रुकुमपुर्वको सडक धमाधम कालोपत्रे हुँदै



धनवीर दाहाल, रुकुम ।
मध्यपहाडी लोकमार्ग अन्र्तगत रुकुम पुर्वमा सडक कालोपत्रे गर्ने कार्यले तिब्रता पाएको छ । रुकुम पुर्वको भूमे गाउँपालिका ३ किमुबोट देखि भूमे १ तुपुबाङखोला सम्म १६ किलोमिटर सडक खण्डमा कालोपत्रेको काम धमाधम भइरहेको छ । कालोपत्रेको जिम्मा पाएको चन्द्रा एण्ड वसन्त कन्स्ट्रक्सन कम्पनीले तोकिएको समयमै काम सक्ने जानकारी दिएको छ । नालीसहित सडकलाई फराकिलो बनाएपछि कालोपत्रे गर्न सुरु गरिएको ठेकेदार कम्पनी चन्द्रा एण्ड वसन्त कन्स्ट्रक्सनका इञ्चार्ज विष्णुबहादुर राउतले बताउनुभयो ।

राउतका अनुसार दिन रातको समयमा सडक कालोपत्रे भइरहेको छ । १२ महिनामा चार महिना मात्र निरन्तर काम हुने भएको र बाँकी महिना बर्षात र हिमपातले काम गर्न नसकिने भएकोले कालोपत्रेको कामलाई नरोक्न राती अनि दिउँसो काम गरिएको इञ्चार्ज राउतले जानकारी दिनुभयो । उहाँका अनुसार यही बैशाख १ गते देखि पहिलो चरण (प्रायमकोट) को कालोपत्रे सुरु गरिएकोमा असार मसान्त भित्रमै कालोपत्रे काम सम्पन्न हुने छ ।

यातायात सञ्चालनमा अवरोध नपुगोस् भनेर एकपटकमा सडकको एक साइडमा मात्रै कालोपत्रे बिच्छ्याइदैछ । बाँकी अर्काे साइडमा भने यातायातका साधन सञ्चालन भइरहेका छन् । यस सडक खण्डको लागि २८ करोड रुपैयाँ बजेट विनियोजन रहेको बताइएको छ । सात मिटर चौडा कायम गरेर सडक कालोपत्रे गरिराखेको छ । उक्त कम्पनीले एक वर्षसम्म सर्वे काम गरेको थियो भने कालोपत्रेको लागि तयारी वेस दुई वर्षमै काम पूरा गरेको हो ।

१६ किमि सडक खण्डमा भूमे ३ किमुबोट, भूमे २ खाबाङ बगर, सैपातुङ, काँक्री र भूमे १ लुकुम ठाउँ पर्दछन् । मध्यपहाडी लोकमार्ग रुकुमपूर्व र पश्चिम गरी १ सय २३.५ किमि लामो रहेको छ । यी दुई जिल्लामा पर्ने मध्यपहाडी लोकमार्ग ८ खण्डमा विभाजन गरेर स्तरोन्नतिको काम भइराखेको छ । सडक पिच भइसकेपछि सर्वसाधरणमा समय र पैसाको बचत हुनुका साथै व्यापार व्यवसायमा सहज पुग्ने भूमे गाउँपालिकाका अध्यक्ष रामसुर बुढा मगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्