शिक्षामा स्थानीय सरकारको हठ, आयोग पास गरेर नियुक्ति लिएका शिक्षकहरु अन्योलमा



सूनपाले ३८ जना शिक्षकलाई हाजिर गर्न दिएन
गणेश घिमिरे, इलाम ।
जिल्लाको सूर्योदय नगरपालिकाका बिभिन्न बिद्यालयमा शिक्षक सेवा आयोग पास गरी अध्यापनका लागि नियुक्त पाएका शिक्षकहरुलाई नगरपालिकाले हाजिर गर्न नदिएको पाइएको छ । जिल्ला शिक्षा बिकास समन्वय इकाई इलामबाट नियुक्त लिएर गएका शिक्षकलाई हाजिरी गर्न नगरपालिकाले नदिएको हो ।

इकाईले समन्वय नै नगरी आएका शिक्षकलाई जथाभावी ढंगले बिभिन्न बिद्यालयमा पठाएकाले हाजिरी गर्न नदिएको सूर्योदय नगरपालिकाका मेयर रणबहादुर राईले बताउनुभयो । ‘शिक्षाले नगरपालिकासंग समन्वय गरेर कुन कुन बिद्यालयमा शिक्षकको आवश्यकता छ, कुन–कुन बिद्यालयमा कति शिक्षक पठाउने लगायतका कुरामा समन्वय गर्नुपरथ्यो’ मेयर राईले भन्नुभयो ‘जथाभावि ढंगले शिक्षक पठाएर राम्ररी पठनपाठन भइरहेको बिद्यालयमा बिगार्ने काम मात्र गरेकाले त्यो हुन नदिन आफूहरुले ती शिक्षकहरुको हाजिरी रोकेको हो ।’

यस नगरपालिकामा कति शिक्षकले नियुक्ति पत्र लिएर आए, कुन–कुन बिद्यालयमा आए भन्ने कुरा नै नगरपालिकालाई थाहा नभएको उहाँको भनाई छ । ‘नगरपालिकाका बिद्यालयमा जम्मा ३ सय ९५ जना स्थायी शिक्षकको अभाव छ’ उहाँले भन्नुभयो ‘तर अभाव भयो भन्दै जथाभावी ढंगले समन्वय इकाइले शिक्षक पठाएपछि समस्या आएको छ ।’ शिक्षा समन्वय समितिले आफूहरुसंग समन्वय नगरेसम्म आयोग पास गरेर नियुक्त लिएर आएका शिक्षकलाई हाजिरी गर्न नदिने मेयर राईको अडान छ ।

यता जिल्ला शिक्षा बिकास समन्वय इकाईका प्रमुख होमप्रसाद भण्डारीले नेपाल सरकारले गरेको कामलाई कसैले पनि बाधा गर्न नमिल्ने बताउनुभयो । इलाम जिल्लामा आयोग पास गरेर आएका शिक्षकलाई इकाईले नियुक्त दिएर पठाइसकेको छ । जिल्लाका सबै बिद्यालयमा स्थायी शिक्षकको आवश्यकता रहेकोे र आयोग पास गरेर आएका शिक्षकलाई बिद्यालयमा नियुक्ती दिएर शिक्षक पठाउन शिक्षाले स्थानीय तहसंग खासै समन्वयन नगर्नुपर्ने भण्डारीको भनाई छ । समन्वयको कुरा बिस्तारै गर्दै जाने पनि उहाँले बताउनुभयो ।

‘आयोग पास गरेर आएका शिक्षकहरुको तत्काल ग्रेड स्तर बृद्धि गर्न नियुक्ती दिनुपर्ने भएकाले पनि उहाँहरुलाई नियुक्ति दिएर जिल्लाका दशै तहका बिद्यालयमा पठाएको हौं’ भण्डारीले भन्नुभयो । ‘निमावि र मावि तहका शिक्षकलाई २९ गते र आधारभूत तहका शिक्षकलाई २८ गते नियुक्ति पत्र थमाएर पठाइसकेका छौं’ भण्डारीले भन्नुभयो ‘सबै कार्य इकाईले प्रकृया पुर्याएर नै गरेकोले यसमा कसैले आपत्ति जनाउनु पर्दैन ।’

इकाईका अनुसार इलाम जिल्लामा जम्मा २ सय ५९ जना शिक्षक शिक्षक सेवा आयोग पास गरेर आएका छन् । त्यसमा ३८ जना शिक्षकलाई सूर्योदय नगरपालिकाका बिभिन्न बिद्यालयमा नियुक्ति पत्र दिएर पठाएकोे छ ।

प्रतिक्रिया दिनुहोस्