पाकिस्तानमा बसबाट ओरालेर १४ यात्रुको हत्या



काठमाडौं । पाकिस्तानको बलूचिस्तान प्रान्तमा बन्दुकधारीहरुले १४ जना यात्रुको गोली हानी हत्या गरेका छन् ।

हमलावरहरु १५–२० जना थिए तर उनीहरुको पहिचान र नरसंहारको कारण भने खुल्न सकेको छैन । घटना बिहीबारको हो । हमलावरहरुले बुजी टाँप ईलाकाको मकरान कोस्टल राजमार्गमा बाटो छेकेर ६ वटा बस रोकेका थिए ।

कराँचीबाट ग्वादर गइरहेको बसबाट छानीछानी १६ यात्रुलाई ओरालेर उनीहरुमाथि गोली चलाइएको पाकिस्तानको डन न्यूजले लेखेको छ । बसबाट २ जना यात्रु भागेर ज्यान जोगाउन सफल भए । उनीहरुलाई अस्पताल भर्ना गराइएको छ ।

बलूचिस्तानको मस्तुंग क्षेत्रमा सन् २०१५ मा पनि यस्तै नरसंहारकारी घटना भएको थियो । त्यतिबेला हमलावरहरुले बसबाट ओरालेर २४ जना यात्रुको अपहरण गरेका थिए । ती मध्ये १९ जनाको गोली हानी हत्या गरेका थिए ।

पाकिस्तानको क्वेटामा गतसाता हजारा समुदायलाई निशाना बनाएर आतंककारी हमला हुँदा २० जनाको ज्यान गएको थियो । प्रहरीले क्वेटा नरसंहारको छानविन नसक्दै फेरी अर्को सामूहिक हत्याको घटना भएको छ ।

प्रतिक्रिया दिनुहोस्