नयाँ जिल्लामा संचारको बिस्तार हुँदै, दुई रेडियो एकैसाथ प्रशारणको तयारीमा



धनवीर दाहाल,रुकुम ।
संघियताले जन्माएको नयाँ जिल्ला रुकुम पुर्वलाई सञ्चारको पहुँचमा पुर्याउन पहल थालिएको छ । स्थानीय संचार माध्यम नभएको रुकुम पुर्वमा दुई वटा एफएम रेडियो संचालनको तयारीमा छन् ।
दर्ता लगायतका सबै प्रक्रिया पूरा गरेर रेडियो पूर्वी एफएम र रेडियो रुक्मिणी एफएम निर्माणको काम अन्तिम चरणमा पुगेको हो ।
पूर्वी रुकुम बहुउद्देश्यीय समाज विकास केन्द्र र जिल्लाका तीन स्थानीय तहको साझेदारीमा रेडियो पूर्वी एफएम सञ्चालन हुन लागेकोे बताइएको छ । जसका लागि भूमे, पुथा उत्तरगंगा र सिस्ने गाउँपालिका तथा संस्थाको तर्फबाट २०÷२० लाख रुपैयाँ गरी ८० लाख रकम लगानी भएको संस्थाका उपाध्यक्ष शालिन पुनले बताउनुभयो ।

रेडियो स्टेशन निर्माणको ७० प्रतिशत काम पूरा भएको उहाँले जानकारी दिनुभयो । रुकुम पूर्वमा कुनै पनि मिडिया नभएपछि नागरिकसम्म सूचना सम्प्रेषण गर्न जिल्लाका सबै गाउँपालिका र संस्थाको साझेदारीमा रेडियो निर्माण काम भइराखेको रेडियो निर्माण निर्देशन समितिका संयोजक तथा सिस्ने गाउँपालिकाका अध्यक्ष कुमारी बरालले बताउनुभयो ।

रेडियोले हरेक विकासका गतिविधि, जानकारी तथा चेतनामूलक सामाग्रीहरु प्रशारण गरी नागरिकमा सन्देश दिनेमा लक्ष्य राखेको संस्थाले जनाएको छ । त्यस्तै रेडियो रुक्मिणी एफएम जनचेतनाका लागि सामुदायिक रुक्मिणी सञ्चार केन्द्रद्वारा सञ्चालन हुने भएको छ ।
भिजन कृषि सहकारी संस्थाको केहि लगानी रहेको र तीनवटा गाउँपालिकालाई ५÷५ लाख रकम अनुदान माग गरिएको संस्थाले जनाएको छ ।

यो रेडियो निर्माणको काम करिब ६० लाख रकम लाग्ने अनुमान गरिएको छ । दुवै एफएम रेडियोहरु एकहजार वाट क्षमताका रहेका छन् । रेडियो पूर्वी एफएमको फ्रिक्वेन्सी १०३ दशमलव २ मेगाहर्ज र रेडियो रुक्मिणी एफएमको फ्रिक्वेन्सी ९२ दशमलव २ मेगाहर्ज रहेका छन् ।
दुवै एफएमको निर्माण कार्य बैशाख महिना भित्रमा सकेर प्रसारण गर्ने तयारी भएको जनाएका छन् । रेडियो पूर्वीको स्टुडियो सिस्ने गाउँपालिका –५ टाकुरा र रेडियो रुक्मिणीको स्टुडियो सिस्ने गाउँपालिका –६ छिप्रीदहमा रहेको छ । कुनैपनि सञ्चार माध्यम नभएको जिल्लामा दुईवटा रेडियोहरु एकैसाथ प्रसारण हुन लागेकोमा स्थानीय उत्साहित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्