पर्सामा कुष्ठरोगी थपिए



कृष्णउदास खनाल, वीरगन्ज ।
पर्सा जिल्लामा कुष्ठरोगीहरुको संख्या बढेको पाइउको छ ।

जिल्लाको विन्दबासिनी गाउँपालिकामा ७ जना नयाँ कुष्ठरोगी फेला परेका छन् ।

विन्दवासीनी गाउँपालिकाको वडा नं ३ झौवागुठीमा ३ जना, वडा नं ४ अमरपट्टीमा २, प्रसौनी भाठामा १ र बहुअर्वाभाठामा १ जना गरी ७ जना कुष्ठरोगी फेला परेका हुन् । थप १ जना शंकास्पद व्यक्तिलाई आवश्यक जाँचका लागि लालगढ अस्पतालमा पठाइएको छ ।

विन्दबासिनी गाउँपालिकाको स्वास्थ्य महाशाखाले सञ्चालन गरिरहेको सर्च अभियानका क्रममा ७ जना नयाँ कुष्ठ रोगी फेला परेको गाउँपालिकामा कार्यरत हेल्थ असिस्टेन्ट जयमोद ठाकुरले जानकारी दिनुभयो ।

यही बुधबारदेखि नै सम्बन्धित स्वास्थ्य संस्थाबाट उनीहरुलाई कुष्ठरोगको औषधी खुवाउन शुरु गरिएको छ । कुष्ठ रोग निवारण अभियानको क्रममा ७ जना मानिसमा ६ महिने उपचारबाट निको हुने पिभी संक्रमण देखिएको र उपचार शुरु गरिएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साका क्षयकुष्ठ अधिकृत शम्भु यादवले जानकारी जानकारी दिनुभएको छ ।

‘कुष्ठ रोग निवारण अभियान मार्फत शंकास्पद व्यक्ति छनौट गर्ने क्रम जारी नै छ, थप अन्य पनि कुष्ठरोगी हुन सक्छन् ।

अभियान सम्पन्न हुँदासम्म कुष्ठरोगीको संक्रमण बढ्न सक्छ’ उनले भने ‘ उनीहरुको उपचार शुरु गरिसकेका छौं, नियमित औषधी सेवन गरेको खण्डमा कुष्ठरोग निको हुन्छ आत्तिनुपर्ने अवस्था छैन् ।’ पर्सा जिल्लामा १ सय ११ जना कुष्ठरोगी नियमित उपचारमा छन् ।

प्रतिक्रिया दिनुहोस्