प्युठानमा यस्तो मन्दिर: जहाँ पाठीको बली दिइन्छ, महिलालाई प्रवेश निषेध गरिन्छ



सलिम अन्सारी, प्युठान।
असोज र चैतमा हिन्दुहरुले मनाउने रामनवमी पर्वको अबधी भर प्युठानको झिमरुक ८ टिमुरचौर स्थित स्नाथान मन्दिरमा दर्शन गर्न दलित समुदाय र महिलालाई निषेध छ । । सो अबधीमा दलित र महिला भक्तजनहरुले बाहिरबाटै पूजार्चना गरेर फर्किनुपर्छ । मन्दिर प्रवेश गरे अशुभ हुन्छ भन्ने गलत मान्यताका कारण उनिहरु मन्दिर प्रवेश गर्दैनन् । यती सम्म की मन्दिरको आसपासमा समेत टेक्न उनिहरुलाई मनाही छ ।

पहिलै देखि पुजारी र स्थानीय गैह्रदलित समुदायले बारम्बार दलित र महिलाहरु मन्दिर प्रवेश गरे राम्रो नहुने बताएपछि आफुहरु जान आँट नगरेको उनिहरु बताउछन। ’तिमिहरु जान हुन्न अशुभ हुन्छ भनेपछि आफुहरु मन्दिरमा पुजापाठ गर्न नगएको स्थानिय प्रतिमान बिकले बताउनुभयो।’अशुभ हुन्छ भन्छन’उहाले भन्नुभयो ’बाउबाजेकै पाला देखि हामी त्यो ठाउँमा गएका छैनौ।’दलित महिला सदस्य मुना बि क ले पुर्खा देखि नै दलित र महिलालाई मन्दिर प्रवेशमा रोक लगाईएको सुनाउनुभयो।

ुयो हाम्रो लागि अपराध नै हो उहाले भन्नुभयो ‘गेट बाहिर सम्म जान्छौं,अन्य गैह्रदलितले परेवा र कालिपाठी भेटी चढाउनुहुन्छ।’ हाम्रो भेटी समेत चल्दैन मन्दिरमा।

मुख्य मन्दिरको भित्री भागमा पुजारी बाहेकका अन्यलाई प्रवेश निषेध छ। देवीको पूजा गरिने भएकाले मारकाट गरिने स्थानमा महिला प्रवेश गर्न नहुने मान्यता छ। परम्परा छाडेर अहिलेसम्म कुनै पनि महिला एवं दलितले सो अवधिभर भित्र पस्ने आँट नगरेको वडाअध्यक्ष तुलस बस्नेतले बताउनुभयो ।

’हाम्ले जाउ भनेपनी उहाँहरु आफै डराउनुहुन्छ,’उहाले भन्नुभयो ‘तर भित्र जान्छौँ भन्नेहरुलाई कसैले रोकछेक गर्दैन्न ।’उहाहरु स्वेच्छाले जानुहुन्न।असोज र चैतको रामनवमीमा यहाँ बलि दिने प्रथा छ। जस्मा कालोपाठी अनिवार्य छ। वर्षका दुई दिन पञ्चपुजारीद्वारा बलि दिने गरिन्छ।

’त्यहाँ पाठीको वली चढायो भने मनको इच्छा पुरा हुने बिस्वास गरिन्छ । सोही आस्थाका कारण प्युठान सहित छिमेकीदाङ, गुल्मी, कपिलवस्तु, रोल्पा लगायतका जिल्लाबाट यहाँ बलिका लागि आउँछन । असोज र चैतको रामनवमीमा यहाँ ३ सय पाठीलाई बलि दिने गरिएको छ। , यहाँ फरक प्रकृतिको प्रचलन देख्न पाइन्छ। बलि दिएको पाठीको मासु महिलाले खान नहुने। काटिएको मासु घर लान नमिल्ने परम्परा पनि छ। यदि मासु घर लगेमा अशुभ हुने जनविश्वास रहेकाले पोलेर मात्रै खाने प्रचलनले गर्दा बलिको मासु नष्ट हुँदै गएको छ। बलि दिने क्रममा पुजारीहरुको हातले सिलाएको वस्त्र मात्रै प्रयोग गर्न पाउने अर्को परम्परा पनि यहाँ पाइन्छ।

परापुर्बकालमा भुरेटाकुरे राजाले शासन गर्ने समयमा तुसाराकोटमा रते बिस्ट मन्त्रीले शासन गर्थे, भित्रिकोटबाट आएको फौजले तुसाराकोटका फौजलाई मारेको किवंदन्ती छ ।यहाँका महतरा, पछाई , घर्ती,पोख्रेल ,थापा जस्ता जातिले युद्धमा सघाएका थिए । कोट प्रमुखको रुपमा रहेका यीनै पाच जातीले अहिलपनि पुजारीको भूमिका निर्वाह गर्दै आएका छन्। नवरात्रको दिनमा सम्बन्धित जातिलाई सुपारी दिएपछि उक्त समुदायले आफ्नो तर्फको पुजारी छनोट गर्ने प्रचलन छ। स्नाथानमा मार हान्ने कार्य महतारा समुदायका पुजारीले गर्छन्।किवंदन्ती अनुसार स्थानीय एक बस्नेतका पुर्खालाई सपनामा पुजारीले स्नाथानमा पूजा गर्ने विधि बताएपछि पूजापाठ गर्न थालिएको मन्दिरका पुजारी कर्म बहादुर महतराले बताउनुभयो।

राम नवमीमा महिला र दलितलाई मन्दिर प्रवेशमा रोक लगाईनुलाई दलित अधिकारकर्मी गोपाल नेपाली धर्मको नाममा धार्मिक अन्धविश्वासको एउटा पराकाष्ठा बताउँदै यस्को विरोध गर्नुपर्ने बताउनुहुन्छ।

पर्यटन प्रबर्द्धनका हिसावले महत्वपुर्ण स्थल स्नाथानबाट दिहाल्ना, लालीगुरास रगंशाला तथा नेपालका महत्वपूर्ण हिमालको अवलोकन गर्न सकिन्छ । संरचना निर्माणको अभाव खेपिरहेको स्नाथानलाई पर्यटकीय क्षेत्र बनाउने थप पहल भइरहेको गाउपालिका अध्यक्ष तिलक जिसीले बताउनुभयो।’यसको प्रबर्द्धन गर्न डिपिआर गर्ने तयारी भैरहेको छ’उहाले भन्नुभयो।

भौतिक संरचनाका लागि हालसम्म स्थानीय र प्रदेश सरकारले गरि ३६ लाख बजेट विनियोजन गरिएको र यसै रकमले स्नाथान नजिक पोखरी र पर्खाल लगाउने कार्य भएको छ। यहाँ तारबार र सिढीँ पनि बनाइएको छ।कालो पाठी ल्याउने भक्तजनबाट प्रतिपाठी एक सय रुपैयाँ उठाउने प्रचलन रहेको छ। भक्तजनले चढाएको रकम पुजारीहरुले बाँड्ने गरेका छन्।

भिडियाे हेर्नुहाेस

https://youtu.be/DXkN7qOf9Cc

 

प्रतिक्रिया दिनुहोस्