जनप्रतिनिधि नयाँ शासकमा फेरिँदै



स्थानीय तहलाई जनताको घरदैलोको सरकार भनिन्छ । जनताको नजिक रहेर सेवा प्रवाह गर्ने राज्यको इकाई भएकोले यसलाई घरदैलोको सरकार भनिएको हो । यस अर्थमा स्थानीय तहका जनप्रतिनिधि बढी जिम्मेवार, जवाफदेही र पारदर्शी तवरले कामकारवाही अघि बढाउने स्थानीय जनताको बढी अपेक्षा रहनु स्वाभाविक पनि हो । लामो समयदेखि कर्मचारीको तर्दथवादको भरमा चलेको स्थानीय तह जनप्रतिनिधिले चलाएको दुई वर्ष पुरै बित्न लाग्दा पनि बैठक, भम्रण, भत्तामै अलमल्लिएर परिणाममुखी कार्य नहुँदा सर्वसाधरण जनता निराश बन्न बाध्य भएका छन् ।

सामाजिक क्षेत्रमा लामो समयदेखि खारिएर आएका, जनतामाझ राम्ररी भिजेका, अध्ययनशील र इमान्दार जनप्रतिनिधिले स्थानीय तहमा सार्वजनिक हितप्रतिप्रति प्रतिबद्ध भएर केही राम्रा उदाहरण पनि पेश नगरेका होइनन् । आफूलाई केन्द्रबिन्दुमा राखेर सस्तो लोकप्रिय कुरा गर्ने, जनताको आवश्यकता भन्दा पर गई ठूलठूला हावादारी कुरै गरेर मात्र दुई वर्ष बिताएका जनप्रतिनिधिहरुको संख्या पनि मुलुकमा कम छैनन् । स्थानीय तहमा व्याप्त भ्रष्टाचार, योजनाको भागबन्डामा नै रहने प्रवृतिले गर्दा स्थानीय तहको निर्वाचनमा खुब सुनिएको ‘सिहदरबारको अधिकार गाउँ–गाउँमा’ भन्ने नारा जनताको लागि ठूलो मजाकको विषय बन्न पुगेको छ । आफ्नो कर्मले स्थानीय तहको सञ्चालनको उन्नत अभ्यासको मानक बनाउनुपर्नेमा जनप्रतिनिधि नयाँ शासकवर्गको रुपमा फेरिनु समकालीन नेपालको सर्वाधिक ठूलो दुर्भाग्य हो ।

जनतासंगको संवादबाट टाढै रहने, जनताका पीरमर्का र गुनासोप्रति संवेदहीन बन्ने, कहिले प्रक्रियामा अल्झाएर, कहिले बहानाबाजी गरेर त कहिले प्रशंसाको मिठो बोली बोलेर जनतालाई अलमल्याउने स्वभाव पनि जनप्रतिधिले देखाउन थालेको पाइएको छ । यस किसिमको आचरणले लोकतान्त्रिक मूल्य र मान्यताको जरोमै प्रहार गरेको छ । अझ त कतिसम्म भने आफ्नो असफलता लुकाउन कहिले संघले हस्तक्षेप गरेको, कहिले संघले सहयोग गरेन, कहिले कार्यपालिकामा बहुमत र अल्पमतको द्वन्द्वले गर्दा काम गर्न वातावरण नबनेको भनेर जनप्रतिनिधिले सार्वजनिक भाषण गर्दै हिडेको पाइएको छ ।

नयाँ संविधान बनेपछिको पहिलो स्थानीय तहको सञ्चालनले एउटा उदाहरण तय गर्ने समय अझै बाँकी छ, यदि जनप्रतिनिधिले दुई वर्षको आफ्नो क्रियाकलापलाई आत्मनिरीक्षण गर्न तयार भएमा । अर्कोतर्फ सम्बन्धित केन्द्र सरकारले आवश्यक सहजीकरणसंगै, राजनीतिक दल, नागरिक समाज, बुद्धिजीवीले पनि यसतर्फ सचेत गराउन आफ्नो भूमिका निर्वाह गर्नुपर्दछ । जवाफदेही संस्कारले नै लोकतन्त्रलाई बलियो बनाउँछ । जवाफदेही संस्कारले व्यक्तिलाई सही मार्गमा ल्याउने छ । लोकतन्त्रको मर्म पनि यही नै हो ।

प्रतिक्रिया दिनुहोस्