जताततै सुन फलोस्



जमना पनि कस्तो कस्तो आउँछ भन्या स्याउमा सुन फल्न थाल्यो । काठमाडौँकै छेउ रसुवा त्यही देखियो । ३३ किलो सुन कता हराएछ भनेको त सात किलो रसुवाको स्याउमा फल्न गएछ ।

अब बाँकी २६ किलो सुन कता हरायो कुन्नि ? सायद त्यो पनि स्याउ नै या केही न केहीमा त फल्न गयो होला । कुनै आँपमा कुनै सुन्तलामा कुनै अनारमा कुनै अंगुरमा कुनै अरु केहीमा ! उखाने बाले आफ्नो पालामा कोही रुनै पर्दैन, हाँसेरमात्रै बसे पुग्छ भन्थे । हाँस्दा हाँस्दा आन्द्रा छिनेपछि त्यही आन्द्रोलाई चाहिने खाने कुरा नै चाहिदैन भन्ने उनको मनसाय होला ।

त्यही जानेर न त ल्याएका रहेछन् त समृद्ध नेपाल सुखी नेपालीको नारा । वास्तवमा उखाने बालाई अब ज्योतिष बाजे पनि भन्नुपर्छ भन्ने धरहराको आजको एकल इजलासको ठहर छ । स्याउ त अल्लि माथिकाको मात्र पहुँच पुग्ने फलफुल भयो क्या ! अब सर्वसाधारणको पहुँच पुग्न सक्ने काँक्रो, फर्सी, लौका, मूला, टमाटर, सागसब्जी आदिमै सुन फल्नुपर्छ । यसो भए पो समृद्ध नेपाल सुखी नेपालीको नाराले छिटो पूर्णता पाउँछ क्या !

प्रतिक्रिया दिनुहोस्