विशेष सम्पादकीयः व्यावसायिक पत्रकारिताका अग्रजको अवसान



व्यावसायिक पत्रकारिताका धरोहर पुष्करलाल श्रेष्ठ भौतिक शरीर अब हाम्रो सामु रहेन् । ६० वर्षको अल्पायुमै उहाँको बुधबार दुःखद निधन भएको छ । साढे तीन दशक निरन्तर पत्रकारितामा सक्रिय नेपाली पत्रकारिताको एउटा महत्वपूर्ण कालखण्डको प्रतिनिधित्व गर्नुहुने वरिष्ठ पत्रकार श्रेष्ठ एक अग्रणी पत्रकार हुनुहुन्थ्यो ।

निरंकुश पञ्चायती व्यवस्थाको उत्तराद्र्धतिर भित्रभित्रै चर्किएको पञ्चायती विरोधी आन्दोलनताका कामना सिने मासिक पत्रिका निकालेर उहाँले व्यावसायिक पत्रकारिताको शुरुआत गर्नुभएको थियो । जुन बेला वर्षमा एउटा फिल्म पनि बन्दैन थियो, त्यति बेला कामना पत्रिका निकाल्नु कम चुनौतीपूर्ण थिएन । त्यसैगरी खोजमूलक, अनुसन्धानमुलक साधना मासिक पत्रिका प्रकाशनसंगै २०४६ सालको बहुदलीय प्रजातन्त्र पुनःस्थापनापछिको खुल्ला वातावरणको उपयोग गर्दै ‘कर्पोरेट हाउस ’ मार्फत विभिन्न पत्रपत्रिका प्रकाशन हुने क्रम शुरु भएको थियो ।

कामना प्रकाशन गृह मार्फत कामना, साधना, महानगर हुँदै नेपाल समाचारपत्रको प्रकाशनसम्म यात्रा वास्तवमा व्यावसायिक पत्रकारिताको यात्राका एकपछि अर्को महत्वपूर्ण पदचापहरु हुन् । साढे तीन दशकको पत्रकारिताको यात्रामा श्रेष्ठको पत्रकारिता सन्तुलित, सार्वजनिक हितप्रति प्रतिबद्ध रहेको थियो । दलीय घेराभित्र बसेर पत्रकारिता गरेर अघि बढ्न दलकै संरक्षण खोज्ने पत्रकारिता क्षेत्रमा देखिएका विकृति विसंगतिबाट उहाँ सर्वथामुक्त हुनुहुन्थ्यो ।

पत्रकारिताको मुल मर्मबाट विचलित नभई निर्भिक ढंगले कलम चलाउनु भएका उहाँले जीवनको उर्भर समय पत्रकारिताकै निम्ति खर्च गर्नु भएको थियो । चुनौतीको सामना नगरी अवसर प्राप्त गर्न नसक्ने मान्यता राख्दै अगाडि बढनु भएका श्रेष्ठले अविचलित रुपमा आफ्नो पत्रकारिताको यात्रालाई निरन्तरत रुपमा अगाडि बढाउन सफल हुनुभएको थियो ।नेपालको पत्रकारिताकै इतिहासमा स्वर्गीय श्रेष्ठले एउटा मानक स्थापित गर्नुभएको थियो ।

समाजमा रहेका विकृति र विसंगती हटाउदै समृद्ध देश निर्माण गर्ने उहाँको पत्रकारिताको मुख्य ध्यय रहेको थियो । निकै चुनौतीको सामना गरेर स्थापित गर्नुभएको कामना, साधन, महानगर र नेपाल समाचापत्र व्यवसायिक पत्रकारिता गर्नेहरुको लागि कोशेढुंगा सावित भएको छ न् । लक्ष्य प्राप्तिको बाटोमा अगाडि बढन नयाँ पुस्तालाई श्रेष्ठ सदैव उत्प्रेरणाको स्रोत पनि हुनुहुन्थ्यो । व्यवसायिक पत्रकारिताको जग हाल्नु भएका उहाँले निरन्तर रुपमा जीवनको अन्तिम क्षणसम्म पनि पत्रकारिताको माध्यमबाट खबरदारी गरिरहनुभएको थियो ।

व्यवसायिक पत्रकारितालाई स्थापित गर्न सफल हुनुभएका उहाँले कठिन परिस्थिलाई पनि सामना गरेर पत्रकारिता पेशालाई अगाडि बढाउन विशिष्ट क्षमता राख्नुभएको थियो । श्रेष्ठको निधनसँगै देशले पत्रकारिता क्षेत्रको एक योग्य, अनुभवी, व्यावसायिक र सक्रिय पत्रकारलाई गुमाएको छ । पत्रकारिता क्षेत्रले परिपक्क र असल अभिभावक गुमाएको छ ।

कामना न्युज प्रकाशन प्रालिले आफ्नो अभिभावक, मार्गदर्शक एवम् प्रेरणाका स्रोत गुमाएको छ । उहाँको निधनले सिंगो पत्रकारिताको धरोहर ढलेको छ । पाँच महिनासम्म जीवनसँग कठिन संघर्ष गर्दागर्दै, चिकित्सकको लाखौं कोशिसका बाबजुद श्रेष्ठलाई बचाउन सकिएन । अभिभावक गुमाएको दुःखद घडीमा कामना न्युज पब्लिकेशन्स प्रालि स्तब्ध र मर्माहत भएको छ ।

सधैं न्याय, समानता र सकारात्मक सोचका निम्ति लड्न सिकाउने श्रेष्ठले देखाउनु भएको बाटो ब्यवसायिक पत्रकारकालागि प्रेरणाको स्रोतको रुपमा लिने गरिएको छ । उहाँले पत्रकारिता क्षेत्रमा पु¥याउनु भएको योगदानको नेपाली पत्रकारिता जगतले सदा स्मरण गरिरहनेछ । अध्यक्ष तथा प्रधान सम्पादक श्रेष्ठप्रति हार्दिक श्रद्धान्जली ।

प्रतिक्रिया दिनुहोस्