खेलमैदान अभावमा खेल संचालन गर्न सकस



किरन धामी, दार्चुला ।
दार्चुला जिल्ला सदरमुकाम खलंगामा खेलमैदान नहुँदा विभिन्न खेल प्रतियोगिताहरु आयोजना गर्न जहिले सकस हुने गरेको छ । २०७० सालमा महाकाली नदिमा आएको बिनासकारी बाढीले जिल्ला सदरमुकाम खलंगामा रहेको एक मात्र खेलमैदान बगाए पछि विभिन्न खेलकुद प्रतियोगिताहरु आयोजना तथा संचालन गर्न खेलमैदान अभावमा सकस हुने गरेको जिल्ला खेलकुद विकास समिति दार्चुलाका अध्यक्ष नारायण दाहालले बताउनु भयो ।

‘समय समयमा विभिन्न खेलकुदहरु आयोजना गर्नु पर्ने हुन्छ, सदरमुकाम आसपासमा खासै राम्रो खेल मैदान छैन् उहाले भन्नुभयो’ । जिल्ला सदरमुकाम खलंगामा रहेको एकमात्र खेलमैदानलाई बाढीले बगाएपछि बचेको केहि भागमा अहिले खेल प्रतियोगिताहरु संचालन गर्ने गरीएको उहाले बताउनु भयो । खेलमैदान अभावकै कारण कतिपय खेलहरु जिल्लाका अन्य स्थानमा रहेका खेलमैदानहरुमा संचालन गर्नु पर्ने अवस्थाको सिर्जना भएको उहाले बताउनु भयो ।

यसैविच खेलमैदान अभावकै कारण यस वर्षको जिल्ला स्तरीय ११ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता मार्मा गाउँपालिकाको केन्द्र लटिनाथमा विहीबारबाट संचालन गरीएको छ । गाउँपालिकाले लटिनाथ मन्दिरको जग्गामा खेलमैदान निर्माण गरेपछि यस वर्षको जिल्ला स्तरीय ११ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता लटिनाथमा संचालन गरीएको अध्यक्ष दाहालले जानकारी दिनुभयो ।

जिल्ला स्तरीय ११ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको उद्घाटन दार्चुला जिल्लाका सांसद प्रतिनिधिसभा सदस्य गणेश सिह ठगुन्नाले गर्नु भएको थियो । वैशाख ८ गते सम्म संचालन हुने प्रतियोगितामा भलिबल, कबड्डी, हाइजम्प, लम्जम्प, त्रिपलजम्प, ज्याबलिङ थ्रो, सटपुट लगायतका खेलहरु खेलाइने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष नारायण दाहालले जानकारी दिनुभयो । प्रतियोगितामा जिल्लाका नौ वटै स्थानिय तहका दुई टिम गरी जम्मा १८ टिमको सहभागिता रहेको उहाले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्