आठौंको औपचारिक रुपमा उद्घाटन



कविरस शर्मा/कुमार श्रेष्ठ, बाँके ।
राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालगञ्ज रंगशालामा उद्घाटन गर्नुभएपछि आठौं राष्ट्रिय खेलकुदले औपचारिकता पाएको छ ।

राष्ट्रपति भण्डारीले खेलकुदको विकासका लागि विद्यालयस्तरदेखि नै ध्यान दिनु पर्नेमा जोड दिनुभयो । उहाँले स्थानीय तहले खेलकुदको विकासका लागि ध्यान दिनु पर्ने बताउनुभयो । सुखी नेपाली, समृद्ध नेपालको अभियानमा खेलकुदले अहम भूमिका खेल्ने बताउदै राष्ट्रपति भण्डारीले खेलाडीको बृत्ति विकासमा ध्यान दिनु पर्ने बताउनुभयो । ‘विद्यालय स्तरदेखि नै खेलकुदलाई प्राथमकिता दिनु पर्छ,े, पूर्वाधार विकासमा पनि जोड दिन आवश्यक छ ।’

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताका खेलहरु भने चैत्र २७ गतेदेखि नै चलिरहेका छन् । बिहीबार उद्घाटन हुँदासम्ममा १५ वटा खेल सकिएको छ । आठौंमा ३५ वटा खेल रहेका छन् । नेपालगञ्जलाई केन्द्रविन्दुमा राखेर बाँके, बर्दिया, दाङ, रुपन्देही र कपिलबस्तुमा आठौंका खेलहरु भइरहेका छन् ।
नेपालगञ्ज रंगशालामा भीआइजी प्यारापिट र बर्मुडा घाँस रोपिएको मैदानमा विभिन्न झाँकी, जातजातीका सांस्कृतिक पहिचान झल्किने पहिरन, नाच, खेलाडी र टीमहरुको मार्चपास, कोमल वलीको टाइटल गीत, खेलाडीको तर्फबाट जुडोकी युथ ओलम्पियन सोनु भट्ट र निर्णायकको तर्फबाट भारोत्तोलनका पूर्व अन्तर्राष्ट्रिय खेलाडी समसुद्दिन सिद्धिकीले शपथ खाएका थिए ।

सांगीतिक कार्यक्रम र आतिसबाजीका साथै ओलम्पियन सुरेन्द्र हमालले ओलम्पिक टर्च बाल्नुभयो । वि.सं. २०३८ सालदेखि नेपालमा राष्ट्रिय खेलकुद शुरु भएको थियो । २०४० र २०४२ सालमा मात्रै दुई÷दुई वर्षमा राष्ट्रिय खेलकुद गर्ने रणनीति पूरा भएको थियो । त्यसपछि कहिल्यै दुई÷दुई वर्षमा राष्ट्रिय खेलकुद भएन । २०७३ मा पूर्वाञ्चालमा सातौं भएपछि २०७५÷०७६ मा आठौं भएर निर्धारित समयमा राष्ट्रिय खेलकुद भएको छ ।

चन्द्रकलाको सटपुटमा नयाँ किर्तिमान
जारी आठौं राष्ट्रिय खेलकूदअन्तर्गत बिहीबारदेखि दाङको बेलझुण्डीमा एथ्लेटिक्स सुरु भएको छ । जसमा नेपाल प्रहरीकी चन्द्रकला लामगाडेले नयाँ कीर्तिमान रच्दै स्वर्ण पदक हासिल गरिन् । उनले महिला सटपुटतपर्फ १२ दशमलव ४ मिटर फ्यालेर नयाँ कीर्तिमान राखेकी हुन् । उनले आफ्नै कीर्तिमान सुधार गरिन् । यसअघि चन्द्रकलाको ११ दशमलव ५६ मिटर फ्यालेको कीर्तिमान थियो । जुन उनले इटहरीमा भएको राखेप च्याम्पियनसिपमा राखेकी थिइन् । सोहीतर्फ प्रदेश ५ की संगीता अधिकारीले १० दशमलव १५ मिटरका साथ रजत तथा प्रहरीकी वसन्ती चौधरीले १०.०५ मिटर कांश्य पदक प्राप्त गरे ।


१ सय मिटर दौडमा महिलातर्फ नेपाल आर्मीकी सरस्वती चौधरीले १२ दशमलव १९ सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक जितिन् । प्रदेश ५ की जयरानी चौधरीले रजत र आर्मीकै कृष्णा चौधरीले कास्य पदक हासिल गरे। पुरुषतर्फ एपीएफका आशिष चौधरीले स्वर्ण पदक जिते । उनले ११ सेकण्डमा दूरी पुरा गरे । कर्णाली प्रदेशबाट यमसाजन सुनारले ११ दशमलब १० सेकेण्डका साथ रजत जित्दा आर्मीका आनन्द देव चौधरी ११ दशमलब १५ सेकेण्डका साथ कास्य पदक जिते ।

सीताको सनसनी जित
अन्तर्राष्ट्रिय पदक हासिल गरेकी एपीएफकी शोभा गौचनमाथि सनसनी जित हात पार्दै प्रदेश १ की सीता राई ब्याडमिन्टनतर्फ महिला सिंगल्समा सेमिफाइनलमा पुगेकी छन् ।


नेपाल ब्याडमिन्टन संघको ११ औं बरियतामा रहेकी सिताले तेस्रो बरियताकी शोभालाई २१–१७, २१ – १५ ले पाखा लगाएकी हुन् । सिताले फाइनल पुग्न नेपालकी नम्बर एक महिला खेलाडी नंगसल देवी तामाङविरुद्ध खेल्नेछिन् । सेनाकी खेलाडी तामाङले सेनाकै रञ्जना भट्टलाई २१–१८, २१–१२ ले पन्छाईन् ।
दाङ्ख घोराहीस्थित कभर्डहलमा भएको अर्को खेलमा सेनाकी अनुमाया राईले उदियमान खेलाडी एपिएफकी जेसिका गुरुङको यात्रा २१–१६, २१–९ ले समाप्त गरिन् । उनले सेनाकी अर्की खेलाडी रशिला महर्जनसंगको भेट पक्का गरिन् ।

पुरुष एकल तर्फ सेनाका नंम्बर एक खेलाडी रत्नजित तामाङ्ख आफ्नो स्वर्ण जित्नेतर्फ अग्रसर भएका छन् । उनले नेपाल प्रहरीका जीवन आचार्यलाई २१–१०, २१–११ ले पराजित गरे । रत्नले फाईनल प्रवेशका लागि प्रदेश १ का प्रिन्स दाहालसंग प्रतिस्पर्धा गर्ने छन् ।

 

प्रतिक्रिया दिनुहोस्