त्रिविविको गरिमा बढाउने अवसर



अहिलेको नेपाली जनमानस सरकारी स्वामित्वका विद्यालय तथा विश्वविद्यालयको पठनपाठन स्तरीय हुँदैन भन्ने सोचमा छ । त्यही सोचका कारण त्यस्ता संस्थामा विद्यार्थी संख्या न्यून छन् र ती संस्थाको शैक्षिक तथा भौतिक अवस्था पनि दिन प्रतिदिन कमजोर बन्दै गएको छ ।

तर अहिले त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसका केही विभागमा विद्यार्थी भर्ना हुने संख्यामा उल्लेख्य वृद्धि भएको समाचार आएको छ । यसले सरकार तथा सम्बन्धित निकायका पदाधिकारी आफ्नो कार्यक्षेत्रमा लागिपर्ने हो भने शैक्षिकस्तर सुधार गर्न कठिन छैन भन्ने सन्देश दिएको छ । तीन वर्षअघि शून्यमा रहेको विद्यार्थी संख्या २३ पुग्नुमा केही न केही कारण अवश्य छन् । पहिलो कारण विषयप्रतिको मोहलाई मान्न सकिन्छ । तर त्यो मोह जागृत गराउने कार्य विद्यार्थी स्वयं मात्र नै नहुन सक्छ । समाज, सामाजिक अभियन्ता तथा ती विषयका ज्ञाताको उदाहरणीय कार्य हुनुपर्छ । इतिहास वा अन्य कुनै विषयको अध्ययन गर्दा हुने फाइदाका बारेमा नबताइदिने हो भने कसै गरे पनि त्यस विषयप्रति विद्यार्थीको आकर्षण बढ्दैन ।

दोस्रो कारण योजनाबद्ध कार्यक्रमलाई लिन सकिन्छ । कुनै पनि शैक्षिक कार्यक्रम सञ्चालन गर्नुपूर्व योजनाबद्ध कार्यक्रम पेस गर्नैपर्छ । प्रशासनमा रहेका जिम्मेवार पदाधिकारीले वार्षिक कार्यतालिका बनाएर तोकिएको समयमा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने हो भने त्रिभुवन विश्वविद्यालयका कुनै पनि विभागमा विद्यार्थी पाउन कठिन छैन । तेस्रो कारण प्रोत्साहन पनि हो ।

विद्यार्थीले कुनै पनि विषय किन पढ्ने र पढ्दाको फाइदा के भन्ने सोचेको हुन्छ । त्यस्ता विषयको अध्ययनपछि छात्रवृत्ति वा रोजगारीको सुनिश्चितता भयो भने विद्यार्थी पाउन समस्या पर्दैन । त्रिभुवन विश्वविद्यालयको इतिहास केन्द्रीय विभागले विद्यार्थी बढाउन जुन किसिमका योजना अघि बढाएको त्यसले विद्यार्थीको संख्या वृद्धि भएको छ । त्यस्तै योजना अन्य विभागमा पनि कार्यान्वयनमा ल्याउने हो भने कुनै पनि विभागमा विद्यार्थीको खडेरी पर्ने अवस्था रहँदैन किनभने अझै पनि नेपालकै पुरानो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयबाट उच्च शिक्षाको प्रमाणपत्र लिन चाहनेको संख्या ठूलै छ ।

विभागमा विद्यार्थी संख्या बढ्नुमा योजनाभन्दा पनि विद्यार्थीका लागि सहज वातावरण भएको स्वयं विभागका प्रमुखको भनाइले स्पष्ट पार्छ । विद्यार्थी संख्या बढेसँगै विभागको काँधमा जिम्मेवारी भने बढेको छ । विद्यार्थी संख्या बढे भनेर चुप लागेर बस्नु उचित हुँदैन । ती विद्यार्थीको पठनपाठनमा विचार पु¥याई स्तरीय शिक्षाको प्रमाण पेस गर्न सकियो भने आगामी शैक्षिक वर्षमा पनि विद्यार्थीको चाप बढ्दै जान्छ ।

विश्वविद्यालय तथा विभागले तयार पारेको कार्ययोजना कार्यान्वयन हुँदै गयो भने स्वदेशमै रहेर केही गर्छु भन्ने सोच भएका युवा जनशक्तिले विश्वविद्यालय तहको उच्च शिक्षा पाउन सक्छन् र उनीहरुले आआफ्ना कार्यक्षेत्रबाट समृद्ध राष्ट्र निर्माणको अभियानमा सहयोग गर्न सक्छन् । विश्वविद्यालय तथा विभागका योजना सफल बनाउँदै जानु भनेको नेपालकै जेठो विश्वविद्यालयको गरिमालाई बढाउँदै लैजानु पनि हो । यो अवसरलाई कुनै पनि हालतमा गुमाउनु हुँदैन ।

प्रतिक्रिया दिनुहोस्