कीर्तिमान तोडियो
प्रदेश ३ की सुस्मिता नेपालले आठौंअन्तर्गत महिला शुटिङको १० मिटर एयर राइफलमा नयाँ राष्ट्रिय कीर्तिमान रचेकी छन् । सुस्मिताले २ सय ४० पूर्णाङकमा २ सय ३४ अंक जोड्दै यसअघि स्नेहा राज्यलक्ष्मी राणाले राखेको कीर्तिमान भंग गरिन् । स्नेहाले राखेप च्याम्पियनसिपमा २ सय ३३ अंकको राष्ट्रिय कीर्तिमान राखेकी थिइन् । रजत पदक आर्मीकी कल्पना परियार (२२७अंक) र पुलिसकी अस्मिता राई (२०३ अंक) ले कांश्य पदक जितेका थिए ।

नेपालगन्ज रंगशालाको सुटिङ रेन्जमा भएको सोही स्पर्धाको पुरुषतर्फ प्रदेश ५ का अर्नव घिमिरेले स्वर्ण हासिल गरे । उनले पूर्णाङ्क २ सय ४० अंकमा २ सय १६ अंक जोडे । २ सय १४ अंक जोडेका पुलिसका हरिबहादुर थापाले रजत र १ सय ९६ अंकसहित आर्मीका सुशे चौधरी कांश्य पदक हासिल गरका थिए ।

तेक्वान्दोमा पुलिसकै धाक
भैरहवामा भएको आठौंअन्तर्गत तेक्वान्दोमा नेपाल पुलिस क्लबले ११ स्वर्ण हात पारेर धाक जमाएको छ । पुलिस ३ रजत र ३ कांस्यसहित कूल १७ पदक जित्दै तेक्वान्दो तर्फ उत्कृष्ट टोली समेत बन्यो । प्रतियोगितामा आर्मीले ६ स्वर्ण ४ रजत र ७ काश्यसहित कूल १४ पदक जितेर दोस्रो भयो । तेस्रो भएको अर्को बिभागिय टिम एपिएफले २ स्वर्ण, ७ रजत र ५ काश्य सहित कूल १४ पदक प्राप्त गरेको छ ।

स्वर्णका बाकी दुई पदक प्रदेश १ र प्रदेश ५ ले प्राप्त गरेका छन् । प्रदेश १ ले १ स्वर्ण, ३ रजत र ५ काश्य गरी कुल ९ पदक सहित चौथो स्थानमा रहदा प्रदेश ५ले १ स्वर्ण, १ रजत र ३ काश्य सहित ५ पदक जिति पाचौ स्थानमा रहे । त्यस्तै प्रदेश २ले १ रजत र ४ काश्य, प्रदेश ३ ले १ रजत ६ काश्य, सुदुर पश्चिमले १ रजत ३ काश्य र गण्डकी प्रदेशले ४ काश्य जित्न सफल भए । प्रतियोगितामा बेष्ट फाईटर पुरुष तर्फ आर्मीका सक्षम कार्कि र महिलातर्फ पुलिसकी रेजिना कार्की घोषित भएका छन् ।

उसुमा आर्मी पहिलो

आठौंअन्तर्गत १४औं राष्ट्रिय उसुमा आर्मीले सर्वाधिक १४ स्वर्ण जितेको छ । आर्मीले थप १ रजत र ३ कांस्य पनि जित्यो । एपीएफले ५ स्वर्ण, ८ रजत र ५ कांस्य हात पा¥यो । प्रहरीले २ स्वर्ण, १ रजत र ५ कांस्य प्राप्त ग¥यो । २२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी १ स्वर्ण कर्णाली प्रदेशले हासिल ग¥यो ।

उसुको अन्तिम मंगलबार थाउलोमा २ तथा सान्सौंमा ६ गरी ८ स्पर्धाका फाइनल भए । थाउलोको महिला चियन सु÷छियाङ सुमा एपीएफकी कविता थापा मगर पहिलो भइन् । कविताले १८.०५ अंक जोडिन् । सुदूरपश्चिम प्रदेशकी अलिसा खाती दोश्रो तथा आर्मीकी मुना शिरिष मगर तेश्रो भए । पुरुष ताव सु÷कुन सुमा आर्मीका विश्व बुढा मगरले स्वर्ण जिते । उनले १८.९ अंक जोडे । एपीएफका कुमार सिन्जाली दोश्रो तथा प्रदेश ५ का राजिव तामाङ तेश्रो भए ।

सान्सौंको महिला ५२ केजीमा आर्मीकी एलिना चौधरीले सुदूर प्रदेशकी गौरी घर्ती मगर, ५६ केजीमा प्रहरीकी जुनी राईले एपीएफकी कमला बोहरा तथा ६० केजीमा आर्मीकी लुमन्ति श्रेष्ठले एपीएफकी निशा विकलाई फाइनलमा पराजित गर्दै पहिलो भए ।

महिला ६५ केजीमा एपीएफकी मनीषा रावतले प्रहरीकी पूजा गुप्ता, ७० केजीमा आर्मीकी विन्दु पुन मगरले प्रदेश १ की तनुजा सुन्दास र ७५ केजीमा आर्मीकी शिलु डंगोलले गण्डकीकी अनिशा आले मगरलाई फाइनलमा पाखा लगाउदै स्वर्ण जिते ।

खो खोमा आर्मीको क्लिन स्विप
आठौंअन्तर्गत राष्ट्रिय खो खोको पुरुष÷महिला दुवैमा च्याम्पियन बनेर आर्मीले क्लिन स्विप गरेको छ । बर्दियाको भुरीगाउँमा भएको पुरुष फाइनलमा आर्मीले प्रदेश ५ लाई १५–१४ ले पराजित ग¥यो । तेश्रो स्थानका लागि भएको खेलमा प्रदेश २ ले प्रदेश ३ लाई ९–७ ले हरायो ।
महिलाको उपाधि भिडन्तमा आर्मीले प्रदेश ५ माथि ९–८ को कठिन जित दर्ता ग¥यो । सुदूरपश्चिमले प्रदेश ३ लाई १२–९ ले पाखा लगाउदै तेश्रो भयो । प्रतियोगिताको पुरुष÷दुवैमा सातै प्रदेश आर्मी र एपीएफ गरी ९–९ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

ह्यान्डबल: गण्डकी र आर्मी च्याम्पियन
आठौंअन्तर्गत राष्ट्रिय ह्यान्डबलको पुरुषमा गण्डकी र महिलामा आर्मी च्याम्पियन बनेका छन् । दुवै फाइनलमा एपीएफले हार बेहोरेको छ । नेपालगन्ज रंगशालामा भएको पुरुष फाइनलमा गण्डकीले एपीएफलाई ३७–३३ ले पराजित ग¥यो । गण्डकीका सन्तोष श्रेष्ठले सर्वाधिक १६ गोल गरे । एपीएफका लोकेन्द्र चन्द र सन्दिप कार्कीले १०–१० गोल गरे । आर्मीले प्रदेश ३ लाई ४२–२४ हराउदै तेश्रो स्थानमा चित्त बुझायो ।

महिला फाइनलमा आर्मीले एपीएफलाई १७–१४ ले पाखा लगायो । आर्मीकी कविता राईले ८ गोल गरिन् । एपीएफबाट साधना बमले ४ गोल गरिन् । गण्डकीले प्रदेश १ लाई ७–५ गोलले पन्छ्याउदै तेश्रो भयो ।

आठौंमा बनेका अधकल्चो संरचनाको चिन्ता
नेपालगञ्जका मेयर धवलशमशेर राणाले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत निर्माण भएका भौतिक संरचनाको संरक्षण र अधकल्चो रहेका संरचनाको भविष्यबारेमा चिन्ता गरेका छन् ।

आठौंको रिपोर्टिङ गर्न देशभरबाट नेपालगञ्ज आएका पत्रकारसँग कुरा गर्दै मेयर राणाले नेपालगञ्जको रंगशालामा रोपिएको बर्मुडा घाँस र पौडी पोखरीको भविष्यबारेमा चिन्ता गरेका हुन् । ‘चर्को गर्मीमा बर्मुडाको घाँसको अवस्था के होला ? त्यसमा नियमित पानी हाल्नु पर्छ । त्यो कसले गर्ला ?’ मेयर राणाको चिन्ता थियो, पौडी पोखरी पूर्णरुपमा बनिसकेको छैन । आठौंपछि यसको भविष्य के होला ?’

मेयर राणाले राखेपले आवश्यक ठानेमा आफूले खेलकुदका भौतिक संरचनाको संरक्षण गर्न तयार रहेको बताए ।

आठौंलाई लक्षित गरी बाँकेमा ५० करोडबढीको संरचना बनेका छन् । नेपालगञ्ज रंगशालामा बर्मुडा घाँससहितको फुटबल मैदान, भीआइपी प्यारापिट, कभर्डहल, सुटिङ रेञ्ज, भारोत्तोलन एकेडेमी, पौडीपोखरी बनेका छन् । कारकादोमा जुडो हल, खजुरामा भलिबल एकेडेमी, कोहलपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा लगानी आठौंका उपहार हुन् ।

नेपालगञ्ज नगरभित्र करोडौको खर्चमा बनेका भौतिक संरचनाको संरक्षण र बन्दै गरेका संरचना पूरा हुन्छन् कि हुँदैनन् भन्ने आम नगरवासीको कान ठाडो पारिरहेको बेलामा मेयरले पनि चासो राखेका छन् ।

खेलकुद पृष्ठभूमिकै मान्छे भन्दै मेयर राणाले नेपालगञ्जलाई खेलाडीको शहर घोषणा गरेर अघि बढ्न चाहेको बताए । नेपालगञ्जले अहिलेसम्म तीन जना ओलम्पियन जन्माएको छ । सुटिङमा अनिता श्रेष्ठ र पार्वती थापा तथा भारोत्तोलनमा सुरेन्द्र हमाल नेपालगञ्ज निवासी ओलम्पियन हुन् ।

नेपालगञ्जमा राष्ट्रिय÷अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताहरु भइरहेका छन् । प्रधानमन्त्री कप महिला भलिबल, नेपालगञ्ज गोल्डकप, नेपालगञ्ज म्याराथन, नेपालगञ्ज साइकिलिङ यहाँ हुने ठूलो खेलकुद प्रतियोगिता हुन् । मेयर राणाले यी सबै प्रतियोगितालाई नगरले अपनत्व लिदै सक्दो सहयोग गरिरहेको बताए ।

बाँके जिल्ला फुटबल संघले धम्बोझीमा वडा कार्यालयसँग मिलेर फुटबल एकेडेमीको अवधारणा अघि सारेको छ । फुटबल मैदान तयार पारेर ग्रासरुट फुटबल तालिम दिने काम भइरहेको छ । मेयर राणाले यसले पनि नेपालगञ्जलाई खेलाडीको शहर बनाउने अभियानमा ठूलो टेवा पु¥याउने बताए । खेलाडीको शहर भनिरहदा यहाँबाट दुई जना खेलाडीको आत्मकथा पनि आइसकेको छ । ओलम्पियन सुरेन्द्र हमाल र क्रिकेटका पूर्वकप्तान एलबी क्षेत्रको आत्मकथा प्रकाशन भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्