भन्सार राजश्व लक्ष्यभन्दा बढी असुली   



रसुवा,  चालू आर्थिक वर्षको साउनदेखि चैत मसान्तभित्र रसुवा भन्सारले वार्षिक लक्ष्यभन्दा बढी राजश्व असुली गरेको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख भन्सार अधिकृत पुण्यविक्रम खड्काका अनुसार वार्षिक लक्ष्य रु सात अर्ब ६२ लाख ६४ हजार भन्सार शुल्क असुल गर्ने वार्षिक लक्ष्य निर्धारण भए पनि नौ महीनाको अवधिमा रु आठ अर्ब सात करोड ७७ लाख ९० हजार असुली भएको हो ।

नेपालको उत्तरीनाका रसुवागढीबाट निर्यात सामग्रीमा कमी भए पनि आयात सामग्रीको परिमाणबाटै नौ महीनाको अवधिमा १३६ प्रतिशत राजश्व असुली गर्न सफल भएको र भन्सार ऐन नियमबमोजिम सही मूल्याङ्कनबाटै कम अवधिमा लक्ष्यभन्दा बढी राजश्व आर्जन गर्न सफल भएको भन्सार कर्मचारीले बताएका छन् ।

सामान परीक्षण गर्ने स्थलदेखि घट्टेखोलातर्फको राजमार्गमा सिसी क्यामरा जडान, सशस्त्र प्रहरीलगायत सुरक्षा निकायको नियमित गस्तीबाट चोरी निकासी नियन्त्रण भएको, अन्यत्र पदमार्गबाट हुनसक्ने चुहावट बन्द भएको, चीनको केरुङबाट सामान लिई आएका मालबाहक सवारीसाधन छिटो जाँचपास गर्ने परिपाटी बसालिएको भन्सार कार्यालयले जनाएको छ ।

केरुङबाट आयात भएका सामानमध्ये बिग्रन सक्ने फलफूललाई पहिलो प्राथमिकता र अन्य सामानको हकमा लामबद्ध तबरले जाँचपास गरी मालबाहक सवारीसाधनलाई आफ्नो गन्तव्यतर्फ जान छोडपूर्जी दिने गरेको बताइएको छ ।

नेपालका विभिन्न भागमा निर्माण हुँदै गरेको जलविद्युत्मा प्रयोग हुने उपकरण एवं चीनमा निर्मित सामग्रीसमेत रसुवागढी नाकाबाट आउने गरेको भन्सार कार्यालयले जानकारी दिएको छ । नेपाली बजारमा खपत हुने जुत्ता, चप्पल, रोलकपडा, विद्युतीय सामान, बच्चाका खेलौना, थर्मस, कुकर, ब्याङ्केट, तयारी पोशाक, फलफूलतर्फ स्याउ, नासपतीलगायतका सामग्री चीनबाट आयात हुने गरेको प्रमुख अधिकृत खड्काले जानकारी दिनुभयो ।

विसं २०७२ को भूकम्प असरले सिन्धुपाल्चोकको तातोपानी नाका बन्द भएपछि चिनियाँ सामान आयातका लागि रसुवागढी नाका केन्द्रित सयाँै व्यापारी व्यवसायी पछिल्लो चरणमा कमी आएको छ । पछिल्लो चरणमा व्यवसायी कमी आउनुको कारण भने वर्तमान भन्सार प्रमुखले मूल्याङ्कनमा कडाइ गरेको हुनसक्ने स्थानीय अनुमान छ ।
रासस

प्रतिक्रिया दिनुहोस्