बेमौसमी वर्षा, मौसमी आहान



माघफागुनको जाडोका असर कम भई गर्मीको सुरुआतपछि पानी पर्ने र केही चिसोको अनुभव गरिने हुँदा नै होला चैतमा गोरु बेचेर राडीपाखी किन्थे रे हाम्रा बाजेबराजु । के भन्या होला यस्तो भन्ने यो धरहरालाई लाग्याथ्यो । तर अहिले २०७५ सालको हिउँद अझै रहेझैं लाग्या छ । २०७६ साल वैशाख महिनाको एक तिहाइ बित्न आँटिसक्यो, गर्मी लाग्ने छाँटै छैन । बिहानीपख घाम लागेपछि अब भने गर्मी लाग्नेभो भन्ने सोचेर हिँडेका वटुवा दिउँसो पानीमा निथु्रक्क भिजेर मुसो चुटिएझैं भएपछि लगलग काम्दै धरहराजस्तै घरको ओत लागेको देख्दा भने उसबेलाँ बाउबाजेले बनाएको आहान झुटो होइन रहेछ भन्ने लाग्या छ यस धरहरालाई ।

हुन त अहिलेको सरकार नेपालको इतिहासमै बलियो रे ! उसले जे चाह्यो त्यही पारित गर्न सक्छ रे ! अझ भनौं भने सरकारको नेतृत्व गर्ने पार्टी नेकपाको चुनाव चिह्न सूर्य भएकोले जताततै घामैघाम भन्ने गर्थे नेताहरु चुनाव जितेपछि । विपक्षी दलको रुख ओइलायो, सुकेर गयो भन्थे । अब दिनमा पनि घाम रातमा पनि घाम, हिउँदमा पनि घाम वर्षामा पनि घाम लाग्ने भो भन्थे केही राजनीतिक बुझक्कीहरु । तर खोइ, घामको प्रभाव नभएर हो कि किन हो, गर्मी त होइन, यस्तै हो भने जेठमा पनि जाडो भयो भनेर काम्दै हिँड्नुपर्ला जस्तो छ हाम्रा जनतालाई ।

चैतमा जाडो, वैशाखमा जाडो अनि जेठअसारको ग्रीष्म ऋतुमा पनि झमझम पानी परेको प¥यै गरेर जाडो नै होला जस्तो छ यस वर्ष । यस्तै जाडो नै जाडो हुने हो भने घामको प्रभाव नै नहुने भयो । अनि सरकारको नेतृत्व गर्ने दलका नेतालाई झोक चल्न के बेर ? अनि हाम्रा प्रधानमन्त्रीबालाई पनि त्यस्तै झोक चल्यो भने भनिदिनेछन्– यो सरकार कमजोर छैन, हाम्रो पार्टीको चुनाव चिह्नको प्रभाव कायम राख्नुपर्छ त्यसैले अब छिट्टै एउटा विधेयक परित गरेर माघफागुनलाई जाडो महिनाबाट हटाइन्छ, बरु जेठअसारलाई जाडो महिना भन्नुपर्छ । साँच्चै यस्तो निर्देशन दिए भने के गर्ने होला भन्ने लाग्या छ यो धरहरालाई । कि कसो पाठकवृन्द !

प्रतिक्रिया दिनुहोस्