बैगलोरको रोमाञ्चक जित



नयाँ दिल्ली, (एजेन्सी)
त्यसो त आईपीएलमा रोमाञ्चक खेल भइरहने गर्छन् तर आईतबार चिन्नास्वामी स्टेडियममा भएको खेल धेरै नै शानदार रह्यो । चेन्नाई सुपर किंग्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचकोे खेल निकै सनसनी बनेको थियो । १ सय ६२ रनको लक्ष्य हासिल गर्नै लागेको बेला अन्तिम बलमा एमएस धोनी चुकेपछि खेल बैंगलोरले १ रनले जितेको थियो ।

चेन्नाईको लागि अन्तिम ओभरमा २६ रनको आवश्यक थियो । चेन्नाईका कप्तान धोनीले ५ बलमा २४ रन पनि बनाए । अन्तिम बलमा धोनीलाई २ रन लिनु थियो । तर उमेश यादवको बललाई उनको ब्याटले छुन सकेन । त्यसो भए पनि उनी एक रन लिएर स्कोर बराबर गर्न दौडे । विकेटकिपर पार्थिव पटेलले डाइरेक्ट थ्रोमा नन स्ट्राइकर शार्दुल ठाकुरलाई रनआउट गरेका थिए । योसँगै बैंगलोरका कप्तान विराट कोहलीले राहतको श्वास लियो भने धोनी निरास बनेका थिए ।

धोनीले ४८ बलमा ७ छक्का र ५ चौकाको सहयागमा ८४ रन बनाएका थिए । उनीपछि अम्बाती रायडुले २९ रन र रविन्द्र जडेजाले ११ रन जोडे भने अन्य ब्याटसम्यान दोहोरो अंकमा पुग्न सकेनन् । बैंगलोरका बलरमा उमेश यादव र डेल स्टेनले २÷२ विकेट हात पारेका थिए । यसअघि बैंगलोरले पार्थिवकै ५३ रनको मद्दतमा निर्धारित २० ओभरमा ७ विकेटको क्षेतिमा १ सय ६१ रन जोडेको थियो ।

प्रतिक्रिया दिनुहोस्