महेन्द्र आदर्श चिकित्सालयलाई शुभकामना



चितवनवासीलाई औलोको प्रकोपबाट मुक्त गर्ने अभिप्रायले वि.सं. ०१३ मा महेन्द्र आदर्श चिकित्सालयका नाममा स्थापित भरतपुर अस्पतालले स्तरीय उपचार सेवासँगै प्रगतिपथमा लम्कन सफल भएको छ । भरतपुर अस्पताल जिल्ला, प्रदेश हुँदै गत फागुनदेखि संघीय सरकारको मातहतमा रहने गरी केन्द्रीय अस्पतालका रुपमा स्तरोन्नति भइसकेको छ । यो अस्पताल अहिले ६० सय शय्याको भव्य महलमा परिणत भइसकेको छ । ०६२÷६३ सालसम्म औसत जिल्ला अस्पतालकै रुपमा रहँदै आएको भरतपुर अस्पतालले ५६औँ वार्षिकोत्सव मनाउँदै गर्दा सफलताको फड्को मात्रै मारेको छैन, पहिले सरकारी अस्पताल भनेर नाक खुम्च्याउनेका अगाडि निजी अस्पतालहरुलाई चुनौती दिएर अगाडि बढिसकेको छ ।

सरकारले हरेक प्रदेशमा सरकारी मेडिकल कलेज बनाउने घोषणा गरेको छ । भरतपुर अस्पताललाई उच्चस्तरीय स्वास्थ्य सेवा दिने रिफरल अस्पतालका साथै सरकारी मेडिकल कलेज बनाउने गुरूयोजना पनि सरकारले स्वीकृत गरिसकेको छ । अस्पताललाई एक हजार शय्यामा स्तरोन्नति गर्दै शैक्षिक प्रतिष्ठान बनाउने उद्देश्यले मूर्तरुप लिने संकेत पनि देखिँदै छ । सो अस्पताल बिरामीको उपचार गर्ने थलो मात्रै नभएर डाक्टर उत्पादन गर्ने प्रतिष्ठान बन्ने दिशामा अघि बढ्नु चितवनवासीका लागि गर्वको विषय हो ।

प्रायः गरिब तथा विपन्नले उपचार गर्ने अस्पतालका रुपमा परिचित यस अस्पतालले केही वर्षयता असामान्य सेवा प्रदान गरेपछि आममानिसको विश्वास आर्जन गर्न सफल भएको छ । आफ्नै फार्मेसी सञ्चालन गर्दै आएको भरतपुर अस्पतालमा दैनिक औसत ६५० बिरामीको उपचार र वार्षिक २ लाखभन्दा बढी बिरामीले सेवा लिएबाटै यस अस्पतालप्रति आकर्षण र विश्वास रहेको पुष्टि हुन्छ ।

भरतपुर अस्पतालले स्तरीय स्वास्थ्य सेवाका साथै शैक्षिक कार्यक्रम पनि सञ्चालन गर्दै आएको छ । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानअन्तर्गत एमडी÷एमएस कार्यक्रम र नर्सिङ कार्यक्रमअन्तर्गत प्रमाणपत्र तह र स्नातक तहमा विद्यार्थी अध्ययन गरिरहेका छन् । पछिल्लो समय निजी अस्पतालहरुको लुटतन्त्रबाट आजित भएका सेवाग्राहीका लागि सरकारी अस्पताल नै उपयुक्त विकल्प बन्न पुगेको छ । महँगो शुल्क तिर्दैमा स्वास्थ्य सेवा स्तरीय हुने पनि होइन । बिरामीको विश्वास आर्जन गरेर स्तरीय उपचार गराउने हो भने निजी अस्पतालको चर्को शुल्कबाट कोही पनि सेवाग्राही पिल्सिन पर्दैन ।

सरकारी अस्पताल आफैँमा सक्षम रहने हो भने निजी अस्पतालहरुको व्यापारिक मनोवृत्ति र मनोमानी प्रवृत्ति पनि घट्दै जान्छ । लाखौँ सेवाग्राहीको भरोसाको केन्द्र बनेको केन्द्रीयस्तरको अस्पतालमा बेलाबेलामा लापर्बाहीका घटनाहरु हुनुचाहिँ दुःखद पक्ष हो । चिकित्सक तथा स्वास्थ्यकर्मीहरु बिरामीप्रति संवेदनशील बन्न सके यस अस्पतालले अझै विश्वास आर्जन गर्न सक्छ । मेडिकल सिटीका रुपमा परिचित चितवनको सदरमुकाममा अवस्थित भरतपुर अस्पताललाई विशिष्ट सेवासहित चाँडै प्रदेश ३ को ‘सरकारी मेडिकल कलेज’ बनाउन सकिए अझै धेरै सेवाग्राहीहरु लाभान्वित हुनेछन् ।
– रविना ओझा, भरतपुर ।

धर्मको सम्मान गरौं
यति बेला कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल हिन्दू राष्ट्र र राजासहितको प्रजातन्त्र माग्दै हस्ताक्षर संकलनमा जुटेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) को ब्यानरमा पशुपतिशमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी पनि ‘साधु’ अघि–पछि लगाएर हिन्दू राज्य र राजा चाहिने नारा लगाउँदै छन् । यी सबैको केन्द्रमा रहेका पूर्वराजा ज्ञानेन्द्र यति बेला सर्वसाधारणसँग ‘सेल्फी’ खिचाउँदै तराई र पहाड डुलिरहेका छन् । यही मेसोमा क्षत्री समाज नेपालले पनि हिन्दू राज्यको मागलाई जोडतोडले उठाउन थालेको छ । सुस्ताएको क्षत्री समाजले पोखराबाटै आफूहरुलाई विभेदमा पारिएको गुनासो गर्दै हिन्दू राज्यकै अलाप निकालेको छ ।

संविधानले देशलाई धर्मनिरपेक्ष बनाएको छ । तर संविधानको यही व्यवस्थाको सेरोफेरोमा विभिन्न समूहहरुको गतिविधि हेर्दा लाग्छ, ‘धर्म निरपेक्षता’को यो मुद्दा अझै पेचिलो बन्ने सम्भावना रहेको छ । हिन्दू बहुल देशमा हिन्दूहरुको सहानुभूति पाउन सके सत्तामा जाने बाटो खुल्ने धेरैको आश छ । निभ्न लागेको धुनीमा रोटी सेक्ने यो अभियानमा पूर्वराजाभन्दा हिजो उनकै वरिपरि रहनेहरु सक्रिय बनेपछि त्यसले देशको राजनीतिमा एकखाले शंकाको बीजारोपण भने गरेकै छ ।

गणतन्त्र नेपालका पहिलो राष्ट्रपतिले पोखरामा आयोजित एक कार्यक्रममा ‘सनातन धर्म’ भन्ने संविधानमा लेखिएको वाक्य सम्झाउँदै धर्म परिवर्तनविरुद्ध कानुन बनाउनुपर्ने आशय व्यक्त गर्नु पक्कै संयोग हैन । संविधानको रक्षा गर्दै अगाडि बढ्नुपर्छ भन्ने सुझाव दिने डा. रामवरण यादवको यो भनाइले पनि देशमा केही पाक्दै त छैन भन्ने शंकामा बल पु¥याएको छ । भारतको आसन्न निर्वाचन र भारतीय जनता पार्टीको हिन्दूमोहले पनि यो अभियानलाई मलजल गरेको बुझ्न गाह्रो छैन तर संविधान संशोधनविना यो सम्भव छैन ।

कमल थापाहरुले दुई तिहाइ ल्याएर संविधान बदल्ने उद्घोष गरे पनि गणतन्त्र संस्थागत हुँदै गरेको देशमा त्यो तत्काल सम्भव देखिँदैन । न त हटाइएको राजतन्त्र नै यति छिटो स्थापित हुने सम्भावना छ । नेकपा निश्चय नै धर्मनिरपेक्षताको पक्षधर हो । नेपाली कांग्रेसका केही नेताहरुले हिन्दू राज्यको कुरा गरे पनि कांग्रेसले तत्काल त्यो एजेन्डा बोक्नेछैन । यस्तो अवस्थामा फरक–फरक समूह वा दलहरुले उठाएको हिन्दू राज्यको एजेन्डा मात्र आफूलाई स्थापित गर्नुमा नै सीमित रहेकोमा कुनै आशंका छैन ।

हो, नेपालको सबैजसो संस्कार र परम्पराहरु हिन्दूसँग जोडिएका छन् । आस्थासँग शक्ति रहन्छ नै । अहिले राष्ट्रपतिदेखि प्रधानमन्त्री र नेकपा अध्यक्ष प्रचण्डसम्म विभिन्न शक्तिपीठहरुमा चहार्दै हिँड्न थालेका छन् । यहाँ दशैँमा टीका नलगाउनेहरु टीका थाप्ने भएका छन् । मन्दिर–मन्दिर पुगेर आरती उतार्न थालेका गणतन्त्र पक्षधरहरुले पनि धर्ममा शक्ति छ भन्ने सन्देश प्रवाह गर्न थालेपछि धर्मबाटै शक्ति आर्जन गर्न खोज्नुलाई चाहिँ अन्यथा मान्नुहुँदैन ।
– विनय पौडेल, पुल्चोक ।

प्रतिक्रिया दिनुहोस्