अफगानिस्तानमा ४० भन्दा बढी लडाकू मारिए



काबुल ।
अफगानिस्तानमा भएका पछिल्ला विभिन्न घटनामा परी ४० भन्दाबढी लडाकू मारिएका छन् ।

सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार देशका विभिन्न ठाउँमा गत २४ घण्टाको अवधिमा भएका छुट्टछुट्टै घटनामा परी उनीहरु मारिएका हुन् । अर्घान्डाबमा भएको घटनामा पाँच जना मारिएको र छ जना घाइते भएको सेनाले जारी गरेको वक्तव्यमा उल्लेख छ ।

त्यसैगरी मावलातावाद जिल्लामा भएको घटनामा ११ जना मारिएको र २१ जना घाइते भएको एक जना सैन्य प्रवक्ता मोहम्मद हानिफ रेजाइले जानकारी दिनुभयो ।

मारिएकामध्ये दुई जना मावलावी ओमरी र मावलावी नाएम महत्वपूर्ण कमाण्डर रहेको पनि उहाँले बताउनुभयो । सरकारी सुरक्षाकर्मीहरुले पूर्वी घाज्नी प्रान्तमा २५ जना लडाकूलाई मारिएको दाबी गरेका छन् । उनीहरुले २१ वटा गाउँलाई आफ्नो नियन्त्रणमा फिर्ता लिएको पनि बताएका छन् ।

अफगानिस्तानको घाज्नी प्रान्तका कैयौँ भागमा तालिवान लडाकूविरुद्ध जारी सुरक्षा कारवाहीका क्रममा २१ तालिवान सशस्त्र विद्रोही मारिएका छन् ।

अफगानिस्तानमा सशस्त्र विद्रोह गरिरहेका तालिवानले गएको शुक्रबारदेखि सरकारकोविरुद्धको आक्रामक कारवाही भनी घोषितरुपमा नै आक्रमण गरिरहेका छन् ।

उनीहरुले अफगानिस्तानका सरकारी कार्यालय, सुरक्षाकर्मी र अरु सर्वसाधारणलाई पनि आक्रमणको निसाना बनाएका बताइएको छ ।

केही समयअघि अमेरिकी अगुवाइमा अफगानिस्तानका तालिवानसँग शान्ति वार्ता गर्ने भनी प्रक्रिया अघि बढाइएको भनिएको भए पनि सो वार्ता सफल हुन सकेन । त्यसपछि तालिवानले यस्तो कारवाही थालेको बताएको छ ।

तालिवान लडाकूहरुले आक्रमणलाई तीव्रता दिएपछि सरकारी सुरक्षाकर्मीहरुले पनि आक्रमण बढाएको अधिकारीहरुले जनाएका छन् ।
रासस

प्रतिक्रिया दिनुहोस्