श्रीलङ्का बिस्फोट: मृतकको संख्या २ सय ९० पुग्यो, अझै बढ्न सक्ने



काठमाडौं । श्रीलङ्कामा आइतबार चर्च र स्टार होटलहरुमा भएको श्रृंखलावद्ध बम विस्फोटमा परी मृत्यु हुनेको संख्या २ सय ९० पुगेको छ । ५ सय भन्दा बढी घाइते भएका छन् ।

प्रहरीले अहिलेसम्म २४ जनालाई घटनामा सलग्न भएको आशंकामा प्रक्राउ गरिसकेको छ । यद्यपि सरकारले भने कसले यो घटना घटायो भन्नेबारे आधिकारिक जानकारी दिएको छैन ।

घटनामा घाइते भएकामध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझै बढ्नसक्ने त्यहाँका अधिकारीहरूले बताएका छन् ।

राजधानी कोलम्बोको सेन्ट एन्थोनी चर्च र होटल र राजधानी नजिकको नेगोम्बोस्थित सेन्ट सेबास्टियन चर्चमा भएका बिस्फोटमा परी उनीहरूको मृत्यु भएको हो ।

बौद्धमार्गी बहुल श्रीलङ्कामा करिब ६ प्रतिशत क्याथोलिक सम्प्रदायका मानिस छन् । गिर्जाघरहरुमा बिस्फोट हुँदा इसाई धर्मावलम्बीहरु इस्टर पर्वका अवसरमा आयोजित धार्मिक कार्यक्रममा सहभागी रहेको बताइएको छ ।

त्यहाँको रक्षा मन्त्रालयले आक्रमणबारे अनुसन्धान भइरहेको तर अहिलेसम्म आक्रमणको कसैले जिम्मेवारी नलिएको बीबीसीले जनाएको छ ।

बम विस्फोटलाई सन् २००९ को गृहयुद्धपछिको सबैभन्दा ठूलो घटना भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्