सहकारीले शेयर सदस्यलाई फाइदा पुग्ने गरी लगानी गर्नु पर्छ: सांसद पौडेल



रामचन्द्र विक, रामेछाप ।
प्रदेश नम्बर तीनका सांसद शान्ती प्रसाद पौडेलले सहकारी संस्थाहरुले शेयर सदस्यहरुलाई प्रत्यक्ष फाइदा पुग्ने गरी लगानी गर्नु पर्नेमा जोड दिनुभएको छ । पछिल्लो समयमा सहकारी संस्थाहरु ऋण लगानीमा बढी केन्द्रित हुन थालेको भन्दै सांसद पौडेलले ऋण लगानीले मात्रै शेयर सदस्यहरुलाई प्रत्यक्ष फाइदा नपुग्ने बताउनु भएको हो ।

शनिबार रामेछापमा गौरीशंकर कलस्टरको १८ औं कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला गोष्ठीमा बोल्दै उहाँले उत्पादनमूलक क्षेत्रमा लगानी गर्नु पर्नेमा जोड दिँदै यस्तो बताउनु भएको हो ।

त्यस्तै उहाँले प्रदेश तीन सरकारले सहकारी ऐन बनाइसकेकोले त्यसको कार्यन्वयले सहकारी विकासमा थप टेवा पुग्ने बताउनुभयो । प्रदेश सरकारले बनाएको सहकारी ऐनमा एउटा सहकारीमा सदस्य बनेको व्यक्ति अर्को सहकारीको सदस्य बन्न नपाउने गरी बनेको हुँदा त्यसको कस्तो असर पर्छ भन्ने विषयमा छलफल गरेर सरकारलाई सुझाब दिन समेत उहाँले आग्रह गर्नुभयो ।

त्यस्तै गोष्ठीमा बोल्दै नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीका अध्यक्ष श्याम थापाले सहकारीहरु बीच एकआपसमा सहकार्य नहुँदा बैंकहरुसँग प्रतिस्पर्धाले थप चुनौती थपिदै गएको बताउनुभयो । एक दिने गोष्ठीमा गौरीशंकर कलस्टर अन्तरगत दोलखा र रामेछाप गरी १० ओटा सहकारीहरुको सहभागिता रहेको छ ।

गोष्ठीले आगमी तीन महिना भित्र आफ्नो सहकारीलाई उत्कृष्ठ बनाउने गरी कार्ययोजना समेत बनाउने छ । कार्यक्रम नवजागरण बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थलीको आयोजना तथा नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ लिमिटेडको प्राविधिक सहयोगमा भएको हो ।

प्रतिक्रिया दिनुहोस्