झापामा ५९ दशमलव ७५ हेक्टर वन क्षेत्रमा आगलागी



उत्तम नेपाल, भद्रपुर ।
झापामा ५९ दशमलव ७५ हेक्टर वन क्षेत्रमा आगलागी भएको छ । चालू आर्थिक वर्षको मङ्सिरदेखि चैत मसान्तसम्ममा भएको वन डढेलोबाट यस्तो तथ्याङ् आएको हो ।

जिल्लामा ५९ ओटा सामुदायिक वन रहेका छन् । आगलागीबाट मेचीनगर, भद्रपुर नगरपालिका, हल्दीबारी र कचनकवल गाउँपालिकाका भित्र रहेका नौओटा सामुदायिक वनमा आगलागी भएको डिभिजन वन कार्यालय झापाको तथ्याङ्मा उल्लेख छ । आगलागीबाट सवैभन्दा बढी भद्रपुर नगरपालिका अन्र्तगत रहेको कमलधाप रामपोखरी सामुदायिक वनमा देखिएको छ ।

उक्त वनमा ३५ हेक्टरमा वन डढेलो लागेको थियो भने सोही नगरको दशरथपुर वनमा ० दशमलव २५ हेक्टरमा सवैभन्दा कम आगलागी भएको तथ्याङ्ले देखाएको छ । त्यसैगरि भद्रपुरको चन्द्रगढी सामुदायिक वनमा ९ हेक्टर,मेचीनगर नगरपालिकाको कालिका र हातेमालोमा २÷२ र तेलपानीमा डेढ हेक्टर क्षेत्रमा आगलागी भएको छ । त्यस्तै कचनकवलका पूर्व देउरालीमा दुइपटक गरी ४ हेक्टर र देउराली चारकोसेमा २ हेक्टर क्षेत्रफलमा आगलागी भएको उल्लेख छ ।

वर्षको मङ्सिर यता चैतसम्म वनहरुमा आगलागी हुँदा सामान्य नोक्सान भएको सहायक वन अधिकृत देवेन्द्र उप्रेतीले जनाए । आगलागी हुने धेरै कारण रहेको अधिकृत उप्रेतेको भनाइ छ । वनमा आगो लगाउँदा गाईवस्तुलाई खुवाउने घाँस पलाउने, जङ्गली जीवजन्तुबाट बच्न सकिने, समिति र पदाधिकारीबिच मनमुटाव, शिकार खेल्ने लगायतका कारण रहेको उनको भनाइ छ ।

वन नजिकै रहेका उपभोक्ताले नै सामुदायिक वनमा आगो लगाउने समेत गरेको हुनसक्ने उनले आशङ्का व्यक्त गरेका छन् । वन खुल्ला क्षेत्र भएकोले वर्षेनी यो समस्या हुदै आएको उनले बताए । आगलागीबाट मानविय तथा भौतिक रुपमा असर नपारेपनि विरुवा र जडिबुटिमा क्षति पुर्याएको उनले जनाए ।

वनमा हुने डढेलोले जैविकता तथा पर्यावरणमा समेत नकारात्मक असर पार्ने हुँदा नियन्त्रणका निम्ति वाटरसुटर, बेल्चा, दाँतेलगायतका आवश्यक सामग्री सव डिभिजन, वन सञ्जाललाई वितरण गरिएको डिभिजन प्रमुख विष्णुलाल घिमिरेले बताए । चाँडै हरियो घाँस पलाउने र वन खुला भयो भने टाढैबाट जङ्गली जनावर आएको देख्न सकिने कारण पनि आगो लगाउने गरेको घिमिरेको भनाइ छ ।

हालसम्म आगो लगाउने व्यक्ति वा समूहको पहिचान हुन नसकेको उनले बताए । विभागबाट हेरिने यन्त्रबाट झापाका वनमा भएको आगलागी नदेखिने भएकोले भयावह नभएको उनले बताए । सखुवा जातको वनमा पात बाक्लो हुने भएकोले प्रत्येक तीनवर्षमा जाडो महिनामा नियन्त्रीत आगो लगाउने नियम रहेपनि त्यो हुननसकेको उनको भनाइ छ । डढेलोको जोखिम जिल्ला नभएको समेत उनले बताए ।

झापामा सिमसार समेत गरि करिब १८ हजार हेक्टर वन क्षेत्र रहेको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्