नेपालको मलेसियामा फराकिलो जित



काठमाडौं, (नेस)
नेपालले मलेसियामा जारी आईसीसी यु १९ विश्वकप छनोटअन्तर्गत तेस्रो जित हात पारेको छ ।

मंगलबार क्वालालम्पुरमा भएको खेलमा नेपालले ओमानलाई १ सय ५० रनको फराकिलो अन्तरले हराएको हो । यो नेपालको चार खेलमा तेस्रो जित हो । अर्को खेलमा यूएईले पनि जित हासिल गरेपछि नेपाल अझै दोस्रो स्थानमा यथावत छ । नेपालले एक मात्र हार यूएईसँगै बेहोरेको छ । भोलि समूहको अन्तिम चरणको खेलमा नेपालले कुवेतसँग र यूएईको ओमानविरुद्ध खेल हुनेछन् ।

एशिया क्षेत्रबाट भइरहेको सो प्रतियोगिताबाट शीर्ष टोली मात्रै आगामी यु १९ विश्वकप क्रिकेटमा छनोट हुनेछ । अहिलेको खेलको नतिजा हेर्दा नेपालले कुवेतलाई ठूलो अन्तरले हराए पनि अर्को खेलमा यूएईको हार हुनुपर्ने हुन्छ । यो समीकरण भएमा नेपालको युवा टोली विश्वकपमा छनोट हुनेछ । यदि यूएई जितेमा भने नेपालको लागि विश्वकप पुग्ने आसा समाप्त हुनेछ ।

हिजोको खेलमा नेपालले २ सय ३० रनको लक्ष्य दिएको थियो । जवाफीमा ओमान ७९ रनमै अलआउट भएको थियो । ओमानका कोही पनि व्याटसम्यान नेपालका बलरविरुद्ध जम्न सकेनन् । नेपालका बलरमा पवन शराफले ३ विकेट लिए भने प्रतिश जीसी र सुर्य तामाङले २÷२ विकेट हासिल गरेका थिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपाल ४३.२ ओभरमा अल आउट हुँदै २ सय २९ रनको बलियो योगफलमा पुगेको थियो । नेपालका लागि कप्तान रोहित कुमार पौडेलले कप्तानी इनिङ खेले । शीर्ष ब्याटसम्यान खासै जम्न नसकेको स्थितिमा उनले ८१ बलमा ५ चौका र २ छक्काको सहयोगमा ७५ रनको योगदान दिएका थिए । यस्तै प्रतिसले ४१ रन र भीम सार्कीले ३९ रन जोडे । ५ विकेट ८१ रनमा गुमेपछि नेपालका लागि रोहित र भीमले छैटो विकेटका लागि ९२ रनको साझेदारी गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्