चउरमा चौंरीको बथान



गणेश साम्पाङ/फालेलुङ पाँचथर
भारत कर्णाटककी निवेदिका सिंह यसपटक पनि पाँचथरको फालेलुङमा चौंरी चढेर आनन्द लिइन्।
पाँचथरको फालेलुङ गाउँपालिकाको ४ नं. वडाको चाररातेमा सालिन्दा आयोजना हुने चौंरी महोत्सवको तेस्रो संस्करण यसपटक पनि वैशाख १ गते सम्पन्न भयो।
परम्परागतरूपमा हिमाली क्षेत्रमा वर्षौंदेखि चलिरहेको चौंरीपालन व्यवसायलाई व्यवस्थित गर्दै आयआर्जनसँग जोडेर आर्थिक उपार्जन गर्ने उद्देश्यले सो महोत्सव आयोजना गरिएको हो। यसअघिका दुईवटा महोत्सव स्थानीय संस्थाले आयोजना गरेको थियो भने यसपटकदेखि चौंरी महोत्सवलाई गाउँपालिकाको एउटा वार्षिक कार्यक्रमका रूपमा आयोजना गर्न शुरू गरिएको फालेलुङ गाउँपालिकाका प्रवक्ता जीवन राई बताउनुहुन्छ।
पाँचथरको फालेलुङ गाउँपालिकाको ४÷५ र ६ नं. वडा र याङवरका गाउँपालिकाको १ र २ नं. वडामा वर्षौंदेखि चौंरीपालन व्यवसाय चलिरहेको चौंरी महोत्सव सहआयोजक संस्था दीपज्योेति युवा क्लब फालेलुङका कार्यकारी निर्देशक सुनील बान्तावा भन्नुहुन्छ। परम्परागतरूपमा वर्षौंअघिदेखि चलिरहेको चौंरीपालन व्यवसायलाई पर्यटन प्रवद्र्धनसँग जोडेर आर्थिक उपार्जन गर्न सकिन्छ भन्ने सन्देश बाँड्न यो महोत्सव आयोजना गर्ने गरिएको सहआयोजक संस्था फालेलुङ कञ्चनजंघा पर्याप्रर्यटन प्रवद्र्धन संस्थाका अध्यक्ष डिल्लीकुमार केरुङ भन्नुहुन्छ।
‘संसारमा धेरै महोत्सव हुन्छन् तर ती महोत्सवमध्ये पनि यो चौंरी महोत्सवको विशेषता फरक रहेको पाएँ त्यसैले म यो दोस्रो पटकको चौंरी महोत्सवमा पनि आएको छ’, भारत कर्णाटककी निवेदिका सिंह भन्नुहुन्छ– ‘मैले जीवनमा धेरै विज्ञानप्रदत्त साधन चढें अनि प्रकृतिप्रदत्त घोडा, हात्ती चढें तर चौंरी भने गत वर्ष यही ठाउँमा आयोजना भएको महोत्सवमा पहिलोपटक चढेकी थिएँ, त्यही चौंरी चढ्न यसपटक पनि आएकी छु।’
‘नेपालको जस्तो हावापानी भएका संसारमा धेरै देश छन् तर चौंरी भने नेपाल, भारत, चीन र भुटानमा मात्र पाइन्छ, त्यसैले पनि संसारभरका पर्यटकहरूको मन चौंरीपालन व्यवसायले खिच्न सक्छ। यसलाई हामीले व्यवस्थित बनाउनुपर्छ। चौरीलाई दूध लिनका लागि मात्र होइन, बहुउपयोगका लागि पनि पाल्नुपर्छ’ –संरक्षणको क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्था इसिमोडका प्रतिनिधि टासी दोर्जे शेर्पा भन्नुहुन्छ।
‘चौंरीपालन व्यवसायलाई चौंरीपालक साथीहरूले पर्यटक आकर्षण र आर्थिक उपार्जनसँग गाँसेर लैजानुपर्छ अनि हामीले खोजेको समृद्धि सपना पनि पूरा हुन्छ’ –महोत्सवका प्रमुख अतिथि प्रदेश–१ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले बताउनुभयो। यो कार्यक्रमलाई प्रदेश–१ को कार्यक्रमसरह बनाएर अघि बढाउन सहयोग गर्ने मन्त्री आङ्बोले बताउनुभयो। कार्यक्रममा चौंरीको दूधबाट तयार छुर्पी, घिउ, खीर र चौरीसँग सम्बन्धित सामग्रीको प्रदर्शनी तथा बिक्री कक्षसमेत राखिएको थियो।
नयाँ वर्षको अवसर पारेर आयोजना गरिएको सो महोत्सवमा पाँचथरको विभिन्न गाउँपालिकाका आन्तरिक तथा ताप्लेजुङ, इलाम, झापा, भारत, भुटानका बाह्य पर्यटकको समेत उपस्थिति रहेको थियो। ‘भुटानको लेक क्षेत्रतिर चौंरी पाल्ने गर्छन् भन्ने सुनेको थिएँ तर देखेको थिइनँ, आज भने चौंरीलाई नजिकबाट देखें, हेरे, फोटो खिचें’ –भुटानको जय गाउँबाट आएका छिरिङ भोटियाले चौंरीसँग फोटो खिच्दा खिच्दै बताउनुभयो।
मानव बस्ती नभएको सो स्थानमा महोत्सव आयोजना भए पनि दर्शकको उपस्थिति भने उल्लेख्य रहेको थियो। कार्यक्रमस्थलमा तीन सयको संख्यामा चौंरी भेला परिएको थियो भने चौंरी चढ्ने (याक राइडर) प्रदर्शनी, चौंरी गोठालाहरू सम्बन्धित खेल र कलाहरूको प्रर्दशनी पनि गरिएको थियो। खुला चउर र मानव बस्ती नभएको उच्च स्थानमा कार्यक्रम आयोजना गरिएको हुनाले आकाश गर्जनसिाथ दर्शक आत्तिएर चौंरी गोठतिर दौड्ने घुइँचो भने निकै अत्यासपूर्ण देखिन्थ्यो।
मेचीका पहाडी जिल्ला इलाम, पाँचथर र ताप्लेजुङको हिमाली क्षेत्रमा वर्षौंदेखि चलिरहेको चौंरीपालन व्यवसाय केही वर्षदेखि घट्दै गइरहेको छ। खास गरी चौंरीपालन व्यवसायका लागि चाहिने जनशक्तिको अभाव र सुविधामुखी जीवन पद्धति अपनाउने मानवीय गुणका कारण चौंरीपालन व्यवसाय घट्दो अवस्थामा रहेको चौंरी फालेलुङ–६ का चौंरीपालक राजेन्द्र राई भन्नुहुन्छ। ‘५÷६ वर्ष अघिसम्म इलाम, पाँचथरमा मात्र ३५ गोठ जति चौंरी थिए, अहिले ३० को हाराहारीमा छन्’ –याङवरक–१ का चौंरीपालक लुम्ले भोटिया भन्नुहुन्छ।
फाइदाको हिसाबले त चौंरीपालन व्यवसाय राम्रै छ, नाफा पनि छ तर काम गर्ने मान्छे पाइँदैन। चोरी गोठका लागि युवाहरू चाहिन्छ, भएका युवा खाडी र कोरिया पसिना बगाउँदै छन् त्यसैले चौंरीगोठ छाडेर बोर्डिङ चलाउँदै छु’ –याङवरक–१ च्याङथापुमा चौंरीपालन व्यवसाय छाडेर बोर्डिङ चलाइरहेका गर्नमान गुरुङ भन्नुहुन्छ।
‘हामी यहाँ चौंरीबाट छुर्पी, घिउ, दूध तथा छाला र रौंबाट बनेका केही सामग्री मात्र बिक्री गर्छौं तर भारतको सिक्किममा भने इलाममा जसरी पर्यटकलाई घोडा चढाएर पैसा लिइन्छ त्यसरी नै उपयोग गर्छन्, जसलाई याक राइडर भनेर चिनिन्छ’ –कञ्चनजंघा पर्यापर्यटन प्रवद्र्धन संस्थाका उपाध्यक्ष तथा चौंरीका जानकार शिल्पकुमार राई भन्नुहुन्छ।
‘चौरी खास गरी हिमालको गहना हो। जसरी गहनाबिनाको युवती सुन्दर देखिँदैन त्यसरी नै चौंरीबिनाको हिमाल पनि सुन्दर हुँदैन, त्यसैले पनि चौंरीको महत्व छ। फेरि चौंरी प्राकृतिक पर्यावरणीय हिसाबले र धार्मिक महत्वले पनि यसको अर्थ छ। चौंरीको पुच्छर हिन्दू, बौद्ध र किराँत धर्मावलम्बी समुदायलाई आवश्यक सामग्री पनि हो’ –संरक्षणको क्षेत्रमा कार्यरत संस्था दीपज्योति युवा क्लबका कार्यकारी निर्देशक सुनील बान्तावा भन्नुहुन्छ।
‘चौंरीपालन व्यवसाय परम्परागत एउटा व्यवसाय मात्र नभएर यसको धार्मिक, सांस्कृतिक, आर्थिक र पर्यावरणीय पक्षले समेत महत्व रहेको हुनाले चौंरीपालन व्यवसायलाई व्यवस्थित गर्दै आयआर्जनसँग जोड्न महोत्सव आयोजना गरिएको हो। अब यो कार्यक्रममार्फत हाम्रो चिनारी पनि बढ्नेछ’ –फालेलुङ गाउँपालिका पाँचथरका अध्यक्ष सञ्चकुमार केरुङ भन्नुहुन्छ।
‘भुटानको लेक क्षेत्रतिर चौंरी पाल्ने गर्छन् भन्ने सुनेको थिएँ तर देखेको थिइनँ। आज भने चौंरीलाई नजिकबाट देखें, हेरें, फोटो खिचें’ –भुटानको जय गाउँबाट आएका छिरिङ भोटियाले चौंरीसँग फोटो खिच्दा खिच्दै बताउनुभयो।
प्रतिक्रिया दिनुहोस्