राप्रपाको दोस्रो चरणको आन्दोलनको लागि कार्यदल गठन



नेपाल समाचारपत्र, काठमाडौं ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको शनिवार बसेको केन्द्रिय कार्यसमितिको आकस्मिक बैठकले दोस्रो चरणको आन्दोलनलार्य थप प्रभावकारी बनाउन वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा सात सदस्यीक कार्यदल गठन गरेको छ । कार्यदललाई सात दिन भित्र कार्ययोजना पेश गर्न केन्द्रिय समितिले निदेृशन पनि दिएको छ ।

पहिलो चरणको कार्यक्रमको अनुभव र जनताको भावनालाई दृष्टिगत गर्दै दोश्रो चरणको संघर्षलाई थप उचाइ प्रदान गर्न, सशक्त र प्रभावकारी बनाउन, संघर्षको मोडल र कार्यक्रम तय गर्न गठन गरिएको कार्यदलमा महामन्त्रीत्रय राजेन्द्र लिङ्देन, डा.धवल शमशेर राणा, भाष्कर भद्रा, प्रदेश नं.३ कार्य समितिका अध्यक्ष विक्रम बहादुर थापा, महिला संगठनकी अध्यक्ष कुन्ती कुमारी शाही र युवा संगठनका अध्यक्ष प्रकाश रिमाल सदस्य रहेका छन् ।

राप्रपाले आज आइतवार गर्नेे राजमार्ग र चोकहरुमा सत्याग्रहको गर्ने भनिएको पुर्व घोषित कार्यक्रम स्थगित भने गरिएको छ । यो कार्यक्रमलाई दोश्रो चरणको संर्घषमा समावेश गरिने प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिनुभएको छ । राप्रपा केन्द्रिय समिति बेठकले पहिलो चरणको जनसंघर्षको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रशासनिक हस्तक्षेप र धरपकडको निन्दा एवं भर्तसना गरेको छ । राप्रपा बैठकले सरकारलाई आफ्नो पार्टीले उठाएका मागहरूका सम्बन्धमा गम्भिर बन्न तथा दमन र हस्तक्षेपबाट नभइ वार्ता, सम्बाद र सहमतिका आधारमा सम्बोधन गर्न आग्रह पनि गरेको छ ।

राप्रपाले फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई हिन्दु राष्ट्रको पुनःस्थापना, राजा सहितको लोकतन्त्र स्थापनाका लागि सर्वपक्षीय गोलमेच सम्मेलन, संघीयता बारे जनमतसंग्रह, राष्ट्रिय अखण्डताको रक्षा, भ्रष्टाचारको अन्त्य, मुल्य वृद्धि नियन्त्रण लगायतका २२ बुँदे माग राखी राप्रपाले पहिलो चरणको जनसंघर्ष शुरु गरेको थियो । जनसंघर्षका क्रममा मेची महाकाली १५ दिने राष्ट्रिय स्वाभिमान यात्रा, हिन्दु राष्ट्रका लागि देशव्यापी हस्ताक्षर संकलन अभियान, संघ, प्रदेश र जिल्लाका प्रशासनिक र विकास केन्द्रीत कार्यालयमा धर्ना, धर्म निरपेक्षताको ब्यानर र पोष्टर जलाउने कार्यक्रमहरु उत्साहजनक रुपमा सम्पन्न भएको केन्द्रिय समितिले ठमयाएको छ ।

राप्रपा बेठकले हिन्दु राष्ट्रको पुनःस्थापना, राजसंस्था लगायतका मुद्दामा समान विचार भएका दल, संस्था र व्यक्तिलाई सहकार्य र एकताका लागि आव्हान पनि गरेको छ । राप्रपा बैठकले हिन्दु राष्ट्रको पक्षमा हुने संघर्ष र आन्दोलनमा सडकमा उत्रन विभिन्न धार्मिक संघ, संस्था, धार्मिक समुदाय र आम जनसमुदायलाई आग्रह पनि गरेको छ ।

प्रतिक्रिया दिनुहोस्