शैलुङ्ग अब देशकै पर्यटकीय गन्तव्यस्थल !



मधुसूदन रायमाझी
शैलुङ्ग क्षेत्रको विकास गर्ने मुख्य उदेश्य सहित प्रथम शैलुङ्ग महोत्सवको आयोजना गरिएको छ । शैलुङ्गलाई देशकै प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने लक्ष्यको साथ यही वैशाक १३, १४ र १५ गते शैलुङ्ग महोत्सवको आयोजना गरिएको हो । ऐतिहासि, धार्मिक, सांस्कृतिक र प्राकृतिक रुपमा धनी भएपनि शैलुङ्गमा विकासको गति अगाडि बढन सकेको छैन् । शैलुङ्ग क्षेत्रको विकासमा दोरम्बा गाउँपालिकाले सक्रियता देखाएको छ ।

साथै महोत्सवमा दोलखाका मेलुङ्ग र शैलुङ्ग गाउँपालिकाले पनि साथ दिएका छन् । तीन वटा गाउँपालिकाको संयुक्त आयोजनामा रामेछाप र दोलखाको संगमस्थल शैलुङ्गमा ‘शैलुङ्ग सांस्कृतिक तथा प्राकृतिक पर्यटन’ महोत्वसको आयोजना गरिएको हो । दोरम्बा गाउँपालिकाले महोत्सवको लागि झण्डै ८० लाख खर्च हुने अनुमान गरेको छ । महोत्सवको लागि मेलुङ्ग र शैलुङ्ग गाउँपालिकाले पाँच÷पाँच लाख सहयोग गरेका छन् ।

महोत्सवको व्यवस्थापन भने दोरम्बा गाउँपालिकाले गर्नेछ । दोरम्बा गाउँपालिका प्रवक्ता अम्बिका प्रसाद गजुरेलले पर्यटन प्रर्बद्धन गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको बताउनुभयो । दोरम्बा गाउँपालिकाले महोत्सव गर्नको लागि करिब ८० लाख लाग्ने अनुमान गरेको छ । शैलुङ्गको विकासको लागि तीन नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलको पहलमा करिब एक करोड रुपैयाँ गुरु योजना निर्माणको लागि बजेट पनि विनियोजन भएको छ ।

रामेछाप र दोलखाको संगमलस्थल सैलुङ प्राकृतिक एवं धार्मिक पर्यटकीय गन्तव्य हो । समुन्द्री सतहबाट ३१४८ फिट उचाइमा रहेको शैलुङ्ग राजधानी काठमाडौंबाट १४१ किलोमिटर दुरीमा रहेको छ । शैलुङ्गको आकर्षण प्राकृतिक दृष्यावलोकन र धार्मिक आस्थाको केन्द्र हो । शैलुङ्ग हिन्दु र बौद्ध धर्मालम्बीहरुको आस्थाको केन्द्र पनि हो । शैलुङ्गबाट आफैमा प्राकृतिक जैविक विविधताले भरिपूर्ण धार्मिक, सांस्कृतिक, पर्यकीयस्थलको रुपमा रहेको छ ।

शैलुङ्गको आफ्नै मौलिकता छ । प्राकृतिक रुपमा धनी शैलुङ्गको आकर्षण बनेको छ, धार्मिक पर्यटन । शैलुङ्गको विकास गर्न र नेपालकै प्रमुख पर्यटकीय गन्तव्यको रुपमा परिचित गराउनको लागि रामेछापको दोरम्बा गाउँपालिकाको पहलमा प्रथम शैलुङ्ग महोत्सवको आयोजना गरिएको छ । दोरम्बा गाउँपालिकाको अभियानमा दोलखाको शैलुङ्ग र मेलुङ गाउँपालिकाले पनि साथ दिएका छन् । रामेछाप र दोलखाले सैलुङ्गको विकासमा साझा धारणा सहित अगाडि बढने प्रतिबद्धता तीन गाउँपालिकाले गरेका छन् ।

शैलुङ्गको अवलोकन भ्रमणको लागि आउने÷जाने पर्यटकहरुको लागि मुडे, चरिकोट, तामाकोसी, देवीटार मिल्ती, मन्थली सित्खा नेपालकोथक चारैतिरबाट सडक सञ्जालले जोडिएको छ । दोलखा र रामेछापको दुवै क्षेत्रबाट शैलुङ्ग पुग्न सकिन्छ । शैलुङ्गको खोलाखर्क र दोलखाको ढुंगेमा बास बसेर पनि बिहानको सूर्योदय हेर्न सकिन्छ ।


आदिवासी जनजाति पर्यटन पदमार्ग सिन्धुपाल्चोकको मुडे हुँदै दोलखाको मागादेउराली, ढुंगे हुँदै शैलुङ्ग खोलाखर्क, पर्यटन गन्तव्य गाउँ दोरम्बा हुँदै नेपालथोकसम्म ७ दिनको पदयात्रा सञ्चालन भइसकेको छ । जुन पदयात्रा विदेशी पर्यटकहरुको आकर्षणको केन्द्र बनेको छ । शैलुङ्ग जानको लागि मुख्यगरी तीन वटा नाकाहरु प्रमुख रुपमा रहेका छन् । राजधानी काठमाडौंबाट बिपी राजमार्गको नेपालकोक, सित्खा सुनकोसीको नदी पार गर्दै धार्मिकस्थल खाँडादेवी मन्दिर अग्लेश्वर महादेव पर्यटन गन्तव्य गाउँ दोरम्बा हुँदै शैलुङ्ग । दोस्रो उत्तरी क्षेत्र सिन्धुपाल्चोकको मुडे मागादेउराली हुँदै ढुंगे बजारबाट शैलुङ्ग र तेस्रो सालुखुम्बु, जिरीबाट आउने पर्यटकहरु मन्थली, भैसे, गोठपानी हुँदै शैलुङ्ग पुग्न सक्छन् ।

महोत्सवको उदेश्यः
–शैलुङ्ग क्षेत्रका सांस्कृतिक, धार्मिक र प्राकृतिक पर्यटकीय आकर्षणहरुको प्रबद्र्धन गर्ने ।

–शैलुङ्ग क्षेत्रमा रहेको सांस्कृतिक, प्राकृतिक, कृषि र पर्यटनको विकास गरी आयआर्जन अभिवृद्धि गर्ने ।

–शैलुङ्ग क्षेत्रको पर्यटन सम्भावनाका बारेमा स्थानीय समुदाय स्थानीय सरकार पर्यटन व्यवसायीहरुलाई अवगत गराउने ।

–शैलुङ्ग क्षेत्रको दीर्घकालिन विकासको लागि सरोकारवाला सम्बन्धित निकायहरुलाई सहभागी गराई बहस गर्ने ।

शैलुङ्ग क्षेत्रका प्रमुख विशेषताहरुः
–सय भन्दाबढी संख्याका अति आकर्षक थुम्काहरु ।

–गुरुपद्म सम्भवले ५ बर्ष ध्यान गरेको स्थल ।

–धौलागिरीदेखि मकालु हिमालसम्मको हिमश्रंखलाको दृश्यावलोकन गर्न सकिने स्थल ।

–शेर्पा, तामाङ, थामी, नेवार, मगर लगायतका जनजातिहरुको सांस्कृति र रीतिरिवाज ।

–महाभारत क्षेत्रको एक प्रमुख उच्च पहाडी रमणीय स्थल ।

–फागुनदेखि वैशाकसम्म विभिन्न थरीका लालीगुराँस ढाकिएको मनमोहक दृष्यवालोकन गर्न सकिने ।

–असारबाट असोजसम्म घाँसे मैदानको हरियाली जहाँ ढकमक फुलहरुको दृष्य अवलोकन गर्न सकिने ।

–मंसिरदेखि माघसम्म हिउ पर्ने भएकाले हिउ खेल्ने गन्तव्य स्थल ।

–शैलुङ्ग प्रवेशमागमा थुप्रै धार्मिकस्थ्लहरुको दर्शन गर्न सकिने

– पर्यटन गन्तव्य गाउँ दोरम्बा घोषणा भएको स्थल ।

 

शैलुङ्ग क्षेत्रमा पर्यटन प्रबद्र्धनको लक्ष्यः
–पर्यटन प्रबद्र्धन कार्यक्रम अन्तर्गत समग्र शैलुङ्गको विस्तृत प्रोजेक्ट रिपोर्ट (डिपिआर) सहितको प्याकज तयार गरेर अगाडि बढने ।

–शैलुङ्ग जडिबुटी संकलन, एवं प्रशोधन केन्द्रको स्थापना गर्ने ।

–शैलुङ्ग क्षेत्रमा कृषि प्रवद्र्धन कार्यक्रम सञ्चालन गर्ने ।

–धार्मिक पर्यटन प्रबद्र्धन कार्यक्रम अन्तर्गत मन्दिर, गुम्बा लगायत धार्मिकस्थलहरुको व्यवस्थापन र संरक्षण गर्दै प्रचारप्रसार गर्ने

–शैलुङ्ग क्षेत्रमा चौरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न चौरी प्रबद्र्धन कार्यक्रम सञ्चालन गर्ने ।

–पर्यटन गन्तव्य गाउँ दोरम्बालाई योजना सहित व्यवस्थापन गरेर पर्यटक प्रबद्र्धन गर्ने ।

–मुडे मागादेउराली, ढुंगे कालापानी, शैलुङ्गसम्मको यात्रा तथा पर्यटकीय गन्तव्यलाई मध्यनजर गरी प्याकेजसहितको थप कार्यक्रम तय गर्ने ।

–देशभरका जनप्रतिनिधिहरुलाई शैलुङ्गको अवलोकन गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने ।

‘सित्खाबाट शैलुङ्गसम्म केबलकार पु¥याउँछौ’


कैलाश ढुंगेल
आर्थिक मामिला तथा योजनामन्त्री –प्रदेश नम्बर ३
शैलुङ्ग हाम्रो सम्पदा हो । नेपालका धेरै महत्वपूर्ण उच्चस्थलको रुपमा शैलुङ्ग रहेको छ । शैलुङ्ग धार्मिक आस्थाको धरोहर हो । अमुल्य सम्पत्ती हो । रामेछाप र दोलखाको संगमस्थलमा रहेको शैलुङ्ग रमणीयस्थलको रुपमा परिचित छ । शैलुङ्गसँगै रामेछापको पहिचान पनि जोडिएको छ ।

जसरी रामेछाप तीनलालको जिल्लाको रुपमा चिनिदै आएको छ । त्यसैगरी रामेछाप शैलुङ्गको पनि पहिचान हो । देशकै प्रमुख पर्यटकीयस्थलको रुपमा विकास गर्न सकिने राम्रो गन्तव्य हो । विगतमा शैलुङ्गको विकास गर्न सकिएन । हामीले अहिले समग्र शैलुङ्गलाई विकास गर्ने खाका बनाइरहेका छौं । विशेषगरी प्रदेश सरकारले शैलुङ्ग विकास कार्यक्रम भनेर पर्यटनसँग जोडिएका धेरै कार्यक्रम ल्याएको छ ।

शैलुङ्ग राजधानी काठमाडौंबाट पनि नजिक पर्छ । शैलुङ्गबाट मौसम खुलेको बेला काठमाडौं नै निकाल्न सकिने महत्वपूर्ण स्थल हो । आन्तरिक एवं बाह्य पर्यटकलाई शैलुङ्गसम्म सहज रुपमा पु¥याउन राकाथुम गाल्वा हुँदै शैलुङ्ग पुग्ने सडक निर्माण गर्दैछौं । प्रदेश सरकारले सुनकोसीस्थित सित्खा खाँडादेवी मन्दिर हुँदै अग्लेश्वरबाट दोरम्बा हुँदै शैलुङ्गसम्म केबलकार लैजाने काम अगाडि बढाएका छ । जहाँबाट आन्तरिक एवं बाह्य पर्यटकले सहज रुपमा शैलुङ्ग पुग्न सक्छन् ।

सित्खाबाट खोलाखर्कसम्म केबलकार पु¥याउन सम्भाव्यताको अध्ययनको काम अगाडि बढेको छ । सर्भे र डिजाइनको काम गर्दैछौं । जनताको सहभागीतमा, निजी क्षेत्रलाई सहभागी गराउनुको साथै सहकारीलाई पनि सहभागी गराएर केबलकारको काम अगाडि बढछ । मेरो कार्यकालमा शैलुङ्गसम्म पिच सडक र केबलकार दुवै पुग्छ ।

शैलुङ्गको विकास गर्न सकेको खण्डमा त्यस क्षेत्रको आर्थिक जीवनस्थर उठाउन महत्वपूर्ण भूमिका खेल्न सक्छ । दोरम्बा, शैलुङ्ग र मेलुङ गाउँपालिकाले पनि शैलुङ्गको विकासका लागि लाग्नु पर्छ । प्रदेश सरकारले एक करोड बजेट यस आर्थिक बर्षमा विनियोजन गरेको छ । शैलुङ्ग हिन्दु र बौद्ध धर्मालम्बीहरुको संगमस्थल पनि हो । शैलुङ्ग विदेशी पर्यटकको पनि आकर्षणको केन्द्र हो । शैलुङ्गको विकास गर्न हामीले नीति तथा कार्यक्रम नै बनाएका छौं । प्रथम शैलुङ्ग महोत्सव मार्फत राष्ट्रिय रुपमा मात्र नभई अन्तर्राष्ट्रि क्षेत्रमा पनि थप प्रचारप्रसार गर्ने उदेश्य लिएका छौं । शैलुङ्गको गुरु योजना बनाएरै काम गछौं । शैलुङ्गका वातावरणलाई बचाउने,प्राकृतिक सौन्दर्यतालाई कही कतै खलबल नपु¥याउने गरी गुरु योजना बनाउनेछौं । हिमालयपछिको महत्वपूर्ण गन्तव्यस्थलको रुपमा शैलुङ्गको विकास गर्न सक्छौ । हामी स्थानीय स्रोत पनि लगाउछौं । आन्तरिक स्रोतबाट पनि शैलुङ्गलाई मुस्कान दिने काम गछौं ।

स्थानीय सरकारले शैलुङ्गलाई शीरमा राखेर अगाडि बढनु पर्छ । शैलुङ्गको सम्पदालाई केन्द्र भागमा राखेर कार्यक्रम सहित अगाडि बढनु पर्छ । प्रदेश सरकारले त्यो अभियानमा साथ र सहयोग गर्छ । शैलुङ्ग क्षेत्रमा राम्रो आलु खेती हुन्छ । चौरीपालन मार्फत आम्दानी गर्न सकिने र पर्यटन पनि आकर्षण गर्न सकिने भएकाले प्रदेश सरकारले चौरी विशेष कार्यक्रम राखेको छ । शैलुङ्ग यस्तो गन्तव्य हो जहाँ चौरीसँगै वन्यजन्तु रमाउछन । आन्तरिक एवं बाह्य पर्यटक झन रमाउछन । शैलुङ्गमा पुग्दा जो कोही पनि आन्नदित हुने गरेका छन् । देशको प्रमुख पर्यटकीयस्थल मध्ये शैलुङ्गलाई पनि पाछौं । शैलुङ्ग खानेपानीको मुख्य स्रोत पनि हो ।

पर्यटन प्रबद्र्धनलाई मुख्य उदेश्य बनाएका छौं


कमानसिंह मोक्तान
अधयक्ष,दोरम्बा गाउँपालिका–रामेछाप
शैलुङ्गको क्षेत्रको विकास गर्ने मुख्य उदेश्यले महोत्सवको आयोजना गरिएको हो । शैलुङ्गको समग्र विकास निर्माणको खाका तयार गर्ने र पर्यटन प्रबद्र्धन गर्ने लक्ष्य लिएका छौं । सुरुमा दोरम्बा गाउँपालिको मात्र गर्ने गरी महोत्सवको तयारी गरिएको थियो । तर पछि रामेछापको र दोलखाको संगमस्थल भएको हुँनाले दोलखाको शैलुङ्ग र मेलुङ्ग गाउँपालिका सहित प्रथम शैलुङ्ग महोत्सव आयोजना गरिएको हो । ऐतिहासिक, धार्मिक, प्राकृतिक रुपमा धनी शैलुङ्गको विकास गरेर यस क्षेत्रका आर्थिक रुपमा सम्पन्न बनाउन सकिन्छ ।

दोरम्बा गाउँपालिकाभित्र रहेका प्रमुख धार्मिक र पर्यटकीय गन्तव्यस्थल गुरासे, अगश्लेवरलाई शैलुङ्गसँग जोडर विकास गर्ने योजना अगाडि सारेका छौं । पर्यटन गन्तव्य गाउँ दोरम्बा शैलुङ्गको काखमै रहेको छ । समग्र शैलुङ्गको विकास गर्ने महोत्सव गर्ने निधो गरेका छौं । शैलुङ्ग प्राकृतिक स्रोत र साधनमा धनी छ । तर यसको सही सदुपयोग हुन सकेको छैन् । दोरम्बा गाउँपालिकाले शैलुङ्गसँग जोडन सडक निर्माणको कामलाई पनि प्राथमिकता दिएको छ ।

शान्तिभूमि शैलुङ्गको सम्पदा बचाउछौं


नरबहादुर श्रेष्ठ
अध्यक्ष, मेलुङ्ग गाउँपालिका, दोलखा
शैलुङ्ग ऐतिहासिक, धार्मिक सांस्कृतिक दृष्टिकोणले विविधतायुक्त क्षेत्र हो । शैलुङ्ग शान्तिभूमि पनि हो । अहिले शैलुङ्ग क्षेत्रको अतिक्रमण बढने थालेको छ । शैलुङ्गभित्र रहेका जीवजन्तु र चराचुरुङ्गगीहरु लोभ हुन थालेका छन् । शैलुङ्गलाई अतिक्रमण हुनबाट जोगाउने र जैविक विविधतालाई संरक्षण गर्नुको साथै पर्यटकलाई आकर्षण गर्नेको लागि महोत्सव आयोजना गरिएको हो । समुदायमा आधारित विकास गर्ने कार्यक्रम तय गरेका छौं ।

शैलुङ्गको विकास गर्नको लागि पनि पर्यटन प्रबद्र्धन गर्न जरुरी छ । शैलुङ्ग क्षेत्रभित्र पुरातात्कि सम्पदाहरु गुम्बा, चैत्य, छ्र्योतेनको संरक्षण गर्ने, मन्दिरहरुको व्यवस्थापन गर्न पनि महोत्सवले सहयोग पुग्नेछ । शैलुङ्गको माथिल्लो क्षेत्रसम्म सडक जाने नदिने नीति लिएका छौं । शैलुङ्गमा १२५ प्रकारका जडिबुटी पाइन्छ । शैलुङ्गको पानी मात्र बेच्न सकियो भने अरबौकोै आम्दानी गर्न सकिने अवस्था छ ।

‘शैलुङ्गको विकासमा जुटेका छौं’


भरत दुलाल
अध्यक्ष, शैलुङ्ग गाउँपालिका, दोलखा
शैलुङ्ग महोत्सव आयोजना गर्नुको उदेश्य पर्यटन प्रबद्र्धन गर्नु नै हो । स्थानीय रुपमा उत्पादन भएका बस्तुको बारेमा प्रचार गर्ने, पर्यटक गन्तव्यस्थलको रुपमा पहिचान बनाउदै आएको शैलुङ्गलाई देश विदेशमा चिनाउने लक्ष्य लिएका छौं ।

यहाँको धार्मिक, ऐतिहासिक सांस्कृतिक सम्पदाहरुको संरक्षण गर्ने गरी महोत्सव गर्न लागिएको हो । शैलुङ्ग क्षेत्रभित्र रहेका विविधतालाई थप प्रचार गरेर पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्नुपर्छ भनेर हामी लागि रहेका छौं । शैलुङ्गमा आउनेको लागि अहिले सडक सञ्जालले पनि जोडिएको छ । बार्षिक रुपमा हजारौको पर्यटकहरु आउने गरेका छन् । अहिले बाह्य भन्दा पनि आन्तरिक पर्यटकहरु आउने गरेको छन् ।

अब आन्तरिकसँगै विदेशी पर्यटकहरुलाई आकर्षित गर्ने गन्तव्यको रुपमा विकास गर्ने योजना बनाएका छौं । शैलुङभित्र विकास निर्माणको काम पनि अगाडि बढेको छ । भ्युटावर निर्माण भएर सञ्चालनमा आएको छ । शैलुङ्गको विकास गर्न हामी प्रतिबद्ध भएर लागेका छौं ।

प्रतिक्रिया दिनुहोस्