छात्रा हत्याकाण्डमा प्रधानाध्यापक मुछिए



ढाका, (एजेन्सी)
बंगलादेशमा गत साता हत्या गरिएकी नसरत जहाँ रफी नामक छात्रालाई उनकै प्रधानाध्यापकले आगो लगाउन आदेश दिएको विस्तृत अनुसन्धानपछि प्रहरीले शुक्रबार जनाएको छ।

१९ वर्षीया रफीमाथि यौन दुव्र्यवहारसमेत भएको भन्दै प्रहरीमा उजुरी दर्ता गरिएपछि उनलाई सो उजुरी फिर्ता लिन दबाब दिइएको थियो। तर उनले उजुरी फिर्ता लिन नमानेपछि आरोपित प्रधानाध्यापकले उनको शरीरमा मट्टितेल छर्केर आगो लगाउन आदेश दिएको अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ।

नसरतको हत्यालाई लिएर देशव्यापी व्यापक विरोध प्रदर्शन शुरु भएपछि प्रधानमन्त्रीले घटनामा संलग्न जो कोहीलाई कानुनी कठघरामा उभ्याइने प्रतिबद्धता जनाएकी थिइन्।

यस हत्याकाण्डको आरोपमा पक्राउ परेका १७ जनामध्ये १ आरोपितले प्रहरीसमक्ष उनलाई एउटा घरको छतमा लगेर उजुरी फिर्ता लिन दबाब दिइएको र नमानेपछि मट्टितेल छर्केर उनलाई जलाइएको साविती बयान दिएको अनुसन्धानमा संलग्न वरिष्ठ प्रहरी उपरीक्षक मोहम्मद इकबालले सञ्चार माध्यमलाई जानकारी गराएका छन्। बयानमा पक्राउ परेका आरोपितमध्ये ५ जनाले रफीलाई एउटा पछ्यौराले बाँधी आगो लगाएको जनाइएको छ। उक्त घटनामा ३ जना रफीकै सहपाठीसमेत रहेका खुल्न आएको छ।

किशोरीले आत्महत्या गरेको पुष्टि गर्ने योजना उक्त समूहको रहेको भए पनि आगोले जलेर पछ्यौराले बाँधिएका हातखुट्टा खुलेपछि रफी आगो सल्किएकै अवस्थामा भवनको तल्लो तलामा झर्न सफल भएको भेटिएको प्रहरी उपरीक्षक इकबालले बताएका छन्।

शरीरको करिब ८० प्रतिशत भाग आगोले जलेकी रफीको उपचारका क्रममा अप्रिल १० मा मृत्यु भएको थियो। रफीको मृत्युपूर्व उनले भिडियो रेकर्ड गरी आफ्ना प्रधानाध्यापकलाई दोषारोपण गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस्