भारोत्तोलनमा किर्तिमान नै किर्तिमान



कविरस शर्मा/कुृमार श्रेष्ठ, बाँके
नेपालगञ्जमा जारी आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत भारत्तोलनतर्फ शनिबार भएका प्रतिस्पर्धामा ९ वटा राष्ट्रिय किर्तिमान कायम भएका छन् ।
महिलाको ५५ किलो तौल समूहमा नेपाल प्रहरीकी देवीमाया चौधरीले स्न्याचमा ६५, क्लिन एण्ड जर्कमा ८१ र कूलमा १ सय ४६ केजी भार उठाउँदै स्वर्ण जितिन् । आर्मीका मनिषा रानाभाट र गौरी चौधरीले क्रमशः रजत र काश्य पदक जिते ।

महिला ५९ केजी तौल समूहमा आर्मीका कमला श्रेष्ठले स्न्याचमा ७०, क्लिन एण्ड जर्कमा ८० कूलमा १ सय ५० केजीे भार उठाउँदै स्वर्ण पदक जितिन् । प्रहरीकी जुनुमाया छन्त्यालले रजत र प्रदेश ४ की टिकामाया गुरुङले काश्य पदक प्राप्त गरे ।

पुरुष ६७ केजी तौल समूहमा प्रहरीका प्रकाश केसीले स्न्याचमा १ सय ३ केजीे, क्लिन एण्ड जर्कमा १ सय २२ केजीे र कूलमा २ सय २५ केजी भार उठाउँदै स्वर्ण पदक जिते । आर्मीका जीवन तामाङले रजत र प्रदेश ४ का धनबहादुर झाक्रीले काश्य पदक प्राप्त गरे ।

स्वर्ण पदक विजेता चौधरी, श्रेष्ठ र केसी तिनैजनाले स्न्याच, क्लिन एण्ड जर्क र कूलमा नयाँ राष्ट्रिय किर्तिमान बनाएका छन । विगतमा ८ वटा तौल समूहमा प्रतिस्पर्धा हुने गरेको भारत्तोलनमा यस पटकदेखि १० वटा तौल समूहमा प्रतिष्पर्धा भइरहेको छ । १० वटा तौल समूह भएसँगै पुराना रेकर्ड पनि निष्कृय भएका कारण सबै स्वर्ण जित्ने खेलाडीले राष्ट्रिय किर्तिमान बनाएका हुन् । भारत्तोलनका हालसम्म् घोषणा भएका ७ स्वर्ण मध्ये आर्मीले चार स्वर्ण जितेको छ भने प्रहरीले तीन स्वर्ण जितेको छ ।

क्रिकेटमा आर्मी सेमिफाइनलमा
कोहलपुरको अन्तर्राष्ट्रिय क्रिकेट मैदान भइरहेको पुरुष क्रिकेटमा नेपाल आर्मी सेमिफाइनलमा प्रवेश गरेको छ । प्रदेश १ लाई २७ रनले पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मीले टस जितेर ब्याटिङ गर्ने क्रममा १८.५ ओभरमा सबै विकेट गुमाएर ९५ रन बनाएको थियो । टोलीका लागि सबैभन्दा बढी राजेश पुलामीमगरले २७ रन बनाए । जवाफमा प्रदेश १ ६८ रनमै समेटियो ।

मायाको चिनो
कोहलपुरमा क्रिकेट खेल्न आएका खेलाडीलाई नेपाली क्रिकेट टीमका पूर्वकप्तान एलबी क्षेत्रीको आत्मकथा ‘कप्तान १९९८’ मायाको चिनोका रुपमा दिइएको छ । क्रिकेट खेलाडीबारेमा पहिलो पटक प्रकाशित भएको क्षेत्रीको आत्मकथालाई कोहलपुर नगरपालिकाले खेलाडी समक्ष पु¥याएको हो । कोहलपुर नगरपालिकाका मेयर लुटबहादुर रावतले मैदानमै पुगेर खेलाडीलाई मायाको चिनोको रुपमा क्षेत्रीको आत्मकथा कप्तान १९९८ दिएका हुन् ।

फुटबलमा प्रदेश ५ को तेस्रो जित
आठौं राष्ट्रिय खेलकुदअन्तर्गत बाँकेको खजुरामा भइरहेको पुरुष फुटबलमा प्रदेश ५ ले तेस्रो जीत निकालेको छ । लगातार तेस्रो खेल जित्ने क्रममा शनिबार प्रदेश ५ ले प्रदेश १ लाई ६–२ गोलले पराजित ग¥यो । फराकिलो जीत निकाल्ने क्रममा प्रदेश ५ का विनोद केसीले ह्याट्रिक गरेका थिए । केसीले १९, ६० र ६८ मिनेटमा गोल गरेका थिए । पूर्णबहादुर गुरुङले ५६ र ८०+३ मिनेटमा दुई गोल गरे । विनोद केवटले ३७ मिनेटमा एक गोल गरेका थिए । जीतसँगै टोली अन्तिम चारतिर अग्रसर भएको छ ।

आइटीएफमा आर्मीलाई ६ स्वर्ण
आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत आइटीएफ तेक्वान्दोमा त्रिभुवन आर्मी क्लवले सर्वाधिक स्वर्ण जितेको छ । नेपालगञ्जको महेन्द्र बहुमुखी क्याम्पसमा जारी प्रतियोगिता अन्तर्गत शनिबारसम्म भएका सिंगल प्याटर्नका खेलमा आर्मीले ६ स्वर्णका साथ अग्रस्थानमा छ । त्यस्तै, एपिएफले ४ र प्रदेश ३ ले २ स्वर्ण प्राप्त गरेको छ ।

सुटिङ: अस्मिता शीर्ष स्थानमा
आठौंअन्तर्गत राष्ट्रिय सुटिङको महिला १० मिटर एयर राइफलको व्यक्तिगत स्पर्धाको पहिलो दिनको खेल सकिँदा प्रहरीकी अस्मिता राई ५६६ अंकसाथ शीर्ष स्थानमा छिन् ।
प्रदेश ५ की बसन्ती केसी ५०१ अंकमा दोश्रो तथा कर्णाली प्रदेशकी सीता सिंह ४९८ अंकमा क्रमशः दोश्रो र तेश्रो स्थानमा छन् । सो स्पर्धाको पुरुषमा आर्मीका सुरेश चौधरी ५६५ अंकमा पहिलो, गण्डकीका धनबहादुर विक ५५७ अंकमा दोश्रो र प्रहरीका हरिबहादुर थापा ५५५ अंकमा तेश्रो स्थानमा छन् ।

सेपकताक्रो: आर्मीलाई स्वर्ण
आठौंअन्तर्गत पाँचौं राष्ट्रिय सेपाकताक्रोको रेगुमा आर्मीले दुई स्वर्ण जितेको छ । आर्मी पुरुष र महिला दुवैमा पहिलो भएको हो । बर्दियाको गुलरियामा भएको पुरुष फाइनलमा आर्मीले गण्डकीलाई २३–२५, २१–४ र २१–१६ ले पराजित ग¥यो । प्रदेश ३ ले सुदूरलाई २–० ले हराउदै तेश्रो भयो ।
महिलाको फाइनलमा आर्मीले प्रदेश ३ लाई २१–१५ र २१–१० ले पाखा लगायो । गण्डकीले सुदूरलाई २–० ले पन्छ्याउदै तेश्रो स्थानमा रह्यो ।

आर्चरी: अशिम र मुकेश फाइनलमा
आठौंअन्तर्गत नवौं राष्ट्रिय आर्चरी प्रतियोगिताको पुरुष व्यक्तिगत रिकर्भ ७० मिटरमा कास्कीका आर्चरी क्लबका अशिम शेरचन र मुकेश तामाङ फाइनलमाा प्रवेश गरेका छन् ।

सेमिफाइनलमा अशिमले आर्मीका रोशन नगरकोटीलाई ७–५ तथा मुकेशले प्रहरीका तिलक पुनलाई ७–१ ले पराजित गरे । उक्त स्पर्धाको महिलामा आर्मीकी ज्ञानु अवालेले अन्नपूर्ण आर्चरी क्लबकी विष्णुमाया लिम्बूलाई ६–२ तथा आर्मीकी मित्र राईले कास्कीकी केशरी आले मगरलाई ६–० ले हराउदै फाइनलमा स्थान सुरक्षित गरे ।

 

प्रतिक्रिया दिनुहोस्