अशिम र ज्ञानुलाई स्वर्ण



कुमार श्रेष्ठ, बाँके
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको ७० मिटर व्यक्तिगत रिकर्भको पुरुषमा कास्की आर्चरी क्लबका अशिम शेरचन र महिलामा आर्मीकी ज्ञानु अवालेले स्वर्ण जितेका छन् ।

नेपालगञ्जस्थित क्षेत्रीय प्रहरी तालिम केन्द्रमा भएको पुरुष फाइनलमा अशिमले आफ्नै क्लबका मुकेश तामाङलाई ७–३ ले पराजित गरे । आर्मीका रोशन नगरकोटी तेश्रो भए । महिलाको उपाधि भिडन्तमा ज्ञानुले आर्मीकै मित्रा राईलाई ७–१ ले हराउदै स्वर्ण हासिल गरिन् । कास्कीकी केशरी आले मगर तेश्रो भइन् ।

पुरुष व्यक्तिगत स्ट्यान्डर्ड ३० मिटरमा आर्मीका तविन गुरुङले फाइनलमा बेस्ट आर्चरीका प्राण्जल राईमाथि ६–० को जित निकाल्दै स्वर्ण जिते । आर्मीका कमल दानीले कांस्य जिते । त्यसै स्पर्धाको महिलामा अन्नपूर्ण आर्चरी क्लबकी अर्चना थापाले फाइनलमा अन्नपूर्णकै अनुषा गुरुङको चुनौती ६–२ ले समाप्त पार्दै स्वर्ण प्राप्त गरिन् । अन्नपूर्णकै सोलिना गुरुङ तेश्रो भइन् ।

नीर र तुलसी पहिलो
आठौंअन्तर्गत ४४ औं राष्ट्रिय एथलेटिक्सको ४ सय मिटर दौडको पुरुषमा एपीएफका नीरप्रताप महतो र महिलामा आर्मीकी तुलसी खत्री पहिलो भएका छन् । निर्धारित दूरी तय गर्न नीरले ४९.४ सेकेन्ड तथा तुलसीले १ मिनेट समय लगाए । पुरुषमा एपीएफका शिवराज पार्की दोश्रो तथा प्रदेश १ का प्रकाश दनुवार तेश्रो भए । महिलामा आर्मीकी संगीता मेचे दोश्रो तथा प्रदेश ५ की अरुणा रिजाल तेश्रो बने ।

पुरुष १ सय १० मिटर हर्डल्समा आर्मीका नीरकुमार चौधरी पहिलो भए । उनले १५.६ सेकेन्ड समय लगाए । प्रहरीका चन्द्रदेव जोशी दोश्रो तथा आर्मीका अशोक कुँवर तेश्रो भए । महिला १ सय मिटर हर्डल्समा प्रदेश ५ की प्रमिला थारुले स्वर्ण जितिन् । प्रमिलो १६.३ सेकेन्डमा निर्धारित दूरी सिध्याइन् । प्रदेश ५ की जयरानी चौधरीले रजत तथा आर्मीकी तुलसा श्रेष्ठले कांस्य जिते ।

गौरिकाको नयाँ किर्तिमान
आठौँअन्तर्गत नेपालगन्जमा आइतवार भएको पौडी स्पर्धामा त्रिभुवन आर्मी क्लवकी गौरिका सिंहले आफ्नै कीर्तिमानमा सुधार गरिन् । महिला ५० मिटर ब्याकस्ट्रोकमा गौरिकाले ३० दशमलव ८५ सेकेण्डको नयाँ कीर्तिमान राखेकी हुन् । यसअघि उनले सो इभेन्टमा ३१ दशमलव २२ सेकेण्डको कीर्तिमान रचेकी थिइन् । उक्त विधामा नेपाल प्रहरीकी अनुष्का पोखे्रलले ३७ दशमलव ७८ सेकेण्ड र यूस्का महर्जनले ३९ दशमलव ६३ सेकेन्डका साथ क्रमशः रजत र कांश्य पदक जिते ।

यसैगरि पुरुष ५० मिटर ब्याकस्ट्रोकमा एपीएफका तेन्जिङ एनआर गुरुङले मिराज प्रजापतिको कीर्तिमान तोडे । उनले मिराजको ३३ दशमलव ५७ सेकेण्डको कीर्तिमानलाई तोड्ने क्रममा ३२ दशमलव ८१ सेकेण्डमा सो दुरी पार गरेका थिए । प्रदेश ३ का जयन्तप्रकाश गुरुङले रजत र प्रहरीका तरुण भण्डारीले कांश्य पदक हासिल गरे ।

महिला २ सय मिटर बटरप्mलाईमा आर्मीकी दुआना लामाले स्वर्ण हात पार्दा एपीएफकी श्रीवि महर्जनले रजत र एपीएफकै दिया स्थापितले कास्यमा चित्त बुझाए । दुवानाले सो दुरी २ मिनेट ४० सेकन्डमा पार गरिन् । सोही इभेन्टको पुरुषतर्फ भने एनआरएनका नाथान दोर्जे श्रेष्ठले २ मिनेट १८ दशमलव १० सेकन्डका साथ स्वर्ण हात पारे । २ मिनेट १८ दशमलव ९७ सेकेन्ड समयमा आर्मीका अनुभव सुब्बाले रजत जित्दा प्रहरीका सायद हमाज शाहले २ मिनेट २९ सेकेन्डमा दूरी पार गरे ।

दुवानाले महिला १ सय मिटर ब्रेष्टस्ट्रोकमा पनि स्वर्ण जितिन् । उनले सो दुरी एक मिनेट १८ दशमलव ९३ सेकेन्डमा पुरा गर्दा एपीएफकी टिसा शाक्य रजतमै सीमित भइन् । टिसाले १ मिनेट २१ दशमलव ६ सेकेण्डको समय लिएकी थिइन् । आर्मीकी उपास्ती महर्जनले एक मिनेट २१ दशमलव ३२ सेकेन्डमा दूरी पार गरि तेस्रोमा चित्त बुझाइन् ।

आर्मीलाई ७ स्वर्ण
आठौंअन्तर्गत आइटीएफ तेक्वान्दोमा सवैभन्दा धेरै स्वर्ण आर्मीले जितेको छ । नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा जारी प्रतियोगितामा आइतबारसम्म भएका खेलमा आर्मीले ७ स्वर्णका साथ अग्रता कायम गरेको हो । एपीएफले ४ र प्रदेश ३ ले ३ स्वर्ण प्राप्त गरेको छ ।

५१ देखि ५५ किलो तौल समूहमा प्रदेश ३ का अनिल तामाङ विजयी भएका छन् । महिलातर्फ ४० देखी ४५ किलो तौल समूहमा प्रदेश ३ कि सोनी खड्का र ४५ देखि ५० किलो तौलमा प्रदेश ४ कि सुस्मीता थापा मगरले स्वर्ण प्राप्त गरेका छन् । कालोपेटी दोश्रो डानमा आर्मीकी निस्मा वस्याल र ग्रुप प्याट्रन विधामा नेपाल आर्मीले स्वर्ण हात पारेको छ ।

सुटिङमा फूलमाया अगाडि
जारी आठौंअन्तर्गत सुटिङमा महिला एयर राइफलतर्फ नेपाल प्रहरीकी फुलमाया क्याप्छाकीले सबै भन्दा बढी अंक प्राप्त गरेकी छन् । ६ सय पूर्णाङ्कको प्रतियोगितामा फुलमायाले ५ सय ६५ अंक प्राप्त गरेकी हुन् । आर्मीकी मिरा बन्जाराले ५ सय ५२, प्रदेश २ कि निशा लामा र प्रदेश ५ की सपना नेपालीले समान ५ सय १४ अंक बनाएका छन् ।

पुरुषतर्फ भने सबैभन्दा बढी अंक गण्डकी प्रदेशका मिलङ्ग गुरुङले प्राप्त गरे । उनले ५ सय ४९ अंक जोड्दा उनलाई प्रदेश ५ का अर्नभ घिमिरेले ५ सय ३८ अंकका साथ पछ्याइरहेका छन् । त्यस्तै एयर पिस्तोल महिलातर्फ सबैभन्दा बढी आर्मीकी सरिता बस्नेतले ५ सय १६ अंक लिएकी छिन् । उनको प्रतिद्वन्द्वी प्रहरीकी दुर्गा सिन्जाली ९ अंकले पछि छिन् ।

कराते
आठौंअन्तर्गत दाङको तुलसीपुरमा जारी कराँते प्रतियोगितामा महिला ४२ के.जी. कुमुतेतर्फ एपीएफकी जिया कार्कीले स्वर्ण पदक जितिन् । आर्मीकी कुशुम खड्काले रजत जित्दा प्रदेश नं २ की मिरा योञ्जन र प्रदेश नं ७ की वर्षा साउदले कांश्य पदक हात पारे ।

त्यस्तै ५० केजी महिला कुमुते तर्फ आर्मीकी मिस्ली श्रेष्ठले एपीएफकी अनु अधिकारीलाई हराएर स्वर्ण हासिल गरिन् । पुरुष कुमुते तर्फ प्रहरीका सोनाम लामाले स्वर्ण जिते

 

प्रतिक्रिया दिनुहोस्