‘शिक्षकले सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना नगरे कारवाही’



मोतीराम तिमल्सिना, काभ्रे ।
नेपाल सरकारका प्रवत्ता एवं संचार तथा सूचना प्रविधी मन्त्री गोकुलप्रसाद बास्कोटाले देशलाई धनी बनाउन सरकारले योजनाबद्ध ढंगले काम गरिरहेको बताउनु भएको छ ।

‘रेल, तेल, पानी जस्ता महत्वपूर्ण योजना जनताको आवश्यकता अनुसार भईरहेको छ’–उहाँले भन्नु भयो । बनेपा नगरपालिका वडा नम्वर १० स्थित जनागालमा रहेको जनज्योती माविमा निर्माण सम्पन्न भएका दुई वटा पक्कि भवनको हस्तान्तरण कार्यक्रममा बोल्दै मन्त्री बास्कोटाले सामुदायिक विद्यालयहरुमा पढाउने शिक्षकहरुले चालु शैक्षिक सत्र बाटै आफ्ना सन्तानलाई विद्यालयमा भर्ना गर्न अनुरोध गर्नु भयो । ‘सामुदायिक विद्यालयमा पढाउने शिक्षकहरुले आफ्ना सन्तानलाई सामुदायिक विद्यालयमा भर्ना गर्नुु, नत्र कारवाही हुन्छ’–उहाँले भन्नु भयो–‘सरकारले शिक्षामा उथलपुथल हुने गरी गुणस्तरीय र ब्यवहारीक शिक्षाका लागि कानून बनाई सकेको छ ।’ राज्यले गरेको शिक्षाको लगानी सबै भन्दा धेरै शिक्षकमा भएकाले शिक्षकहरु जिम्मेवार बनी गुणस्तरीय शिक्षा प्रदान गर्न मन्त्री बास्कोटाले आग्रह गर्नु भयो ।

‘शिक्षालाई ब्यापार र ठगी खाने भाँडो बनाउनु हुँदैन’–मन्त्री बास्कोटाले भन्नुभयो–‘राज्यले शिक्षालाई निशुल्क गरेकाले सबै अभिभावकहरुले सामुदायिक विद्यालयमा भर्ना गरी गुणस्तरीय शिक्षा प्राप्त गर्नु पर्छ ।’ दुई वर्गका ब्यक्ति जन्माउने खालको शिक्षा नेपालमा टिक्नु हुँदैन र टिक्न नदिने मन्त्री बास्कोटाले बताउनु भयो । नीजि क्षेत्रबाट सञ्चालन भएका विद्यालयहरु मध्ये केहिले शिक्षामा ब्यापार गरेको मन्त्री बास्कोटाको भनाई थियो ।

सरकारले ठुला ठुला परियोजना शुरु गरेको बताउँदै मन्त्री बास्कोटाले लगानी सम्मेलन मार्फत २५ अर्ब लगानीको प्रस्ताव दर्ता भईसकेको बताउनु भयो ।
काभ्रे जिल्लामा मात्रै लगानी सम्मेलनमा प्रस्ताव गरिएको ८ मध्ये चारवटा परियोजनामा प्रस्ताव परिसकेकाले जिल्लाको विकासलाई पनि प्राथमिकतामा पारेको मन्त्री बास्कोटाको भनाई थियो । बनेपामा सेक्युरिटी प्रेस, सुनकोशी परियोजना, बुटिक होटल, कृषि केन्द्र, मेडिसिटी अस्पताल जस्ता परियोजनाले जिल्लाको समृद्ध यात्रा शुरु भएको उहाँको भनाई थियो ।

नेपालमा स्थायी सरकार भएकाले कसैले चाँहदैमा र धुप हाल्दैमा नढल्ने चेतावनी मन्त्री बास्कोटाले दिनु भयो । बालुवाटारको जग्गा केपी ओली नेतृत्वकै सरकारले छानविन गरेको बताउँदै मन्त्री बास्कोटाले देशभरका सार्वजनिक जग्गाहरु छानविन गर्ने उद्घोष गर्नु भयो । बृद्ध भत्ता बढ्ने तर सरकराले कानुन बनाएर सरकारी जागिर खाने परिवारका बुबा आमाका नाममा मासिक तलबको केहि प्रतिशत जम्मा गर्नु पर्ने ब्यवस्था ल्याउन लागिएको मन्त्री बास्कोटाले बताउनु भयो ।

कार्यक्रममा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भरत मिजारका अध्यक्षता रहेको थियो । प्रदेश सभा सांसद बसुन्धरा हुमागाई, जिल्ला समन्वय समिति प्रमुख उद्धव केसी, बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिं बादे, वडा अध्यक्ष चन्द्रबहादुर खड्का, विद्यालय को अडिनेटर डा. उत्तमकुमार कर्माचार्य, जिल्ला आयोजना कार्यान्वयन इकाईका प्रमुख निर्मलकुमार घिमीरे, विद्यालयका प्रधानाध्यापक साधुराम दाहाल लगायतले विद्यालयको भौतिक र शैक्षिक अवस्थाका बारेमा मन्तब्य राखेका थिए । २०१७ सालमा स्थापना भएको विद्यालयमा २ सय भन्दा धेरै विद्यार्थी छन् । १३ रोपनी विद्यालयको जमिन भए पनि संरक्षण हुन नसक्दा अतिक्रमणमा परेको छ ।

सोहि अवसरमा झण्डै एक करोड रुपैयामा निर्माण भएका दुई वटा भवनको उद्घाटन गरिएको छ । हस्तान्तरण भएका भवनहरु जिल्ला आयोजना कार्यान्वयन इकाई, बनेपा नगरपालिका, शिक्षा समन्वय ईकाई तथा विभिन्न दातृ संस्थाहरुको सहयोगमा निर्माण भएका हुन् । विद्यालयलाई अझै केहि ऋण रहेको प्रधानाध्यापक दाहालले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्