विप्लवलाई राजनीतिक मूलधारमा ल्याउदैछौँः गृहमन्त्री



हेटौंडा ।
गृहमन्त्री रामबहादुर थापाले राज्य र संविधानविरोधी गतिविधि गर्ने विप्लव समूहलाई राजनीतिक मूलधारमा ल्याउने प्रयत्न भइरहेको बताउनुभएको छ ।
विप्लव समूहलाई यसअघि पनि राजनीतिक मूलधारमा ल्याउन प्रयत्न गरिएको र अब पनि यही काम भइरहेको उहाँले बताउनुभयो । ‘विप्लव समूहमाथि प्रतिवन्ध लगाइए पनि वार्ताको ढोका खुला छ,’ थापाले भन्नुभयो–उनीहरुलाई मूलधारको राजनीतिमा ल्याउने प्रयत्न जारी छ ।
गृह मन्त्रालयको आयोजनामा हेटौंडामा प्रदेश–३ स्तरीय सुरक्षा गोष्ठीमा उहाँले कानुनविपरीत गतिविधि गर्न कसैलाई छुट नभएको बताउनुभयो । मुलुकभित्र ध्वङ्सात्मक गतिविधि गर्न कसैलाई छुट नभएको बताउँदै उहाँले भन्नुभयो–राज्यविरुद्ध गतिविधि गर्दा सीके राउतलाई पनि पक्राउ गरिएको थियो । हाल राज्यविरुद्ध ध्वङ्सात्मक गतिविधि गरिएकोले विप्लवका नेता÷कार्यकर्तालाई पक्राउ गरिएको हो ।
गृहमन्त्री थापाले सुरक्षा संवेदनशीलता खलबलाउने क्रियाकलापमा संलग्न हुने जोकोहीलाई सरकारले कानुनी दायरामा ल्याइने बताउनुभयो । पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री थापाले विप्लव पार्टीलाई अपराधमा संलग्न भएको आधारमा प्रतिवन्धित गरिएको बताउनुभयो ।
उहाँले भन्नुभयो–विप्लवलाई मैले होइन, नेपालको कानुनले प्रतिवन्धित गरेको हो । नेपालको संविधानमा आपराधिक गतिविधि गर्ने, गैरकानुनी काम गर्ने र मुलुकको शान्ति सुव्यबस्था खलबलाउने अधिकार कसैलाई नभएकोले त्यस्ता क्रियाकलाप गर्ने जोकोहीलाई कानुनी दायरामा ल्याइने उहाँले स्पष्ट पार्नुभयो ।

उहाँले सीके राउतलाई सरकार मूलधारमा ल्याउन सफल भएको भन्दै विप्लवलाई पनि मूलधारमा ल्याउन प्रयास जारी रहेको बताउनुभयो । विप्लवका शीर्ष नेताहरु पक्राउ गरिएको विषयमा भने उनीहरुको आपराधिक गतिविधि नियन्त्रण गर्नमात्र खोजिएको उहाँले बताउनुभयो । विप्लवलाई मूलधारमा ल्याउन सरकारले वार्ता कमिटी निर्माण गरी छलफल गरेको उहाँले स्मरण गर्नुभयो ।

संघ, प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर सुरक्षा मजबुत बनाउन सकिने उहाँले बताउनुभयो । संघीय प्रहरी ऐन नबनिसकेकोले समस्या भएको बताउँदै ऐन बनेपछि सुरक्षासम्बन्धि अधिकार प्रदेशमा आउनेमा उहाँले विश्वास दिलाउनुभयो ।

संघीय प्रहरी ऐन बन्ने क्रममा रहेकाले पुरानै प्रक्रियाअनुसार चलिरहेको बताउँदै उनले कार्यकारी आदेशमार्फत् तीनै तहको सरकारसँग समन्वय गरेर शान्तिसुरक्षाको काम भइरहेको बताउनुभयो ।

‘चौतर्फी सुरक्षा प्रवन्ध विश्वासिलो आधार बन्दै गएको छ,; गृहमन्त्री थापाले भन्नुभयो–शान्तिसुरक्षा मजबुत बन्दै जानाले समृद्धिका आधार तय हुँदै आएका छन् । शान्तिसुरक्षाको सवालमा अझ विशेष संयन्त्र र रणनीतिक योजना बनाउनतर्फ लागिएको गृहमन्त्री थापाले बताउनुभयो ।

शान्तिसुरक्षाको अधिकार प्रदेश सरकारलाई पनि रहेको उहाँले दाबी गर्नुभयो । मुलुकको अखण्डतासँगै सुरक्षा चुनौती धेरै भए पनि हाल भने त्यस्तो अबस्था नरहेको उहाँको भनाइ छ ।

देशको सुरक्षास्थिति मजबुत बनाइएको दाबी उहाँको छ । देशको सुरक्षा व्यबस्थापन सुदृढ भएकै कारण हालैमात्र अन्तर्राष्ट्रियस्तरको लगानी सम्मेलन सफल भएको उहाँले बताउनुभयो । भ्रष्टाचार, अनियमितता, गुण्डागर्दी रोक्न सरकार लागिपरेको थापाको भनाइ छ । आर्थिक अपराध नियन्त्रणमा केन्द्र सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको दाबीसमेत गृहमन्त्री थापाले गर्नुभयो ।

जिल्ला नेतृत्व टुंगो लगाउन माग
नेकपाका केन्द्रीय नेता गृहमन्त्री रामबहादुर थापाले प्रदेश–३ र मकवानपुरका नेकपा कार्यकर्तासँग भेट गर्नुभएको छ । कार्यक्रममा पार्टीको आन्तरिक विषयमा छलफल गरिएको नेकपा मकवानपुरका नेता प्रेमबहादुर पुलामीले बताउनुभयो ।

नेकपाको जिल्लास्तरको पार्टीको नेतृत्व टुंगो लगाउने, पार्टीका कार्यक्रम गाउँस्तरमा लैजानुपर्ने, हाल तीन तहका सरकारमा रहेका नेकपाका जनप्रतिनिधिले गरेका काम र अब गर्नुपर्ने कामलगायत विषयमा छलफल भएको पार्टीका एक नेताले बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य केदार न्यौपाने, प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री शालिकराम जम्कट्टेल, प्रदेशका भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्री दावा दोर्जेलामा र प्रदेशसभा सदस्य पुलामीलगायतको सहभागिता थियो । कार्यक्रममा जिल्ला र प्रदेशस्तरका नेताहरुले गृहमन्त्री थापालाई पार्टीका समसामयिक विषयमा कुरा राखेका थिए ।

सकियो सुरक्षा गोष्ठी
गृह मन्त्रालयको आयोजनामा प्रदेश–३ स्तरीय सुरक्षा गोष्ठी बुधबार सकिएको छ । समापनमा गृहमन्त्री रामबहादुर थापा, प्रदेश–३ का आन्तरिक मामिला मन्त्री शालिकराम जम्कट्टेल, गृह सचिव प्रेमकुमार राई, प्रदेश–३ का प्रमुख सचिव आनन्दराज ढकाललगायतकाले प्रदेशको सुरक्षा मजबुत बनाउनुपर्ने बताउनुभएको थियो ।

बुधबार प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले आफ्ना जिल्लाको सुरक्षा अबस्थाका विषयमा प्रस्तुतिकरण गरेका थिए । जिल्लाको सुरक्षा अबस्थामा आइपरेका चुनौती, आफ्ना समस्याका विषयमा प्रमुख जिल्ला अधिकारीहरुले प्रस्तुतिकरण गरेका हुन् ।
गोष्ठीमा प्रदेशका १३ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी, जनपद प्रहरी प्रमुख, सशस्त्र प्रहरी प्रमुख, अनुसन्धान प्रमुख तथा सेनाका जिल्लास्तरका प्रमुख गरी ६५ जनाको सहभागिता थियो । संघीय सुरक्षा निकायका प्रमुख, प्रदेशस्तरका सुरक्षा निकायका प्रमुखहरुको पनि कार्यक्रममा सहभागिता रहेको मकवानपुरका प्रजिअ अस्मान तामाङले बताउनुभयो । सुरक्षाका सम्बन्धमा देखापरेका समस्या र चुनौतीका विषयमा सबै पक्षमा जानकारी गराउने उद्धेश्यले सुरक्षा गोष्ठी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्